बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

नयाँ हाकिमको निगरानीमा सवारी चालक, लागुऔषध प्रयोगकर्तादेखि स्कुल बस चालकसम्म फन्दामा

बिहीबार, ०२ भदौ २०७९, १९ : २१
बिहीबार, ०२ भदौ २०७९

काठमाडौं उपत्यकामा ट्राफिक प्रहरीले चालकले लागुपदार्थ सेवन गरेको–नगरेकोबारे परीक्षण गरिरहेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयबाट यात्रु ओसार पसार गर्ने ट्याक्सी चालकलाई परीक्षण गरेर साउन ९ मा उपत्यका ट्राफिक प्रहरी कार्यालयले सो अभियान शुरु गरेको थियो ।

साउन महिनामा उपत्यकाका विभिन्न ठाउँबाट ५० जनाको स्याम्पल परीक्षण गरेर ड्रग्स सेवनको अवस्था र मात्रा परीक्षण गरिएको उपत्यका ट्राफिक प्रहरी कार्यालय प्रमुख (डीआईजी) मीरा चौधरीले रातोपाटीलाई बताइन् । ‘एक जनाले ड्रग्स सेवन गरेर सवारी चलाएको भेटिएको छ’ डीआईजी चौधरीले भनिन्, ‘लागुऔषध सेवन गर्ने चालकलाई उनको परिवारलाई बोलाएर जानकारी दिएर जिम्मा लगाएका छौं ।’

साउन २१ मा बा.७९ प ५१७७ नम्बरको स्कुटरमा गोदावरीबाट सातदोबाटोतिर आउँदै गरेका बिजेन्द्र राईलाई ट्राफिक प्रहरीले नास्ट कलेज अगाडि रोकेर परीक्षण गरेको थियो । धरान घर भएर काठमाडौंको नरेफाँट बस्दै आएका २५ वर्षीय राईले ड्रग्स सेवन गरेर स्कुटर चलाएको भेटिएको छ ।

प्राविधिकहरुको सहयोगमा उपत्यका ट्राफिक प्रहरी कार्यालयले पहिलो चरणमा ५० जना चालकमाथि परीक्षण गरेको छ । सवारी चालकको पिसाब ‘टेष्ट किट’मा राखेर ड्रग्स सेवनको अवस्था र मात्रा बारे परीक्षण गरिन्छ । उपत्यका ट्राफिक प्रहरीलाई लागुऔषध सेवन परीक्षण गर्न धुलिखेलस्थित बागमती प्रदेशस्तरीय जनस्वास्थ्य प्रयोगशालाले प्राविधिक सहयोग गरेको छ । सीमित ‘टेष्ट किट’को प्रयोग गरेर परीक्षण शुरु गरिएको डीआईजी चौधरीले जानकारी दिइन् । उपत्यका ट्राफिक कार्यालयको जिम्मेवारी पाएसँगै चौधरीले यातायात क्षेत्रलाई मर्यादित बनाउन र ट्राफिक नियम पालनामा जोड दिँदै अभियान सञ्चालन गरेकी हुन् । 

‘पहिलो चरणमा हामीले ५० वटा टेष्ट किट सहयोग लिएर शुरु गरेका छौं,’ डीआईजी चौधरीले भनिन्, ‘ अब, लागुपदार्थ सेवन गरेको वा नगरेको परीक्षण गर्न आवश्यक किट खरीद गरेर परीक्षण गर्छौं ।’ परीक्षणका लागि आवश्यक प्राविधिक जनशक्ति उपलब्ध गराउन ट्राफिक प्रहरीले नेपाल प्रहरी अस्पतालसँग सहयोग मागेको छ । पिसाब परीक्षण गर्दा चालकले कति मात्रामा लागुऔषध सेवन गरेका छन् भन्नेबारे पनि थाहा हुन्छ । ट्राफिक प्रहरी कार्यालयले त्रिभुवन विमानस्थल, भक्तपुर, बल्खु, नागढुंगा र भद्रकालीमा लागुपदार्थ सेवनको अवस्थाबारे परीक्षण गरेको थियो ।

यसअघि मादक पदार्थ सेवन परीक्षण नियमित गरिएपनि उपत्यकामा लागुपदार्थ सेवन गर्नेहरुलाई नियमित परीक्षण गरिएको थिएन । 

२१ जना स्कुल बस चालक मापसे कारवाहीमा

ट्राफिक प्रहरीले उपत्यकामा स्कुल बस चलाउनेहरूलाई पनि मादक पदार्थ सेवन गरेको–नगरेकोबारे परिक्षण गरिरहेको छ । साउन महिनामा २१ जना स्कुल बसका चालक मापसे कारवाहीमा परेका छन् । नियम मिचेर चलाउने र कागजात नभएका ९४ वटा बसलाई कारवाही गरिएको डीआईजी चौधरीले जानकारी दिइन् ।

बिहानै मापसे गरेर गाडी चलाउँदा कारवाही पर्नेमा पाठशाला फाउन्डेसनको बा.१क ४८७१ नम्बरका चालक पदम बहादुर ठकुरी, मगरुबु इन्टरनेशनल कलेज चुच्चेपाटीको बागमती–०१–००४क–०७९९ नम्बरका चालक सावा तामाङ र जोमियर इन्टरनेशल टुसालको बस नम्बर बा १९च ५१४१ नम्बरका चालक सेजप भण्डारी लगायत छन् ।

नेशनल अर्बिक बोर्डिङ स्कुलको बस नम्बर प्र–३–०१–०२५ च ३६९८ का चालक कोनाम लिम्बु र  क्यापिटल हिल कलेजको बस बा १ क ९८३० नम्बरका चालक रमेश थापालाई मादक पदार्थ सेवन गरेको कसुरमा कारवाही गरिएको छ । सिट क्षमता भन्दा धेरै विद्यार्थी चढाउने स्कुल बसलाई पनि ट्राफिकले कारवाही गरिरहेको छ ।

उपत्यका विशेष चेकिङ शुरु गरेर ट्राफिक प्रहरीले लाइसेन्स नभएका र  ओभरलोड बोकेको आरोपमा ११३ विद्यार्थीलाई जरिवाना गरेको छ ।​ पानी ट्यांकरका ३ जना चालक साउन महिनाभरमा मापसे कारवाहीमा परेका छन् । नियम मिचेर चलाउने र कागजात नभएका ९३ वटा ट्यांकरलाई उपत्यका ट्राफिक प्रहरी कार्यालयले कारवाही गरेको छ । साउन महिनामा ५ जना एम्बुलेन्सका चालक कारवाहीमा परेका छन् । 

हर्न बजाउँदा २४ सय कारवाहीमा

काठमाडौं उपत्यकामा साउन महिनाभर हर्न बनाएको आरोपमा २ हजार ४ सय १ जना चालकलाई कारवाही गरिएको छ । लेन अनुशासनमा २८ सय २४ जना चालक कारवाहीमा परेका छन् । रातो बत्तीमा २५ सय ६६ जनालाई कारवाही गरिएको उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । मापसे गरेर सवारी साधन चलाउने ४ हजार १५४ जना चालक कारवाहीमा परेका छन् । सवारी साधनमा उच्छृङ्खल स्लोगन लेखेको आरोपमा १८५ वटा सवारीको स्लोगन ट्राफिक प्रहरीले हटाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजेश भण्डारी
राजेश भण्डारी

भण्डारी रातोपाटीका लागि सुरक्षा/अपराध बिटमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप