शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

सुन व्यापारीलाई 'हनी ट्रयाप'मा फसाएको आरोपमा दाङबाट ५ जना पक्राउ

२ महिनाको योजनापछि १२ लाख असुली
शुक्रबार, ०३ भदौ २०७९, ०८ : ३६
शुक्रबार, ०३ भदौ २०७९

दाङको घोराही उपमहानगरपालिका–१० नारायणपुरका सुनचाँदी पसल संचालकलाई ४ महिला र ३ जना पुरुष मिलेर योजनाबद्ध ‘हनी ट्रयाप’मा पारेका छन् । हनी ट्रयापमा पारेको आरोपमा प्रहरीले ४ महिला र एकजना पुरुष सहित ५ जनालाई पक्राउ गरेको छ । योजनामा संलग्न अरु २ जना फरार छन् ।

आरोपीहरुले ट्रयापमा पारेपछि ब्यापारीलाई  घोराही उपमहागरपालिका–१३ स्थित बडहरामा लगेर १ लाख नगद र ११ लाख बराबरको चेक लिएर छाडेको दाङका एसपी सुरेश काफ्लेले रातोपाटीलाई बताए ।

सो कसुरमा संलग्न आरोपमा प्रहरीले घोराही उपमहानगरपालिका–१० बस्ने ३२ वर्षीया पवित्रा डाँगी, ३२ वर्षीया विमला डाँगी, २९ वर्षीया शान्ता नेपाली, २२ वर्षीया शर्मिला नेपाली र रोल्पा घर भएका ४० वर्षीय दिलिप कुमार वलीलाई पक्राउ गरेको छ । साउन २७ मा पक्राउ गरेर उनिहरुलाई अपराधी लाभ लिन नहुने कसुरमा म्याद लिएर प्रहरीले अनुसन्धान गरिरहेको छ ।

यस्तो थियो घटना
दुई महिनाअघि दिलिप कुमार ओलीले नारायणपुर बजारमा बस्ने आफ्नो चिनजानका सुन चाँदी पसल सञ्चालकसँग धेरै पैसा भएको र सो पैसा कसरी तान्ने भनेर शान्ता नेपाली र पवित्रा डाँगीसँग बसेर योजना बनाए  । दोस्रो चरणमा उनीहरुले बिमला डाँगीसँग त्यसबारे छलफल गरे ।

शान्ता नेपालीको घरमा छलफल गरेर उनीहरुले शान्ताको नन्द नाता पर्ने प्रमिला नेपाली ‘सर्मिला’लाई तिलहरी बेच्ने बहाना बनाएर सुन पसलमा गएर चिनजान गर्ने र नम्बर मागेर ल्याउने बारे छलफल गरेका थिए । शर्मिलाको घरबार बिग्रेको र पतिसँग पनि नराम्रो भएको हुनाले पैसा आउने आशामा शर्मिला त्यसमा राजी भइन् ।  त्यसपछि शर्मिला तिलहरी बेच्ने बहानामा सुन पसलमा गएर चिनजान गरिन्, नम्बर लिएर फर्किन् ।

नम्बर पाएपछि शर्मिलाले फोन गरेर ब्यापारीलाई प्रेम जाल फ्याँकिन् । प्रेमको कुरा हुन थाल्यो, बेला बेला होटलमा भेटेर खाजा खाने र गफ गर्ने सामान्य हुन थाल्यो ।

आरोपीहरु त्यसपछि पवित्रा डाँगीको घरमा जम्मा भएर शर्मिला र व्यापारी सँगै बसेको मौका पारेर रकम बार्गेनिङ गर्ने योजनामा पुगे । अनि, प्रमिला नेपालीलाई पवित्रा डाँगीको घरमा डेरा दिएर बस्ने व्यवस्था मिलाएर । पछिल्लो एक महिनादेखि शर्मिला नेपाली पवित्राको घरमा डेरा लिएर बस्न थालिन्  ।

पवित्राले योजना सफल बनाउन मान्छे थोरै भएको भनेर अजय बुढाथोकी र लोकेन्द्र मगरलाई पनि टिममा समेटिन् । साउन २४ मा सवैजना बसेर शर्मिलाको कोठामा ब्यापारीलाई बोलाउने सल्लाह गरे । कोठामा आएपछि प्रमिला नेपालीले शान्तालाई कोठामा आएको कुरा जानकारी दिन फोन र म्यासेज गर्ने योजना बनाएको एसपी काफ्लेले जानकारी दिए ।

साउन २६ मा ११ बजे शर्मिलाको डेरामा ति व्यापारी आए । सवैजना गएर ढोका खोल्न लगाएर  ‘हाम्रो छोरी चेलीको इज्जतमाथि हात हालिस् ?’ भन्दै मुक्का हान्न शुरु गरे ।  ३ जना पुरुषले अर्को कोठामा लगेर घोराहीमा रहेको घडेरी मागे । व्यापारी चकित भए । व्यापारीले ‘घडेरी तत्काल नाममा आउन सक्दैन्’ भनेपछि उनीहरुले भोलिपल्ट असार २७ मा ति व्यापारीलाई घोराही उपमहानगरपालिका–१३ बडहरा स्थित ईट्टा भट्टामा लगेर घरमा फोन गरेर पैसा माग्न लगाए । व्यापारीले भतिजलाई फोन गरेर १ लाख नगद र चेक ल्याउन भने । अनि, दुई लाख दरका दुई थान चेक, ७ लाख २० हजारको अर्को चेक र १ लाख नगद लिएर उनीहरुले व्यापारीलाई मुक्त गरेको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ ।

नगद र चेक साटेर बाँडफाँड गर्नेगरी अजय बुढाथोकीले राखेका थिए । अजय र लोकेन्द्र फरार छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप