वर्तमान सन्दर्भमा जन्माष्टमीको अर्थ
आज कृष्ण जन्माष्टमी । हिन्दु धर्ममा भगवान् श्रीकृष्णको विशेष महत्त्व छ । श्याम वर्णका अत्यन्तै प्रभावशाली व्यक्तित्वका धनी श्रीकृष्ण बाँसुरी बजाएर सारा जगत मन्त्रमुग्ध पार्दथे । उनको मुस्कानमा हर्ष, मनको सौन्दर्य र सौम्यको अद्भुत सङ्गम पाइन्छ ।
कालो, घुम्रिएको कपालमा मयूरको प्वाँख सजिएको हुन्छ । यो आकर्षक व्यक्तिले सारा जगतलाई मोहनी लगाएको छ । श्रीकृष्णलाई गोविन्द, कान्हा, कन्हैया, मुरली मनोहर, श्यामसुन्दर, मखनचोर इत्यादि विभिन्न नामले पुकारिन्छ ।
कृष्णको नाम कृष अर्थात् कर्षण शब्दबाट बनेको छ । खनजोत गरी बाली लगाउने कामलाई कर्षण भनिन्छ । नेपाल कृषि प्रधान देशको प्रतीक कृष्णलाई मानिन्छ । कृष्ण गाईपालक किसानसँग सम्बन्धित रहेको कुरा पनि शास्त्रहरूमा उल्लेख गरिएको पाइन्छ ।
नेपालमा पहिलो पल्ट शासन गर्नेहरू गोपाल वंशका थिए भन्ने इतिहासमा पाइन्छ । नेपाल उपत्यकाको विकासको सन्दर्भ हेर्दा पनि कृष्णले नै उपत्यकाको पानी सुदर्शन चक्रले काटी चोभारको गल्छीबाट बाहिर पठाएर बस्ती बस्न योग्य भएको बताइन्छ ।
उनका साथमा आएका ग्वालाहरूले शासन गर्न थाले भन्ने इतिहासमा चर्चा गरिएको छ । यसरी नेपालको इतिहासमा कृष्णलाई विशेष महत्त्वका साथ लिइन्छ । कृषि, अर्थव्यवस्था वेद, पुराण, साहित्य सबैमा सर्वाधिक चर्चित विलक्षण र बहुरङ्गी व्यक्तित्वका रूपमा भगवानसरी पुजिन्छ ।
विशेषगरी भाद्र कृष्णपक्षको अष्टमी तिथिलाई कृष्ण जन्माष्टमीका रूपमा भव्यताका साथ मनाइने गरिन्छ । यसै दिन देशभरका विभिन्न कृष्ण मन्दिरमा भक्तजनको भीड लाग्ने गर्दछ । विशेषगरी यस दिन पाटनको कृष्ण मन्दिरमा विशेष मेला लाग्ने गर्छ । यसै दिन छिमेकी मुलुक भारतको मथुरा, वृन्दावन, द्वारिका आदि क्षेत्रमा विशेष मेला लाग्छ ।
श्रीकृष्ण नृत्य, गीत, भजनमा मात्र सीमित छैनन्, उनी एक कुशल राजनीतिज्ञ पनि मानिन्छन् । हस्तिनापुर र कुरुक्षेत्रमा कौरव र पाण्डवहरूको बीचमा सन्धि गराउन खोज्ने शान्तिदूत श्रीकृष्णको कथनलाई दुर्योधनले नमानेपछि नै महाभारतको युद्ध भएको थियो । श्रीकृष्णले युद्ध अगावै अर्जुनमा उत्पन्न मोहलाई अन्त्य गरी युद्धमा सामेल गराएका थिए ।
आफ्नै दाजुभाइ बीचको युद्धमा हार र जित एकै हो भन्ने अर्जुनको धारणलाई श्रीकृष्णले परिवर्तन गरी दिएका थिए । श्रीकृष्ण आफू जगत पुरुष भए पनि अर्जुनको मनोबल बढाउन एक सामान्य सारथिका रूपमा रण मैदानमा देखा परेका थिए । उनका अनुसार काम ठूलो सानो कहिल्यै हुँदैन । सबै काम समान र उत्तिकै महत्त्व बोकेका हुन्छन् भन्ने भाव पनि यसैबाट झल्किन्छ । श्रीकृष्णका अनुसार धर्मको रक्षार्थ मानिसले परिस्थिति हेरेर जुनसुकै कदम पनि उठाउन पनि तयार हुनुपर्दछ भनी अर्जुनलाई उपदेश दिएका थिए ।
यो प्रसङ्गलाई वर्तमान सन्दर्भमा हेर्दा यो विकराल परिस्थितिमा एकातिर कोभिड १९ ले जनता त्रसित छन् भने अर्कोतिर बाढी पहिरो प्राकृतिक प्रकोपले जनता घरबारविहीन भइरहेका छन् । यस्तो विषम परिस्थितिमा शासक वर्गले सामान्य जनताको गाँस, बासको जिम्मेवारी लिनुपर्ने हो तर बाघको छालामा स्यालको रजाइँ भनेजस्तो गरी जनताको पीर, मर्का एकातिर सत्ताधारीहरू आफ्नै तालमा नाचिरहेका देखिन्छ ।
श्रीकृष्णको जन्मको सन्दर्भलाई केलाउँदा कंश वधको प्रसङ्ग पनि जोडिएर आउँछ । अत्याचारी र क्रूर कंशको पञ्जाबाट सोझासीधा जनतालाई जोगाउने काम पनि श्रीकृष्णले गरेका छन् । कंशको बध गरेपछि मथुराको राजगद्दीमा उग्रसेनलाई राखी राजा बनाए । यसरी सत्ता र शक्तिको मोह पनि श्रीकृष्णमा नरहेको प्रमाणित हुन्छ ।
श्रीकृष्णलाई विभिन्न उपनामले चर्चा गरिन्छ । त्यसमध्ये पनि मखनचोर पनि एक हो । कृष्णले दूध, दही, मखन चोरेर खाइदिने र आफ्ना साथीहरूलाई पनि खुवाउने कार्य गर्दथे । यो सब उनले अत्याचारी कंशकामा दही, दूध मखन नपुगोस् भनी यसो गरेका थिए ।
श्रीकृष्णको चर्चा गर्दा राधाको नाम पनि जोडिएर आउने गर्दछ । वास्तवमै संसार प्रेम, माया मोहले चलेको छ । जहाँ जहाँ कृष्ण पुजिन्छन्, त्यहाँ राधा पनि सँगै पुजिँदै आएकी छन् । कृष्णको प्रेममय लीलाको चर्चा गर्दा गोपिनीहरूसँगको लीलाको पनि चर्चा गरिएको छ ।
श्रीकृष्ण सांसारिक गृहस्थीका परमभोगी मात्र हैनन् त्यागी, साधु, संयमित व्यक्तित्व पनि हुन् । उनले सामाजिक, धार्मिक र सांस्कृतिक पक्षहरूको पनि राम्रो विश्लेषण गरेका छन् । उनले गरिब, दुःखी र निरीह प्राणीको उद्धार गर्ने कार्य पनि गरेका छन् । चाहे सुदामाको कनिका होस् या दीनहीन दलित मानव जाति सेवा वा निरीह पशु जातिको सेवा । जुनसुकै अवस्थामा पनि उनले सेवा भावले सबै प्राणीको हित र उन्नतीका बारेमा विभिन्न कार्य गरेका छन् ।
श्रीकृष्णलाई अति चञ्चल मानिन्छ तर कृष्ण उतिकै धैर्यवान् पनि मानिन्छ । उनले गोपिनीहरूसँग प्रेमका गीत मात्र गाएका छैनन्, गरिब गोठालाहरूसँग पनि बाँसुरी बजाएका छन् । उनले दीनहीनको रक्षार्थ गोवर्धन पर्वत पनि उठाए । हरेक समय गरिब, दुःखीहरूका बारेमा सेवारत रहेका श्रीकृष्णको महिमाबाट आजका शासक वर्गले सिक्नु जरुरी देखिन्छ ।
साधारण जनता मृत्यु शय्यामा रहँदा पनि आफ्नो स्वार्थका बारेमा मात्र हरदम लाग्ने शासक वर्गले अबेला हुनु अगावै बिउँझनु जरुरी छ । गीता गायक कृष्णले प्रत्येक व्यक्तिलाई आफ्नो व्यक्तित्वको विकास आफैँले गर्नुपर्ने कुरा सिकाएका छन् भने विश्वलाई समताको पाठ पनि पढाएका छन् । जब जब संसारमा पापीहरु बढ्छन् तब तब तिनीहरूको नाश गरी जनताको रक्षा गर्न भगवान् कृष्णको जन्म हुने कुरा गीतामा उल्लेख छ ।
मानिस जति नै आधुनिक भएको देखाए पनि आफ्नो धर्म, संस्कृति र संस्कारलाई आत्मसात गरिरहेको हुन्छ किनकि हाम्रा धर्म संस्कृतिले जीवन जिउने कला बोकेको छ । हरके चाडपर्व जात्राले हामीमा एक ऊर्जा थप्ने कार्य गरेको हुन्छ । यसले गर्दा हाम्रा हरेक पर्व, जात्राहरू विशेष रहेका हुन्छन् । आजको यो कृष्ण जन्माष्टमीले पनि हरेको मनमा सकारात्मक सोचको विकास गराओस् । साथै आफू पनि बाँचौं र अरूलाई पनि बचाउ भन्ने भावनाको विकास होस् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चितनको माडीमा १२ सय परिवार गरिब
-
रुसका रासायनिक सुरक्षा बल प्रमुखको हत्या आरोपमा उज्बेकिस्तानी युवक पक्राउ
-
विदेशिक रोजगारीमा जानेको स्वास्थ्य परीक्षण कार्य सुधारका लागि प्रतिवेदनमाथि छलफल
-
१२ बजे, १२ समाचार : नेपालबाट चीनमा मासु निर्यातका लागि सम्झौतादेखि दुर्गा प्रसाईंलाई धरौटीमा रिहा गर्न आदेशसम्म
-
एसइईमा अब ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाइने
-
काठमाडौँको चन्द्रागिरीमा १७ वर्षीया किशोरीको हत्या