शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

मधेस प्रदेशका सभामुख सरोज यादव लोसपाबाट उम्मेदवार बन्लान् कि जसपाबाट ?

बिहीबार, ०२ भदौ २०७९, १६ : ५५
बिहीबार, ०२ भदौ २०७९

मधेस प्रदेशका प्रदेश सभामुख सरोज यादव आगामी निर्वाचनमा कुन पार्टीबाट उम्मेदवार बन्छन् भन्ने प्रस्ट हुन सकेको छैन । विभाजनअघि जसपामा रहेका उनी हाल लोसपा र जसपा दुवैको सम्पर्कमा छन् । उनी २०७४ को प्रदेशसभा निर्वाचनमा बाराको क्षेत्र नम्बर १ को (ख) बाट विजयी भएका थिए । उनी फेरि प्रदेशसभामै चुनाव लड्ने तयारीमा छन् । तर कुन पार्टीबाट चुनाव लड्ने भन्नेबारे उनले अझै खुलाएका छैनन् ।

लोसपाका एक नेताले भने, ‘सरोज यादवले पार्टीको लेवी जसपालाई बुझाइरहनु भएको छ, तर आफू भने लोसपाकै हो भनिरहनु भएको छ । उहाँ पार्टीको नियमित सम्पर्कमा हुनुहुन्छ ।’​ जसपाबाट विभाजन भएर लोसपा गठन हुँदा सांसदहरुले जसपा वा लोसपामध्ये एक दल रोज्ने अवसर पाएका थिए । तर उनी सभामुख भएका कारण कतै खुल्नु परेन । यद्यपि भित्रभित्रै उनले उपेन्द्र यादव नेतृत्वको जसपालाई साथ दिएका थिए । उनले त्यतिबेला उपेन्द्र यादवलाई साथ नदिएको भए उनको सभामुख पद पनि धरापमा पर्न सक्थ्यो ।

उनलाई जसपामै राख्न मधेस प्रदेशका मुख्यमन्त्री लालाबाबु राउत र मधेस सरकारका प्रमुख न्यायाधिवक्ता दीपेन्द्र झाले अध्यक्ष यादवसँग कुरा गराएका थिए । स्रोतका अनुसार चारै जनाको उपस्थितिमा सरोज यादव जसपामै बस्ने टुङ्गो लागेको थियो । त्यो बेलादेखि सभामुख यादवले जसपालाई साथ दिँदै आएका थिए ।

तर यति हुँदाहुँदै पनि उनले लोसपासँग सम्बन्ध तोडेनन् । लोसपाका शीर्ष नेताहरुसँग उनको सम्बन्ध छँदैछ । ती नेताहरुलाई उनले आफू लोसपामै रहेको बताउँदै आएको लोसपाका केही नेताको भनाइ छ ।​ लोसपाका कार्यकारिणी सदस्य एवं मधेस प्रदेशका अध्यक्ष जितेन्द्र सोनल (बारा) ले सभामुख सरोज यादव तत्कालीन राजपाबाट चुनाव जितेको र तत्कालीन राजपाको विरासत आफूहरु नै रहेका कारण उनी हाल लोसपामै रहेको दावी गरे ।

उनले भने, ‘सभामुख कुनै पार्टीको हुँदैन, उहाँ स्वतन्त्र हुनुहुन्छ तर उहाँ विगतको चुनाव राजपा (अहिलको लोसपा) बाट जित्नु भएकाले हाल पनि हामीसँगै हुनुहुन्छ भन्ने हामीलाई लागेको छ ।’  ​लोसपाबाट चुनाव जितेका बारा सिम्रौनगढ नगरपालिकाका मेयर किशोरी साह कलवार पनि सभामुख यादव लोसपामै रहेको बताउँछन् । यद्यपि आगामी चुनावमा उनी जसपाबाट उम्मेदवार बन्ने चर्चा भइरहेको कलवार बताउँछन् ।

जसपाका केन्द्रीय सदस्य एवं प्रदेशसभा सदस्य बिक्की यादवले सभामुख सरोज यादवले आगामी चुनाव जसपाबाट लड्ने दावी गरे । उनले भने, ‘केही दिनअघि सभामुखसँगै मेरो कुरा कुराकानी हुँदा उहाँले आफू जसपाबाट चुनाव लड्ने कुरा गर्नुभएको थियो तर चुनावसम्म के हुने हो, थाहा छैन ।’

२०६४ सालको संविधानसभा चुनावमा बारा क्षेत्र १ मा सद्भावना पार्टीबाट निर्वाचित भएका उनी दोस्रो संविधानसभा निर्वाचनमा पराजित भएका थिए । २०७४ को प्रदेशसभा चुनावमा बारा क्षेत्र नम्बर १ को (ख) बाट जितेका उनी फेरि सोही क्षेत्रबाट उम्मेदवार बन्ने लगभग निश्चित भए पनि लोसपा र जसपामध्ये कुन दलबाट उम्मेदवार बन्ने भन्ने निश्चित हुन बाँकी छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप