बिहीबार, ०४ पुस २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

युआन वाङ ५ः चीनको ‘जासुस जहाज’ श्रीलंका आउँदा भारतले किन जनायो यति ठूलो विरोध ?

बिहीबार, ०२ भदौ २०७९, २२ : २७
बिहीबार, ०२ भदौ २०७९

चिनियाँ नौसेनाको जहाज ‘युआन वाङ ५’ दुई दिनअघि अर्थात अगस्ट १६ मा श्रीलंकाको हम्बनटोटा बन्दरगाहमा आइपुगेको छ । भारत र अमेरिकाजस्ता देशले यसलाई ‘जासुस जहाज’ ठान्छन्, जसलाई अन्य देशको जासुसी गर्न तैनाथ गरिन्छ । 

चीनले यो जहाज अत्यावश्यक वस्तुको आपूर्तिका लागि हम्बनटोटामा रोकिएको जनाएको छ । चीनले यो जहाजले जुन प्रकारको सामुद्रिक वैज्ञानिक अनुसन्धानसँग सम्बन्धित काम गर्छ, त्यो अन्तर्राष्ट्रिय कानुनसम्मत भएको बताएको छ ।

चीनले यो जहाजको गतिविधिले कुनै पनि देशको सुरक्षा र आर्थिक हितलाई असर नगर्ने बताएको छ । तर हम्बनटोटा बन्दरगाहमा युआन वाङ ५ को सात दिने बसाइले जहाजलाई भारतको सुरक्षा हितलाई खतरामा पार्ने मौका दिने हो कि होइन भन्ने चिन्ता भारतमा छ ।

हम्बनटोटाबाट भारत कति टाढा छ
श्रीलंकाको हम्बनटोटा बन्दरगाहदेखि भारतको चेन्नई बन्दरगाहसम्मको दूरी करिब ५३५ समुद्री माइल (नाटिकल माइल) वा ९९० किलोमिटर छ । त्यस्तै, हम्बनटोटा र कोची बन्दरगाहबीचको दूरी करिब ६०९ नटिकल माइल वा ११२८ किलोमिटर छ  ।

विशाखापट्टनम बन्दरगाह हम्बनटोटाबाट ८ण्२ समुन्द्री माईल वा लगभग ११२८ किमी टाढा छ । भारतीय अन्तरिक्ष कार्यक्रमको लागि प्रक्षेपण आधार प्रदान गर्ने सतीश धवन अन्तरिक्ष केन्द्र,श्रीहरिकोटाबाट हम्बनटोटा ११०० किलोमिटर टाढा छ । युआन वाङ ५ ले गत हप्ता नै हम्बनटोटा बन्दरगाहमा रोक्ने अनुमति मागेको थियो । तर जहाजलाई लिएर भारतको चिन्ता व्यक्त गरेपछि अनुमति दिइएको थिएन । 

तर भारतले हम्बनटोटामा जहाज रोक्न नदिन श्रीलंकामाथि कुनै किसिमको दबाब नदिएको बताएको छ । जहाज हम्बनटोटा बन्दरगाह पुगेपछि श्रीलंकाका राष्ट्रपति रनिल विक्रमासिङ्घेले चीनलाई हम्बनटोटा बन्दरगाह सैन्य प्रयोजनका लागि प्रयोग गर्न नदिने बताएका छन् ।

श्रीलंकाको दक्षिणमा अवस्थित हम्बनटोटा बन्दरगाह चिनियाँ ऋणमा बनाइएको थियो । तर श्रीलंकाले चीनबाट लिएको ऋण तिर्न नसकेपछि बन्दरगाह ९९ वर्षको भाडामा चीनलाई हस्तान्तरण गरिएको थियो । युआन वाङ ५ उपग्रह चीनको पछिल्लो पुस्ताको अन्तरिक्षा ट्रयाकिङ जहाजमध्ये एक हो जसको प्रयोग रकेट र अन्तरमहाद्वीपीय ब्यालिस्टिक मिसाइल प्रक्षेपणको निगरानी गर्न गरिन्छ । 

यो जहाज युआन वाङ श्रृंखलाको तेस्रो पुस्ताको ट्र्याकिङ जहाज हो, जुन सन् २००७ मा चिनियाँ सेनामा सामेल भएको थियो ।
युआन वाङ ५ को क्षमताको बारेमा बताउदै एक जना भारतीय नौसेनाका सेवा निवृत अधिकारीले भने ,‘ यस्ता जहाजहरूले समुद्रभित्र पनडुब्बीहरू तैनाथ गर्न सकिने गहिराइको अध्ययन गर्छन् । पनडुब्बी तैनाथीको ढाँचा पानीमुनिको तापक्रममा निर्भर गर्दछ र ती तापक्रम एकै दिनमा नभएर महिनौं र विभिन्न मौसममा लिइन्छ । हिन्द महासागर क्षेत्रमा यस्तो जहाज महिनौंसम्म रहन सक्छ ।’

पानीमुनिको तापक्रमको जानकारी सङ्कलन गरेपछि पनडुब्बी कुनै खास क्षेत्रमा छ छैन, छ भने कति गहिराइमा छ भन्ने अनुमान गर्न सकिन्छ । यस्ता जहाजले ब्यालिस्टिक मिसाइलहरू पनि पहिचान गर्न सक्छन् । ‘यसको मतलब यो जहाजको राडार र सेन्सरहरू धेरै शक्तिशाली छन् । यी जहाजहरू सैन्य गतिविधिहरुको प्रवृति स्थापित गर्न आवश्यक हुन्छ ,’ उनले भने । 

भारतका किन चिन्तित ? 
‘श्रीलंकाले सैन्य जहाजभन्दा वृहत्तर काम गर्ने जहाजलाई किन बन्दरगाहमा आउन अनुमति दियो भन्ने चिन्ताको विषय हो । जहाजलाई दोहोरो प्रयोगको जासूस जहाज हो जसले जासुसीको अतिरिक्त सर्वेक्षणको काम पनि गर्छ ,’ सिंहले भने  । 

भाइस एडमिरल अनूप सिंहका अनुसार हम्बनटोटा बन्दरगाह चिनियाँहरूको नियन्त्रणमा गएपछि चीनले बन्दरगाहलाई उसका नौसेनाका जहाज तथा पनडुब्बीहरुलाई रोक्ने तथा इन्धन भर्ने स्थान बनाउने हो की भन्ने भारतको डर थियो । ‘चीनले धेरै पटक यस बन्दरगाहलाई उसको जनमुक्ति सेनाको नौसेना आधारको रूपमा प्रयोग नगर्ने बताएको छ । तर बोली र व्यवहारमा समरुपता छ की छैन भनेर जाच्ने कोही छैन,’ सिंहले भने । 

विगतमा पनि चीनले हिन्द महासागर क्षेत्रमा यस्ता जहाज पठाउँदै आएको भाइस एडमिरल सिंहले बताए । ‘हाम्रो प्रश्नमा उनीहरु आफैले यो जहाजले तिनको उपग्रहहरू ट्र्याक गर्नको लागि तैरिने अर्थ स्टेशनको रूपमा काम गर्ने र यसका लागि जहाजलाई निश्चित स्थानहरूमा तैनाथ गर्न आवश्यक भएको बताएका छन् ,’ सिंहले भने । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप