बुधबार, १९ असार २०८१
ताजा लोकप्रिय

मधेस प्रदेशमा कांग्रेसले माग्यो ५० प्रतिशत सिट

शुक्रबार, ०३ भदौ २०७९, ०७ : ४४
शुक्रबार, ०३ भदौ २०७९

नेपाली कांग्रेसले मधेस प्रदेशमा सत्तारुढ गठबन्धनका तर्फबाट कम्तीमा ५० प्रतिशत सिटमा आफूले उम्मेदवारी दिने गरी तालमेल हुनुपर्ने जनाएको छ । मधेस प्रदेशका ८ जिल्लामा प्रतिनिधिसभामा ३२ र प्रदेशसभामा ६४ सिट छन् । कांग्रेसले प्रतिनिधिसभातर्फ कम्तीमा १६ सिट र प्रदेशसभातर्फ कम्तीमा ३२ सिट पाउनुपर्ने अडान राखेको हो ।

कांग्रेसका प्रदेश सभापति कृष्णप्रसाद यादव सत्ता गठबन्धनमा केन्द्रमा हुने सिट बाँडफाँटको अनुपातमा मधेस प्रदेशका सिटहरुमा तालमेल हुने बताउँछन् । यादवले रातोपाटीसँग भने, ‘पार्टीले ६० प्रतिशत लिन्छ भने मधेसमा पनि ६० प्रतिशत लिन्छौं । पार्टीले ५५–५० प्रतिशतमा सहमति गर्दा मधेसमा पनि ५५–५० कै रेसियोमा चाहिन्छ ।’

केन्द्रको रेसियो अनुसार गठबन्धनभित्र मधेसमा सिट बाँडफाँट हुने यादवको जिकिर छ । उनले कार्यदलका संयोजक कृष्णप्रसाद सिटौला, सदस्यद्वय गगन थापा र ज्ञानेन्द्र कार्कीलाई पनि सोही कुरा राखेका छन् ।

कांग्रेस नेता विमलेन्द्र निधिले पनि मधेसमा प्रतिनिधिसभाका १६ सिटमा पार्टीले दाबी गर्नुपर्ने बताएका छन् । साउन २३ मा बसेको कांग्रेस शीर्ष नेताको बैठकमा निधिले मधेस प्रदेशमा कांग्रेसले प्रतिनिधिसभामा १६ सिट पाउने गरीमात्र तालमेल गर्न सुझाव दिएका थिए । मधेस प्रदेशका ८ जिल्लामा ४–४ निर्वाचन क्षेत्र छन् ।

प्रत्येक जिल्लाका २ वटा निर्वाचन क्षेत्र काँग्रेसले पाउने गरी सिट बाँडफाँट गर्न कार्यदलका सदस्यमाथि मधेस कांग्रेसले दबाब बढाएको छ । २०७४ मा कांग्रेसले प्रतिनिधिसभातर्फ मधेस प्रदेशका ३२ मध्ये ६ सिट जितेको थियो ।

जसअनुसार सर्लाही –४ बाट अमरेश कुमार सिंह, बारा– १ बाट उमाकान्त चौधरी, सप्तरी–४ बाट तेजुलाल चौधरी, रौटहट–४ बाट देवप्रसाद तिमिल्सिना, सिरहा–१ बाट प्रदीप गिरी र रौटहट– २ बाट मोहमद अफताब आलम विजयी भएका थिए । मधेस प्रदेशमा जसपाबाट प्रत्यक्षतर्फ निर्वाचित १० प्रतिनिधिसभा सदस्य छन् । तीमध्ये ८ जना तत्कालीन समाजवादी फोरमबाट निर्वाचित हुन् भने दुई जना तत्कालीन राजपाबाट निर्वाचित भएका हाल जसपामा छन् ।

यस्तै मधेस प्रदेशमा माओवादीका ५ जना निर्वाचित सांसद छन् भने नेकपा एकीकृत समाजवादीमा प्रतिनिधिसभा सदस्य छैनन् । मधेसमा जसपाले कम्तीमा १० सिट पाउनुपर्ने अडान राखेको छ भने ८ सिटमा माओवादीको दाबी छ । यस्तै ५ सिट आफूले पाउनुपर्ने एकीकृत समाजवादीको माग छ ।

०७४ मा काँग्रेसले मधेसका प्रदेशसभातर्फका ६४ मध्ये ७ सिट जितेको थियो । रौतहट– ४ (क) बाट धनलाल ठोकर, रौटहट २ (क) बाट नागेन्द्र प्रसाद सिन्हा, सप्तरी–३ (क)बाट मोहम्मद समिम, पर्सा २ (क)बाट राजेश्वरप्रसाद, धनुषा– ३ (क)बाट राम सरोज यादव, सर्लाही–४ (क)बाट विरेन्द्र प्रसाद सिंह र पर्सा–४ (क)बाट शंकर प्रसाद चौधरी विजयी भएका थिए ।

मधेस प्रदेशसभा सदस्यमा जसपाका २२ जना प्रत्यक्ष निर्वाचित सांसद छन् भने माओवादी केन्द्रका ३ जना छन् । यस्तै प्रदेशसभामै एकीकृत समाजवादीका प्रत्यक्ष निर्वाचित सांसद ९ जना छन् ।

प्रदेशसभामा जसपाले ३२ सिटमा दाबी राखेको छ । यस्तै एकीकृत समाजवादीले २० र माओवादीले १५ सिटमा दाबी गरेको छ । अहिले गठबन्धन बाहेक मधेस प्रदेशमा एमालेका ४ र लोकतान्त्रिक समाजवादी पार्टीका ७ जना प्रत्यक्ष निर्वाचित सांसद छन् ।

०७४ मा जितेको सिट सुरक्षित राखेर जाने मापदण्ड अनुसार ११ सिटमा मात्र गठबन्धनभित्र भागबण्डा हुने अवस्था हुन्छ । त्यसैले कांग्रेस ०७४ मा जितेका सिट सुरक्षित गरेर बाँकीमा भागबण्डा गर्ने मापदण्ड मधेसमा लागू गर्न नहुने पक्षमा छ । उसले केन्द्रकै अनुपातमा मधेस प्रदेशमा भागबण्डा गर्न दबाब दिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप