शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

निर्वाचन अधिकृतको कार्यालय स्थापनाबारे आयोगको तीन बुँदे निर्देशन

बिहीबार, ०२ भदौ २०७९, १९ : १६
बिहीबार, ०२ भदौ २०७९

निर्वाचन आयोगले निर्वाचन अधिकृतको कार्यालय स्थापनाबारे सरकारलाई तीन बुँदे निर्देशन दिएको छ । मंसिर ४ गते आइतबार एकै चरणमा सम्पन्न हुने प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय र मितव्ययी रूपमा सम्पन्न गर्न  निर्वाचन अधिकृतको कार्यालय स्थापना प्रयोगका लागि तीन बुँदे निर्देशन दिइएको आयोगले बिहीबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ । 

सरकारको तीन बुँदे निर्देशन यस्तो छः

१. आसन्न निर्वाचनको लागि मुख्य निर्वाचन अधिकृतको कार्यालय जिल्ला सदरमुकामस्थित उपयुक्त  स्थलमा र एकभन्दा बढी निर्वाचन क्षेत्र भएका जिल्लामा स्थानीय प्रशासन तथा सम्बन्धित स्थानीय तहसँग समेत समन्वय गरी सम्बन्धित निर्वाचन क्षेत्रको केन्द्रमा पर्ने एवं भौतिक पूर्वाधार तथा सुरक्षाको दृष्टिकोणबाट उपयुक्त हुनेगरी निर्वाचन अधिकृतको कार्यालय राख्ने स्थान तथा भवन यकिन गर्ने ।

२. निर्वाचन अधिकृतको कार्यालय स्थापना गर्दा कुनै सरकारी कार्यालय वा सरकारी स्वामित्वमा रहेको कार्यालय भवनलाई प्रयोग गर्नु पर्ने तर यस्तो भवन उपलब्ध नभएको खण्डमा मात्र भाडामा लिनुपर्ने अवस्था आइपरेमा तोकिए बमोजिमको बजेटको सीमाको परिधिभित्र रही भाडामा लिनुपर्ने व्यवस्था रहेको हुँदा सकभर सरकारी भवनको व्यवस्था गर्ने ।

३. मुख्य निर्वाचन अधिकृतको कार्यालय र निर्वाचन अधिकृतको कार्यालयलाई आवश्यक पर्ने सरकारी भवन, फर्निचर, इलेक्ट्रोनिक सामान, सवारी साधन लगायतका भौतिक सामग्रीहरूको व्यवस्थापन गरी तयारी अवस्थामा राख्न र आयोगबाट कायम भएका मतदान स्थल तथा मतदान केन्द्रहरूमा रहेका संरचनाको संरक्षण, मर्मत सम्भार एवम् उक्त स्थलमा खानेपानी,  शौचालय, विद्युत, सडक, पुल पुलेसा, कम्पाउण्डवाल, तारबार तथा सञ्चार जस्ता सुविधाको आवश्यक व्यवस्था गर्नुका साथै मतदान स्थल तथा मतदान केन्द्रलाई अपाङ्ग, असक्त तथा लैंङ्गिकमैत्री बनाउने व्यवस्था मिलाउने ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप