अस्टिम्किमा पुजिन्छन् थारू युवतीका नायक श्रीकृष्ण
कान्हा अर्थात कृष्णलाई हिन्दू धर्ममा आस्था राख्ने विभिन्न जाति समुदायले आआफ्नै तरीकाले पूजाआजा गर्दछन् । कान्हा थारू समुदायमा यति बलियो जरा गाडेर बसेका छन् कि गीत, नृत्य तथा चित्रकला यी तीनै माध्यमद्वारा पुजिने उनी एक मात्र देउता हुन् ।
अस्टिम्कि अर्थात् कृष्ण जन्माष्टमीमा उनको विशाल महिमा गाइन्छ । यसमा कान्हा महिमामात्र होइन, सृष्टिको कथा पनि अन्तर्निहित रहेको छ । सोही गीतलाई मादलको तालमा दसैंमा नाचिने सखिया नाचमा पनि प्रस्तुत गरिन्छ ।भनिन्छ, त्यो जाति मानव सभ्यताको आदिम जाति मानिन्छ, जसकोमा सृष्टि उत्पत्ति कथाको वर्णन हुन्छ । अस्टिम्कि काव्यमा पनि सृष्टिको वर्णन पाइन्छ ।
पहिले टे सिरिजल जलडल ढरटि
सिरिजे टे गइल हो कुस कइ डाभ ।
अर्थात् जमिनको पहिले कुनै नामोनिशान थिएन, सबैतिर जल नै जल थियो । त्यसपछि कुश प्रजातिको बिरूवाको उत्पत्ति भयो । त्यही विरूवामा डाँठ, पात, फूल, फल लाग्दै ठूलो भयो । अन्य रूखविरूवा भए, जंगल बन्यो । जसरी हिन्दू परम्परामा ब्रह्मालाई सृष्टिकर्ता मानिन्छ, त्यसै गरी थारू लोकोक्तिमा ‘गुर्बाबा’लाई सृष्टिकर्ता मानिन्छ । सोही सृष्टिकथा पनि अस्टिम्किमा चित्रित हुन्छ । थारू लोककाव्यअनुसार सबैभन्दा पहिले उत्पत्ति भएको वनस्पति कुश हो, त्यसैले यो पवित्र मानिन्छ । यहाँ अस्टिम्कि काव्य तथा अस्टिम्कि कलाको अन्य विशेषता वर्णन गरिन्छ ।
अस्टिम्कि काव्यमा कान्हाले खेलेको, कुदेको ठाउँको वर्णन यसरी गरिएको छ कि मानौ कान्हा, राधाहरू पनि थारू समुदायकै नै हुन् । हलो बनाउने काठ लिन वन गएको, हलो बनाई सकेपछि कान्हाका बाबु इसरू आफै गोरू हाँक्दै हलो जोत्न गएको लोकगाथा छ ।
यहाँ कृष्णकी आमा जसलाई जासु (यशोदा) भनिएको छ । उनले बिहानको खाना (कलवा) बनाउन बनाउँछिन् । थारूहरूको भोजनमा माछा, मासु, प्रिय हुन्छ, जासुले बनाएको भोजनबारे त्यसको वर्णन छ । रोपाइँको बेला खेतमै खाजा खानु थारूहरूको दिनचर्या हो । ढकियामा खाना राखेर खेतमै खाना पुर्याउन जासु गएकी छन् ।
जासु गर्भवती भएपछि इसरू आफै डंगियालाई लिएर सुडेनी बोलाउन गएको देखिन्छ । सुडेनीले जासुको प्रसुति गराउँदा कुशल नर्सझै जासुको पेट मालिस गरेर सकुशल कृष्णलाई प्रसुति सेवा दिइएको प्रसंग छ । थारू समाजमा अहिलेसम्म पनि अस्पतालमा प्रसुति गराउनुभन्दा सुडेनीकै सहयोग लिइन्छ । थारू समाजमा आफै न्वारान गर्ने चलन भएपनि अस्टिम्किमा सुडेनीले नाम राख्न जैसी बोलाउन पठाएको प्रसंग छ । जैसीले कृष्णको नाम ‘कन्हैया वीर’ राखेका छन् ।
यस काव्यमा कृष्ण बस्ने घर थारू जातिमा प्रचलित परम्परागत घरजस्तै छ । कृष्णको गोठाला जीवनले थारूहरूको सानैदेखि गाई गोठालाको जिम्मेवारी सम्हाल्ने परिस्थितिलाई दर्शाउँछ । ससाना ग्वालाहरू सुरूमा भेडा बाख्रा चराउन जान्छन् । अस्टिम्कि काव्यमा कृष्णलाई बाछा चराउन पठाइएको देखाइएको छ ।
कृष्णको बाँसुरीको धुनले बनका जीवजन्तु, पशुपंक्षी समेत मोहित हुन्छन् भने बठिन्या (युवती) हरू झन मोहित नहुने कुरै भएन । कान्हाले बजाएको बाँसुरीको धुन राधाले जब आफ्नो घरमा सुन्छिन्, तब सो धुनले मोहित भएकी राधा कल्पनामा यसरी हराउँछिन्–
बसिया र सुननु हो सासु, सुनटि सुहावन रि
बसिया बजुइया भैया कौन रूप बा ।
अर्थात्, ए सासु बाँसुरीको धुन त यति मोहक छ, सुनिरहुँ लागिरहेको छ भने बाँसुरी बजाउनेको रूप झन कस्तो पो होला ? उनी बाँसुरी बजाउनेको रुप हेर्न आतुर हुन्छिन् । श्रीमद्भागवतमा राधा केवल कृष्णको प्रेमिकाको रुपमा चित्रित छिन् । तर अस्टिम्कि काव्यमा राधालाई विवाहित देखाइएको छ । त्यसैले राधाले सासुसँग बाँसुरीको धुन सुनु सुनु लाग्ने रहेको धक नमानी भनेकी छिन् ।
अस्टिम्कि कला
कृष्णजन्माष्टमीमा थारूहरूका घर घरमा अस्टिम्कि कला घरको भित्तामा बनाएको पाइन्छ । जसमा सृष्टिकथालाई प्रमुखता दिइएको हुन्छ । अस्टिम्कि कला बनाउने व्यक्ति निराहार बस्नुपर्छ । अस्टिम्कि कला घरको बहरी (पिढी) मा रहेको उत्तरपट्टिको भित्तामा बनाइन्छ । चित्र बनाउनुभन्दा पहिले मूल घेरा बनाइन्छ । केहीले मूल घेरालाई सर्प आकार दिएका हुन्छन् ।
मूल घेराभित्र तीन कोठा छुट्याइन्छ । यसको शीर्ष स्थानमा बाँसुरी बजाइरहेको कृष्णको प्रतीक बनाइएको हुन्छ । माथिल्लो कोठामा बनाइएको पुरुषाकृति पाँच पाण्डवको रहेको भनाई छ । ती चित्रमा मादल भिरेका, बाँसुरी बजाइरहेको, छाता ओढेको आदि हुन्छ । त्यसको दायाँ सूर्य र बायाँ कुनामा चन्द्रमाको आकृति बनाइएको हुन्छ ।
बीचको कोठामा पनि माथिल्लो कोठामा बनाइएझै बन्दुक बोकेको पुरुषाकृति हुन्छ, जसलाई कौरवको प्रतिनिधित्व मानिन्छ । सोही लहरमा रहेकी महिला आकृति द्रौपदीको रहेको भनिन्छ । केहीले यो महिला आकृति कृष्णका सोह्र सय गोपिनीहरुको प्रतीक पनि भन्ने गरेका छन् । किनकि केही चित्रमा बीचको कोठामा पुरुषाकृति नभई महिला आकृति मात्रै पनि हुन्छ ।
सबैभन्दा तल्लो कोठा माथिको दुबै कोठाभन्दा ठूलो हुन्छ । यसमा सबैभन्दा तल चारकुने आकारमा छुट्टै वनको छुट्टै चित्र हुन्छ । कजरीक् बन्वा भनिने यही वन वृन्दावन हुनुपर्छ । कृष्ण आफ्ना गाई–गोरु चराउन लैजाने बृन्दावन होस् या बारी फुलवार जाँदा बाटोमा छिचोलेका बनजंगल हुन्, त्यसलाई ‘कजरिक बन्वा’ को प्रतीकको रूपमा चित्र बनाइन्छ । कृष्णले आफ्नो मुरलीको धूनले चरा–चुरुङ्गी, जनावर सबैलाई मोहित बनाउने हैसियत राख्थे । अस्टिम्कि काव्यमा कोइली, ढुकुर तथा गरुड चरासँग कृष्णको वार्तालाप भएको प्रसंग छ । अस्टिम्कि चित्रमा मयूरको चित्रले ती सबै चराको प्रतिनिधित्व गर्दछ ।
सोह्र सय गोपिनी नुहाउने ठाउँ जहाँ सुन्दर कमलका फुलहरू पनि थिए । फुलसँगै कञ्चन पानी, त्यही पानीमा गोपिनीहरू नुहाउन मस्त हुन्थे । त्यसैबला कृष्ण उनीहरूको कपडा लुकाएर आनन्द लिने गर्थे । लाज ढाक्न त्यही कमलको पात प्रयोग गर्ने भएकोले त्यसैको प्रतिकको रूपमा कमलको पात अस्टिम्कि चित्रमा बनाइन्छ ।
बनमा बाँसुरी बजाउने कृष्णको बाँसुरीको आवाज सुनी गोपिनीहरू मात्रै होइन, पुशपंक्षीहरूसमेत मोहित हुन्थे । त्यसैले, अस्टिम्कि कलामा हात्ती, घोडा, सर्प, मयूर, बाँदर लगायतका चित्रहरू बनाइन्छ ।
हुँदा हुँदा रामायणका पात्र रावण समेतको स्थान यस चित्रकलामा अचम्म लाग्दो गरी स्थान पाएको देखिन्छ । बाह्र टाउके रावणलाई बरमुरुवा भनिन्छ । तर पूजा गर्दा सिन्दुर टीका रावणको चित्रमा लगाइँदैन । बरमुरुवाकोमा झुक्किएर सिन्दुर टीका लगाइए टीका लगाउने युवतीका छोराछोरी रुन्चे हुने भनाइ छ । लेखक छविलाल कोपिलाको विचारमा कृष्णको जीवनमा आधारित अस्टिम्किमा खलपात्रको रूपमा कंस आउनुपर्नेमा रावणको चित्र राखिनुले एक रहस्य उत्पन्न गरेको छ ।
यीबाहेक डुङ्गा, डोली, सूर्य, चन्द्रमा, लगायतको चित्र पनि अस्टिम्कि कलामा देख्न पाइन्छ ।
डुङ्गा शयर प्रेमलाई उत्कर्षमा पुर्याउने साधनको रूपमा मानिन्छ । अस्टिम् िकाव्यमा राधा दही बेच्न जाँदा होस् या फर्किदा कान्हाले डुङ्गा तारेर सहयोग गर्छन् । कान्हालाई डुङ्गा बनाउने तरिका राधाले नै बताएकी छिन् । तर डुङ्गा तार्दा होस् या दहीको भाँडा उचाल्दा कान्हाले राधासंग रसरंगमा सहभागी हुनुपर्ने बाध्यता तेस्र्याउँछन् । यसरी कान्हाले राधासंगको प्रेम बिटुल्याएका छन् ।
अस्टिम्कि काव्यमा वर्णित रैनी माछा एक अद्भूत माछा हो, जुन जल–थल दुबै ठाउँमा बस्न सक्छ । सृष्टिकर्ता गुर्वावाले जब यो पृथ्वी सृष्टि गर्नेबेला जल, स्थल बनाए । र, पृथ्वीमा मत्स्य अवतारको रूपमा रैनी माछाको जन्म भयो । अस्टिम्कि चित्रमा पनि यसको चित्र बनाउने गरिएको छ । कान्हाका पिता इसरु यही रैनी माछाको पिठ्युँमा चढेर हलोको लागि काठ काट्न गएका छन् । इसरुको भोजनमा रैनी माछाको परिकार पाकेको छ । यसैको विम्व अस्टिम्कि चित्रमा माछाले स्थान पाएको छ ।
त्यस्तै अन्य चित्रमा डोलीभित्र एक पुरुष र महिलाको बीचमा अपूर्ण मानव आकृति वनाइएको हुन्छ, जसलाई बासुदेव, देउकी र बीचमा अपूर्ण कृष्णको चित्र ठानिन्छ । राती भाले बासेपछि अस्टिम्कि पूजा गरिने घरको मुख्य ‘महटिन्याँ’ले अरुकै बारीबाट चोरेर ल्याएको चिचिण्डो पूजेर अपूर्ण कृष्णलाई पूर्ण बनाउँछिन् । आठौं सन्तानको रूपमा जन्मेका कृष्णलाई मामा कंसले पुनः मार्न नपाऊन् भनेर डोलीमै जन्म भएको र त्यसैमा राखेर यमुना नदीसम्म पुर्याउन प्रयोग गरिएको भन्ने कथन पनि छ ।
अस्टिम्कि काव्यमा सृष्टिको सिर्जनापछि इसरु हलोको लागि काठ काट्न गएका छन् । वनबाटै हलोको लागि चाहिने सबै सरसमान पनि तयार पारेर ल्याएका छन् । हलो तयार भएपछि बसाहा र सिलाहा सेडुर गोरु लिएर खेत जोत्न गएका छन् । थारूहरूको यही जीवनशैली र कृषि प्रणालीको विम्वको रूपमा हलो जोत्दै गरेको हलीले अस्टिम्कि चित्रमा स्थान पाएको छ ।
समयबोधक पन्छी जसको बोली सुनेर मानिसले समय निधारण गर्छन् । अस्टिम्किमा पनि समयभित्र सबै काम गर्नुपर्ने भएकोले भालेको ठूलो भूमिका रहेको छ । अस्टिम्कि काव्यमा भालेको सन्दर्भ समय सूचकको रूपमा आएको छ ।
भाउ ट भइल भिनसरिया, मुरुगा एक बोलल,
उठो पुटा बार कान्हा बछरु न छोर
अर्थात् कान्हालाई आमाले बिहान भयो, भाले बास्यो, उठ पुत्र बाच्छा छोड्न भनेर ब्यूँझाएकी छिन् । अस्टिम्कि चित्रमा काली नागले पनि स्थान पाएको हुन्छ । काव्यमा काली नागको फुफकारले कान्हा बारी फुलवारमा बेहोश हुँदा गरुडले जडिबुटी औषधीमूलो गरी ठीक पारेको छ ।
मूल चित्रबाहेक अर्को छुट्की अस्टिम्कि चित्रमा स–साना बालबालिकाले चित्र बनाउने अवसर पाउँछन् । छुट्की अस्टिम्कि चित्र बनाउने प्रक्रिया पुस्ता हस्तान्तरणको लागि राम्रो माध्यम भएको छ । २०७० सालदेखि नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानद्वारा आयोजित राष्ट्रिय कला प्रदर्शनीमा समेत अस्टिम्कि कलाको सहभागिता भई थारू लोककलाकारलाई पुरस्कृतसमेत गरिन थालिएको छ । यसले यो चित्र बनाउने परम्परा घर घरमा छिर्न थालेको छ ।
अस्टिम्कि अस्रैना
निराहर व्रत बसेका डंगौरा मूलका युवतीहरु बेलुकी अस्टिम्कि चित्र बनाएको घरमा पूजा गर्न जाँदा सेतो गुन्यु, रातो चोलो पहिरेका हु्न्छन् । चुल्ठोमा झोबन्ना, रिबन, कसैले घुन्यासरको पूmल सिउँरेका हुन्छन् ।
त्यस्तै, निधारमा सुनको टिकुली, कानमा चाँदी वा गिलटको झिमल्या, गर्दनमा सुट्या, माला, गटैया, रातो हरियो पहेँलो पोते, पाखुरामा बाँक, बिजायठ लगाएका हुन्छन् । ाडीमा कसैले लाहाको कसैले काँचको चुरा, औंलामा एकबिट्टे या दुईबिटे खप्टाको औँठी, खुट्टामा पायल, खुट्टाको औँलामा भिछिया लगाएका हुन्छन् । यी गहनाको झञ्कारले नै धेरैलाई लठ्ठ पार्छ ।
पूजा गर्दा युवतीहरुको माग कान्हा जस्तो मायालु पति पाऊँ भन्ने हुन्छ । अझ युवतीहरुले पूजा गर्न लगेको थालमा काँक्रा या निबुवा हुन्छ । आफूले मन पराउने युवतीकै थालको काँक्रा या निबुवा हात पार्न युवाहरु तँछाड मछाड गर्छन् । पूजा गर्न लगिएको फलको भेट्नो भने थालमा सुरक्षित साथ राखी दिनुपर्छ ।
विहान नजिकको खोला, नदीमा अस्टिम्किको पूजा सामग्री सेलाउन गाउँभरिका युवतीहरु भेला हुन्छन् । उनीहरुको सामूहिक स्नानले राधा आफ्ना सखीहरुसँग जलविहार गरेको झझल्को दिलाउँछ । तर उनीहरुको चीरहरण गर्न त्यहाँ कुनै थारू कान्हा प्रकट भने हुँदैन । थारू लोकराधाहरु कान्हा जस्तो पति पाउन ब्रत बसे पनि राधाजस्तो पत्नी पाउन कुनै थारू लोककान्हा अर्थात युवाहरु ब्रत बसेको पाइँदैन । यसरी थारू लोकसाहित्य, लोकसंगीत र अस्टिम्कि लोककलाको माध्यमले कृष्णलीला साकार भएको छ ।
कान्हा पूजा कहिलेदेखि ?
१४५० ईस्वीतिर भारतीय महाद्वीपमा कान्हा चरित्र चित्रण आरम्भ भएको मानिन्छ । पन्द्रौ शताव्दीको उत्तराद्र्धमा यस परम्पराले व्यापक रूप लियो । त्यसैको प्रभाव थारू लोकसंस्कृतिमा पनि आइपुग्यो । कालान्तरमा कान्हा पूजन राजदरबार, ठूल्ठूला सामन्तका हवेलीहरूमा सीमित रह्यो । थारू लोकसंस्कृतिमा भने गाउँका अगुवा महटाँवा, बरघरहरूको घरमा हालसम्म यथावत् छ (थारू, २०७०ः ६१) ।
प्रेमको उत्कर्ष विवाह हो । अन्य ग्रन्थमा राधा कान्हाको विशुद्ध प्रेमिकाको रूपमा चर्चा गरिए पनि थारूहरूको अस्टिम्कि काव्यमा कान्हा र राधा शंख बजिरहेको पृष्ठभूमिमा पिपलको परिक्रमा गर्दै वैवाहिक बन्धनमा बाँधिएका छन् । यसरी कृष्णगाथा सम्बन्धमा अस्टिम्कि काव्य र श्रीमद्भागवतका महाकाव्यको तुलनात्मक अध्ययन हुनु जरुरी देखिन्छ ।