बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

दुई महिनापछि ‘ट्रान्सफर स्टेसन’को फोहोर व्यवस्थापन

बिहीबार, ०२ भदौ २०७९, १५ : २४
बिहीबार, ०२ भदौ २०७९

विगत दुई महिनादेखि टेकु ट्रान्सफर स्टेसनमा थुपारिएको फोहोर व्यवस्थापनको काम भएको छ । उक्त फोहोर व्यवस्थापनका लागि सहयोगी भेटेपछि काठमाडौँ महानगरपालिकाले आजबाट उक्त कार्य थालेको हो ।

सो स्थानमा लामो समयदेखिको फोहर रहेकाले सबै फोहर  अन्तिम व्यवस्थापनसम्म लैजानका लागि भने थप केही दिन लाग्ने कामपाले जनाएको छ । लामो समयदेखि काठमाडौँ उपत्यकाका १८ स्थानीय तहको फोहर अन्तिम व्यवस्थापनस्थलसम्म लैजान नपाएपछि महानगरले टेकुमा थुपारी प्लास्टिकले छोपेर राखेको थियो । 

पटक–पटक सिसडोल र बञ्चरेडाँडाका स्थानीयवासीले विभिन्न माग राखेर फोहर व्यवस्थापनमा अवरोध गरेपछि उपत्यकाको फोहर व्यवस्थापन हुन सकेको थिएन । फोहर व्यवस्थापनका सम्बन्धमा बुधबार काठमाडौँ, धादिङ र नुवाकोटका प्रमुख जिल्ला अधिकारी तथा सिसडोल र बञ्चरेडाँडाका स्थानीयवासीबीच भएको चार बुँदे सहमतिपछि आजदेखि साविक बमोजिम फोहोर व्यवस्थापन कार्य भएको हो ।  

काठमाडौँको फोहर बञ्चरेडाँडासम्म लैजानका लागि विभिन्न पेशा तथा व्यवसाय क्षेत्रले पनि सहयोग गरेका छन् । यस क्रममा आज नेपाल टिपर तथा ट्रक व्यवसायी समितिले पठाएका १८ टिपर फोहर बोकेर ल्याण्डफिल साइट पुगेका छन् । 

समानान्तर निर्माण सेवाले पनि पूर्ण निःशुल्क सेवा दिने गरी ३० वटा टिपर उपलब्ध गराएको छ । यी टिपर पनि बिहानै फोहोर बोकेर ल्याण्डफिल साइट पुगिसकेको महानगरको वातावरण विभागका प्रमुख सरिता राईले जानकारी दिइन् । नगर प्रमुख बालेन्द्र साहले फोहोर व्यवस्थापन कार्यलाई वातावरण र जनस्वास्थ्यमैत्री बनाउने प्रयासमा जोड दिए ।

मालबाहक टिपर व्यवसायीले सामाजिक जिम्मेवारी पूरा गर्ने क्रममा फोहोर ढुवानीमा सहयोग गर्ने निर्णय गरेको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका मालबाहकतर्फका उपाध्यक्ष यादवलाल श्रेष्ठले बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप