बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

कर्मचारी चार ,कार्यक्षेत्र पाँच जिल्ला !

बिहीबार, ०२ भदौ २०७९, १५ : १९
बिहीबार, ०२ भदौ २०७९

खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय तनहुँको कार्यक्षेत्र पाँच जिल्ला हो । कार्यालयलाई तनहुँसहित लमजुङ, गोरखा, मनाङ र नवलपुरको खाद्य÷दाना बजार तथा उद्योग अनुगमन, नमूना सङ्कलन मुद्दाको अनुसन्धानको जिम्मेवारी छ । 

व्यास नगरपालिका–३ शान्तिनगरस्थित भाडाको घरमा कार्यालय सञ्चालनमा छ । पाँच जिल्ला कार्यक्षेत्र भएको कार्यालयमा कर्मचारी सङ्ख्या भने जम्मा चार जना मात्रै छ । कार्यालयका एक खाद्य अनुसन्धान अधिकृत, दुई प्राविधिक सहायक र एक जना कार्यालय सहयोगी कार्यरत छन् । 

पाँच जिल्ला कार्यक्षेत्र भएको कार्यालयमा कर्मचारी कम हुँदा बजार अनुगमनलगायतका काममा समस्या हुँदै आएको खाद्य अनुसन्धान अधिकृत प्रशान्त पोखरेलले जानकारी दिए । कर्मचारी अभावकै बीचमा पनि कार्यालयले बजार अनुगमनलाई निरन्तरता दिइरहेको उनले बताए र । “कर्मचारी अभावले बजार अनुगमनमा असर पुगिरहेको छ”, उनले भने, “भइरहेकै कर्मचारीबाट बजार अनुगमन, नमूना सङ्कलन, मुद्दाको अनुसन्धानको काम भइरहेको छ ।”

कृषि तथा पशुपंक्षी विकास मन्त्रालय मातहतको कार्यालयले खाद्य ऐन तथा दाना ऐन कार्यान्वयनमार्फत खाद्य शृङ्खलामा खाद्य स्वच्छता कायम गरी सर्वसाधारणको जनताको सुख सुविधा कायम गर्ने उद्देश्य राखिएको छ । विसं २०७५ कात्तिक १५ गते जिल्लामा डिभिजन कार्यालय स्थापना भएको थियो । 

कार्यालयले आर्थिक वर्ष २०७८÷७९ को अवधिमा एक सय ७७ खाद्य ऐन बमोजिमका नमूना, ५९ वटा सर्भिलेन्सका लागि खाद्य नमूना र दाना ऐन बमोजिमका १३ वटा दाना पदार्थको नमूना सङ्कलन गरेको थियो ।  कार्यालयले सोही अवधिमा एक सय २० वटा खाद्य उद्योगको निरीक्षण, २८ पटक अन्य निकायसँग संयुक्तरुपमा बजार अनुगमन, पाँच पटक हाटबजार मेला अनुगमन गरेको पोखरेलले जानकारी दिए ।

त्यस्तै एकसय ९० भन्दाबढी खाद्य पसल र एक सय १९ वटा विभिन्न स्तरका होटल, रेष्टुराँ, मिठाइ पसल, भोजनालय निरीक्षण गरिएको छ । अनुगमनका क्रममा २४ पसलमा देखिएका रु ४३ हजार पर्ने म्याद गुज्रिएका खाद्यवस्तु नष्ट गरिएको थियो । चार पटक चार ठाउँमा खाद्य उद्योगीसँग खाद्य स्वच्छता र गुणस्तरसम्बन्धी गोष्ठी गरिएको कार्यालयले जनाएको छ । दुई पटक स्थानीय तहका जनप्रतिनिधि तथा सरोकारवालासँग खाद्य स्वच्छता र गुणस्तरसम्बन्धी अन्तक्र्रिया र दुई पटक सडक छेउछाउ बिक्री हुने खाद्य पदार्थको स्वच्छता अभिवृद्धि गर्ने कार्यक्रम गरिएको जनाइएको छ । 

कार्यालयले सोही अवधिमा अनुज्ञापत्र जारी÷नवीकरण र विश्लेषण शुल्क बापत रु एक लाख ५४ हजार नौ सय राजस्व सङ्कलन गरेको छ । खाद्य मुद्दा सम्बन्धमा सात वटा मुद्दा दायर भएकामा चार वटा मुद्दाको प्रारम्भिक अनुसन्धान कार्य सम्पन्न गरी सम्बन्धित निकायमा सक्कल मिसिल पठाइएको पोखरेलले बताए ।

त्यस्तै एक सय ७७ खाद्य नमुनामध्ये १६ वटा नमूना खाद्य ऐनको प्रतिकूल रहेको पाइएको छ भने १३ मध्ये दुई दाना पदार्थको नमूना ऐन विपरीत रहेको पाइएको छ ।  कार्यालयले उक्त अवधिमा दूध तथा दूध पदार्थका छ, तेल तथा घिउजन्यका ३३, फल तथा सागपातका २६, मसलाका १४, चिया कफीका १४, नुनका दुई, खाद्यान्न, दलहन र सोबाट बनेका खाद्यका ४४, प्रशोधित पिउने पानीको १०, गुलियो पदार्थका १२, कन्फेक्सनरीका एक, मासु तथा मासुजन्यका एक, दानाका १३ र अन्य १३ नमूना सङ्कलन गरेको थियो ।

कार्यालयले चाडपर्वका बेलामात्र नभई अन्य समयमा पनि नियमितरुपमा बजार अनुगमन गर्दै आएको पोखरेलले बताए । “अनुगमनका क्रममा कार्यालयले खाद्यान्नका केही नमूना पनि सङ्कलन गर्छौं, सङ्कलित नमूना परीक्षणका लागि भैरहवा पठाउने गरेका हौँ”, उनले भने ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप