नेपालका भाषा र भाषा योजनाबारे अन्तरक्रिया
भाषा तथा लोकवार्ता परिषद् नेपालले बिहीबार प्रदर्शनीमार्गस्थित वाल्मीकि विद्यापीठमा ‘वर्तमान सन्दर्भमा नेपालका भाषाहरू र भाषायोजना’ विषयक अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको छ । लोकवार्ता परिषद्का संयोजक डा. बालकृष्ण अधिकारीको अध्यक्षतामा आयोजित सो अन्तक्र्रिया कार्यक्रमका सहभागी वक्ताहरूले नेपालमा प्रचलित कतिपय भाषा लोप हुने अवस्थामा पुगेको बताए ।
कार्यक्रमका प्रमुख वक्ता भाषाविज्ञ डा. गोपाल ठाकुरले नेपालमा प्रचलित भाषाको अवस्था र कार्ययोजनाका बारेमा चर्चा गरे । उनले भाषा संवादको माध्यमसँगै आम संस्कृतिको संवाहक भएको बताउँदै नेपालमा संविधानको बहुभाषिक नीति कार्यान्वयनमा आउन नसकेको जानकारी दिए । “यसलाई व्यावहारिक ढङ्गले राज्यले सम्बोधन गर्नुपर्छ । भाषा मर्यो भने सिङ्गो सभ्यता मर्छ”, उनले भने, “तसर्थ भाषाको संरक्षणमा राज्यले विशेष पहलकदमी लिनुपर्दछ ।”
नेपालमा पछिल्लो समय शिक्षामा अङ्ग्रेजी हाउगुजीका कारण नेपाली भाषा पनि सङ्कटमा परेको भाषाविज्ञ ठाकुरले जिकिर गरे । मातृभाषाको पाठ्यक्रम राज्यले बनाए पनि दरबन्दी नराखेको बताउँदै यसमा गम्भीर बन्नुपर्ने धारणा उनले व्यक्त गरे ।
नेपालमा वैदेशिक रोजगारीले गर्दा कोरियाली, जापानी, चिनियाँ लगायतका भाषा सिक्नुपर्ने बाध्यता आएको छ, डा। ठाकुरले भने, “भाषा संरक्षणमा कम्तीमा ३ कक्षासम्म मातृभाषामा अध्ययन गर्ने वातावरण बनाउनुपर्छ ।” मातृभाषा भाषामा पठनपाठनको वातावरण ३ कक्षासम्म बनाउन सकेमा भाषा संरक्षणमा महत्त्वपूर्ण योगदान हुने र शिक्षकको दरबन्दी पनि उचित ढङ्गले व्यवस्थापन गरिनुपर्ने उनले बताए । लोपोन्मुख भाषाको संरक्षणका लागि अनौपचारिक तथा औपचारिक दुवै तरिकाले काम गर्नुपर्नेमा उनको जोड थियो ।
डा. ठाकुरले मातृभाषामा काम गर्ने व्यक्तिलाई प्रोत्साहन दिन सम्मान तथा पुरस्कारको व्यवस्था गर्नुपर्ने धारणा राखे । उनले नेपालमा बोलिने सबै भाषाको संरक्षणका लागि राज्यले नीतिगत तथा व्यावहारिक पक्षलाई ध्यान दिँदै काम गर्नुपर्ने जनाए ।
वाल्मीकि विद्यापीठका प्राचार्य प्रा.डा. भागवत ढकालले भाषाको विकास र संरक्षणमा सबै पक्ष गम्भीर भएर लाग्नुपर्ने विचार व्यक्त गरे । उनले संस्कृत भाषा सबैभन्दा पुरानो भाषा भएकाले यसको पनि सही ढङ्गले खोज अनुसन्धान हुनुपर्ने बताए ।
परिषद्का संयोजक डा. बालाकृष्ण अधिकारीले नेपालको संविधान २०७२ ले बहुभाषिक मुलुक भनेर मानेको जनाउँदै यसको कार्यान्वयन पक्षलाई सबल बनाउनुपर्ने विचार व्यक्त गरे । उनले भने, “मुलुकभित्रका भाषालाई समान ढङ्गले विकास गरिनुपर्दछ । यसमा राज्यले आवश्यक कानुन निर्माण गरेर भए पनि भाषाको विकास र संरक्षणमा विशेष पहल लिन जरुरी छ ।”
पूरक प्रस्तोता संस्कृतिकर्मी ईश्वरचन्द्र ज्ञवालीले भाषा गम्भीर व्यापक विषय भएकाले यसको मर्मलाई राज्यले सम्बोधन गर्नुपर्ने विचार व्यक्त गरे । उनले मानव सभ्यताको सिङ्गो इतिहास, राजनीति, सामाजिक परिवेश आदि सबैलाई भाषाले समेट्ने जनाउँदै मातृभाषाको विकास र संरक्षणमा राज्यले काम गर्नुपर्ने बताए ।
यस्तै अर्का पूरक प्रस्तोता सह प्रा.डा. विष्णु दाहालले निमाविभन्दा तल मातृभाषामा पढाउनुपर्ने बताउँदै भाषा मानिसको संवेदना र जीवनसँग जोडिएको विषय भएको धारणा व्यक्त गरे ।
कार्यक्रममा प्रा.डा. राजनप्रसाद दाहाल, अखिल नेपाल लेखक सङ्घका अध्यक्ष डा. धनप्रसाद सुवेदी, प्रलेसका केन्द्रीय अध्यक्ष डा. मधुसूदन गिरी, भीम रेग्मी, अग्रज मिथिला कलाकार शशी सुमन, अग्रज कलाकार जुलुमलाल चित्रकार, प्रा.डा. देवनारायण यादव, प्रा.डा. गोपीन्द्र पौडेल, तेजनारायण यादव, चेतनाथ धमला, रमेश खतिवडा लगायतले नेपाली भाषा र तिनको अवस्थाका बारेमा बहस गरेका थिए ।
उपप्राध्यापक तेजविलास अधिकारीले भाषालाई संरक्षण गर्नुपर्ने दायित्व राज्यको भएको बताए । उनले विद्यालयदेखि विश्वविद्यालयसम्म भाषालाई अध्ययनको विषय बनाउँदै तिनका विविध पक्षको अध्यापन गरिनुपर्नेमा जोड दिए ।
सो कार्यक्रममा देवेन्द्र थुम्केली, केशव सिलवाल, प्रगति महरा, भीम कुमाखी, डम्बर रोकाय, साहित्यिक पत्रकार सङ्घका महासचिव चेतनाथ धमला, वाल्मीकि विद्यापीठका प्राध्यापकहरू डा. राजनारायण ठाकुर, विद्यार्थी रमेश खतिवडा, कर्मचारीहरू टेकनाथ पाण्डेय, घनश्याम सिग्देल र टेगराज पौडेल, विश्वभाषा क्याम्पसका प्राध्यापक भीमनाथ रेग्मी, ललितकलाका वरिष्ठ कलाकार जुलुमलाल चित्रकार, प्राज्ञ एस.सी. सुमन, पाल्साङमो लामा तथा नेपाली केन्द्रीय विभागका विद्यार्थीहरू– केशव सुवेदी, उमेश न्यौपाने, सुमन्द्रा साउद, दिवाकर विष्ट, सरोज तिमल्सिना अनि अन्य व्यक्तित्वहरू सन्तोष सिंखडा, तेजनारायण ठाकुर, सुयशकुमार न्यौपाने तथा स्रष्टा शोभाराम ओलीलगायत उपस्थित थिए ।
सोही अवसरमा स्रष्टा शोभाराम ओलीको बाछिटा संग्रह ‘अथाह’ को विमोचन गरियो ।
नेपालका भाषाहरूको भाषा तथा लोकवार्ता परिषद्का संयोजक डा. बालाकृष्ण अधिकारीले यस कार्यक्रमले गहन सुझावहरू प्रदान गरेको बताए । उनले भने, ‘संविधानको प्रस्तावनामै उल्लिखित बहुभाषिक मुलुकका रूपमा नेपाललाई स्थापित गर्न अविलम्ब भाषायोजनाको कार्ययोजना ल्याउनुपर्ने, मातृभाषाहरूको विकासमा ध्यान दिनुपर्ने र संकटापन्न अवस्थामा रहेका भाषाहरूलाई संरक्षण र अभिलेखीकरण गर्न सरकार र भाषा आयोगले विशेष पहल गर्नुपर्ने लगायतका सुझावहरू आएका छन् ।’ समालोचक तथा वाल्मीकि विद्यापीठका उपप्राध्यापक तेजविलास अधिकारीले सञ्चालन गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे, १२ समाचार : नेपालबाट चीनमा मासु निर्यातका लागि सम्झौतादेखि दुर्गा प्रसाईंलाई धरौटीमा रिहा गर्न आदेशसम्म
-
एसइईमा अब ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाइने
-
काठमाडौँको चन्द्रागिरीमा १७ वर्षीया किशोरीको हत्या
-
लुम्बिनी विहार र होटेल व्यवसायी बिचको विवाद समाधान
-
१० बजे, १० समाचार : उत्तरार्द्धमा एनपीएल, समाजवादी मोर्चा निष्प्रभावी
-
मिर्गौला प्रत्यारोपण गर्ने विषयमा विवाद, चक्कु प्रहार गरेर बुवाले गरे बिरामी छोराको हत्या