नागरिकता विधेयकबारे सांसद शर्मा : आफ्नै छोरीको चिन्ता छैन, विदेशी बुहारीको चिन्ता किन ?
सांसद विष्णु शर्माले विदेशी बुहारीलाई नागरिकता दिँदा निश्चित समयावधी राख्नुपर्नेमा जोड दिएकी छन् । बिहीबार प्रतिनिधिसभाको बैठकमा नागरिकता विधेयकमाथिको छलफल कार्यक्रममा भाग लिँदै उनले २२ महिना राज्य व्यवस्था समितिमा छलफल गरेको विधेयक किन लत्याइयो भन्दै प्रश्न गरिन् । राष्ट्रपतिले फिर्ता पठाएको विधेयकलाई हल्का फुल्का रुपमा नलिन सरकारलाई आग्रह गर्दै उनले विदेशी बुहारीलाई नागरिकता दिनुअघि परिचयपत्रको व्यवस्था गर्न आग्रह गरिन् ।
उनले भनिन्– ‘आफ्नै छोरीको हामीलाई चिन्ता छैन, विदेशबाट आउने बुहारीको यति धेरै चिन्ता किन ? हाम्रा छोरीले विदेशीसँग बिहे गर्दा भारतमा ७ वर्ष, अरु देशमा १२ वर्ष कुर्नुपर्ने तर अरु देशबाट बुहारीको रुपमा आउँदा तत्काल नागरिकता दिइहाल्नुपर्ने ? अरु देशलाई पनि हेरौँ, कुनै देश छैन विदेशीलाई नागरिकता दिन समयावधी नराखेको । त्यसकारण हाम्रो देशमा पनि समयावधी राखौँ ।’ उनले विदेशबाट विदेशबाट बिहे गरेर आउने बुहारीलाई तत्कालका लागि एउटा परिचय पत्रको व्यवस्था गर्न आग्रह गरिन् ।
उनले नागरिकताको विषयमा सांसदहरुमा दुई भागमा बाँडिदा तलका जनताले के भन्छन् भन्दै प्रश्न गरिन् ।