बिहीबार, ०४ पुस २०८१
ताजा लोकप्रिय

पुटिनले ल्याए १० बच्चा जन्माउने रुसी आमालाई पुरस्कार र सम्मान दिने कानुन

बिहीबार, ०२ भदौ २०७९, २२ : १०
बिहीबार, ०२ भदौ २०७९

रुसको घट्दो जन्म दर र जनसंख्याका कारण त्यहाँका नीति निर्माताहरु चिन्तित छन् । यो समस्या समाधानका लागि देशका राष्ट्रपति भ्लादिमिर पुटिनले महिलाहरुलाई १० जनासम्म सन्तान प्रोत्साहित गर्ने अध्यादेश ल्याएका छन् ।  

अध्यादेश अनुसार १० सन्तान जन्माउने महिलालाई ‘मदर हिरोइन’ को अवार्डले सुशोभित गरिनेछ । यो पुरस्कार दोस्रो विश्वयुद्धको पुछारतिर सन् १९४४ मा स्टालिनले स्थापना गरेका थिए । दोस्रो विश्वयुद्धमा रुसका झण्डै अढाई करोड मानिस मारिएको स्थितिमा यस्तो पुरस्कार स्थापना गरेर धेरै बच्चा जन्माउन प्रोत्साहित गरिएको थियो । 

सन् १९९१ मा सोभियत संघ विघटन भएपछि रुसले यो अवार्ड दिन बन्द गरेको थियो । राष्ट्रपति पुटिनले पुनः यस अवार्ड सुरु गरेका छन् ।

कति रकम पाउनेछन् आमाले सहयोगमा ?
पुटिनले अगस्ट १५ मा जारी गरेको अध्यादेश अनुसार दशौं बच्चा एक वर्ष पुगेपछि तिनको आमालाई १० लाख रुबल (झण्डै १६००० अमेरिकी डलर) दिइनेछ ।  

रकम सिधै आमाको खातामा हालिने व्यवस्था गरिएको पुटिनले बताए । एक वर्षको हुनुअघि नै बच्चा कुनै कारणले बित्यो भने पनि आमाले रकम पाउने बताइएको छ ।  दशकौंदेखि रुसको जन्मदर घट्दै गएकोमा तीन वर्षदेखि लगातार जनसङ्ख्या वृद्धि दर ऋणात्मक देखिएको छ । सन् २०१८ मा रुसको जनसंख्या १४ करोड ५७ लाख रहेकोमा यो घटेर यो वर्ष १४ करोड ४७ लाख पुगेको छ । 

जबकि सोभियत संघ विघटन हुँदा रुसको जनसंख्या १४ करोड ८३ लाख थियो ।  पुटिनका कदमप्रति केहीले प्रश्न उठाएका छन् । जस्तो रुसी राजनीति तथा सुरक्षा विशेषज्ञ डा.जेनी माथर्सले १६ हजार अमेरिकी डलरको एक पटकको भुक्तानीले कसरी १० बच्चालाई हुर्काउने भन्ने प्रश्न गरेकी छन् ।

डा.माथर्सले ठूलो संख्या बालबच्चा पाएपछि तिनको बसोबास, खानपिन तथा अन्य खर्चको प्रावधानबारे बेवास्ता गरेर हावादारी निर्णय गरेको बताइन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप