मङ्गलबार, ०२ पुस २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

मलङ्गवामा सुविधा सम्पन्न बसपार्क तयार

बिहीबार, ०२ भदौ २०७९, १२ : ५५
बिहीबार, ०२ भदौ २०७९

मलङ्गवा नगरपालिका–२ मा करिब रु ६ करोडको लागतमा सुविधा सम्पन्न नयाँ बसपार्क निर्माण भएको छ । सहरी विकास तथा भवन निर्माण विभाग जनकपुरधाम मार्फत तयार भएको सो बसपार्क चाँडै नै सञ्चालनमा आउने सर्लाहीका प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमले बताए ।

हाल मलङ्गवा–९ स्थित पुरानो बसपार्कबाट बस सञ्चालन हुँदै आएको छ । टर्मिनल भवनसहित निर्माण गरिएको उक्त नयाँ बसपार्क सञ्चालनका लागि जिल्ला प्रहरी कार्यालय, जिल्ला ट्राफिक प्रहरी कार्यालय सर्लाही, मलङ्गवा नगरपालिका र मलङ्गवा यातायात सेवा प्रालिसँग आवश्यक समन्वय भइरहेको जनाइएको छ । 

जिल्ला सदरमुकाम मलङ्गवामा सुविधा सम्पन्न बसपार्क नहुँदा सवारीसाधन व्यवस्थापनमा समस्या देखिएको थियो । जनसागर बजार (श्रीमती कृष्णादेवी जनता माविको छेउ) मा रहेको पुरानै बसपार्कमा यात्रुबाहक सवारीसाधन पार्किङ गरी त्यहीँबाट सञ्चालन हुँदा सवारी व्यवस्थापनमा समस्या हुनुका साथै दुर्घटनाको जोखिमसमेत बढेको जिल्ला ट्राफिक प्रहरी कार्यालय प्रमुख प्रहरी निरीक्षक ईश्वर कार्कीले जानकारी दिए ।

उनले भने, “हाल सञ्चालनमा रहेको पुरानै बसपार्क एकदमै साँघुरो रहेको छ । सवारीसाधनको चाप बढेकाले बसपार्क अगाडिको मुख्य सडकमै सवारीसाधन पार्किङ गरेर राखिएको छ । यसबाट दुर्घटनाको जोखिम बढ्नुका साथै साँघुरो बसपार्कका कारण सवारीसाधनलाई आवतजावतमा समेत समस्या देखिएको छ ।”

मलङ्गवा यातायात सेवा प्रालिका अध्यक्ष राजीव यादवले नयाँ बसपार्क मुख्य बजारभन्दा टाढा  रहेको र त्यहाँ जाँदा साना सवारीसाधनले पुरानो बसपार्क अगाडिबाटै यात्रु उठाएर लैजाने चिन्तामा नयाँ बसपार्कमा बस जान तयार नभएको बताए ।

ठेकेदारले नगरपालिकालाई बसपार्क हस्तान्तरण गर्न बाँकी नै रहेको मलङ्गवा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत होमनाथ सुवेदीले बताए । उनले राज्यको करोडौँ रकम खर्च गरेर बनाइएको सुविधा सम्पन्न बसपार्क हस्तान्तरण भएर सञ्चालनमा आएपछि बस व्यवसायीले बस पार्कमा बस लैजान्न भन्न नपाउने बताए । 

मलङ्गवा नगर नगर प्रमुख नागेन्द्रप्रसाद यादवले नयाँ बसपार्क सञ्चालनका लागि बस व्यवसायीसँग  चाँडै छलफल हुन लागेको बताए  । मलङ्गवाबाट लामो तथा छोटो दूरीका गरी करिब ९०  बस दैनिक अन्यत्र लागि छुट्ने गर्दछन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप