छाडा पशु चौपाया व्यवस्थापन चुनौतीपूर्ण बन्दै

person explore access_timeभदौ २, २०७९ chat_bubble_outline0

धनगढी उपमहानगरपालिका–७ को देवहरिया वन क्षेत्रको बीच भागमा बनाइएको काँडे तारबारको घेराभित्रको गौशालामा  झण्डै चार सय छाडा गाई, बाच्छाबाच्छी र गोरु राखिएका छन् ।  
  
भूइँमा धुलोमाटो र गोबरमलमूत्र रहेको खोरसँगै जोडिएको टिनको छाप्रो मुनि घाँसपात र उचित स्याहार नपाएर मर्ने अवस्थामा ती चौपाया पुगेका जनाइएको छ । धनगढी उपमहानगरपालिका र मारवाडी सेवा समितिले संयुक्त रुपमा सो गौशाला बनाएका हुन् ।  सो गौशालामा चौपायालाई नियमितरुपमा घाँस पातको व्यवस्थापन गर्न समस्या परेको जनाइएको छ ।  


गौशालाका हेरालु पृथ्वी रानाले पशुचौपायाका लागि चाहिने पर्याप्त घाँसपात र दानापानी जुटाउन नसक्दा धेरै मर्ने गरेको जानकारी दिए । उनले भने, “पोसिलो खाना नपाउँदा ब्याउने भएको दुई तीन महिनाभित्रै केही गाई मर्ने गरेका छन्, भर्खर जन्मिएका बाच्छासमेत मरिरहेका छन् ।”
 
सो उपमहानगरपालिकाले वर्षमा एकपटक गहुँको भुसा र पराल किनेर गौशालामा उपलब्ध गराउने गरे पनि यसले खोरमा रहेका सबै पशुलाई पर्याप्त नभएको बताइएको छ । देवहरिया वनस्पति उद्यानले ओगटेको जङ्गलमा रहेको गौशालाका पशुचौपायाका लागि चरनका रुपमा जङ्गल प्रयोग गर्दा उद्यानका रुख बुट्यान मासिन थालेका छन् । 
  
गौशाला बनाएर छाडा पशु चौपायाको व्यवस्थापन गर्नका लागि छ महिनाका लागि उपमहानगरपालिका र वनस्पति कार्यालयबीच समझदारी भएको थियो । सम्झौता सकिएको लामो समय भइसकेको भए पनि उपमहानगरपालिकाले कुनै चासो नदिएको वनस्पति अनुसन्धान केन्द्र धनगढीका प्रमुख गङ्गादत्त भट्टले बताए । 
   
“छाडा पशु चौपायाको व्यवस्थापनका लागि छ महिनाका लागि उद्यानको वनक्षेत्र प्रयोग गर्न दिइएको थियो”, उनले भने, “त्यसपछिको समयमा उपमहानगरपालिकाले कुनै राखेको छैन ।” सामुदायिक छाडा पशु व्यवस्थापनसम्बन्धी कार्यमा चुनौती देखिँदा छाडा चौपायाले निम्त्याउने समस्या पनि पछिल्ला वर्षमा बढ्दै गएको छ । 
 
गाईले दूध दिन छाडेपछि पाल्न नसक्ने बहाना बनाइ गाईसहित गोरु बाच्छाबाच्छी छाडा छोडिदिने प्रवृत्ति नरोकिँदा छाडा चौपाया व्यवस्थापन चुनौतीपूर्ण बनेको हो । यसरी छोडिने चौपायाले बालीनाली खाएर नष्ट पार्दा पुग्ने क्षतिबाट किसानमा हैरानी छ । कैलाली र कञ्चनपुर जिल्लामा छाडा पशु चौपायाको समस्या बढी छ । 
   
छाडा चौपायाबाट आआफ्नो बाली जोगाउन रातभर नसुतेरै जाग्राम बस्नुपर्ने बाध्यता रहेको किसानको भनाइ छ । “पशु चौपाया छाडा छोडिँदा बाली जोगाउन मुश्किल भइसक्यो”, स्थानीय किसान जनक भट्टले भने, “लक्ष्मीका रुपमा पूजा गरिने गाईलाई हामी हिन्दूहरुमा छाडा छोडिएका गाईको अवस्था देख्दा पीडाबोध हुनुपर्ने हो ।”
 
गाईको मलमूत्र धार्मिक संस्कारसम्बन्धी कार्यमा प्रयोग हुने मात्र नभई मलमूत्र प्रयोग गरेर जैविकबाली उत्पादन गर्न सकिने भएको गाईलाई छाडा छोडेर लापर्वाही गर्न नहुने उनी  बताउछन् । 
  
कतिपय स्थानीय पालिका र सङ्घसंस्थाको पहलमा गौशालाको निर्माणसहित यस्ता पशु चौपायाको व्यवस्थापन गर्ने गरिएको पनि यो समस्या सोचेअनुसार न्यूनीकरण हुन सकेको छैन । स्थानीय सीताराम राना जति प्रयास गरे पनि यो समस्या समाधान गर्न मुश्किल भइरहेको बताउछन् ।
  
नगरक्षेत्र बाहिरबाट चौपाया ल्याएर बजारमा छोडिदिने प्रवृत्ति नरोकिँदा छाडा पशु चौपायाको समस्या समाधान हुन नसकिरहेको उनले बताए । धनगढी उपमहानगरपालिकाको पहलमा छाडा पशु चौपायालाई बझाङ जिल्लाका गरिब तथा विपन्न परिवारलाई निःशुल्करुपमा उपलब्ध गराएर व्यवस्थापन गरिने प्रयास भए पनि त्यो काम सफल हुन सकेको थिएन ।      
   
    





कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।