मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

बेलौरी नगरपालिकामा भारतीय पक्षबाट सीमा अतिक्रमण

लालपुर्जा भएको एक बिगाहा १५ कठ्ठा जमिनमा खनजोत गर्न रोक
बिहीबार, ०२ भदौ २०७९, ११ : ४४
बिहीबार, ०२ भदौ २०७९

टंक कुँवर

कञ्चनपुरको बेलौरी नगरपालिका–१० मा भारतीय सीमा सुरक्षा बल ‘एसएसबी’ले नेपाली भूमि कब्जा गरेको छ । अन्तरदेशीय सीमाको पिल्लर नम्बर ३५ र ३६ को बीच भागमा रहेको नेपाली लालपुर्जासमेत भएको करिब एक बिगाह १५ कठ्ठा जमिन एसएसबीले कब्जा गरेको हो ।

भारतीय पक्षले कित्ता नम्बर ३३६ को १० कठ्ठा, ३३८ र ३४९ को ११ कठ्ठा, ७२५, ७२३, ७२०, ७१८, ७१६ को ४ कठ्ठा, ८१४ को ८ कठ्ठा र ६०४ कित्ता नम्बरको २ कठ्ठा जमिन कब्जा गरेको हो । सो जमिनको लालपुर्जा २०५५ सालमा जारी भएको बेलौरी नगरपालिका–१० का वडा अध्यक्ष सोमलाल चौधरीले जानकारी दिए ।

भारतीयले पिल्लरभन्दा अलि पर सानो बाटोको भागलाई आफ्नो जमिन मान्दै आएकोमा एक वर्ष यता २०५२ मा  महाकाली सिंचाई आयोजनाले निर्माण गरेको ‘टर्सरी’लाई आधार मानेर नेपाली भूमि नै कब्जा गरेको उनले बताए । एसएसबीले नेपाली भूमिमै आफ्नो पोस्ट निर्माण गरेको उनको भनाइ छ ।

‘जमिन जोत्न जाँदा भारतीय पक्षले दुई देशबीच कुरा भइरहेको छ, सहमति हुनासाथ भोगचलन गर्ने पाउने भन्दै आएको छ,’ उनले भने, ‘कब्जा गरिएको सो जमिनमा नेपाली पक्षलाई जान समेत दिँदैन, त्यहाँ गएमा उनीहरुले कुटेर पठाउने गरेका छन् ।’

बेलौरी–१० मा बस्दै आएका हरिदास चौधरीको कित्ता नम्बर ३३६ को १० कठ्ठा जमिन भारतीयले  कब्जा गरेपछि उनी सुकुमवासी भएका छन् । ‘जसोतसो गरी आफ्नो १० कठ्ठा जमिनमा खनजोत गरेर वर्षभरि जोहो हुने अनाज फलाउँथेँ,’ उनले रातोपाटीसँग भने, ‘त्यही जमिन एक वर्षदेखि भारतीयले कब्जा गरेपछि के खाने, कसो गर्ने भन्ने चिन्ताले सताउन थालेको छ ।’

लालपुर्जा २०५५ मा पाए पनि सो जमिन २०३४÷३५ बाटै भोगचलन गर्दै आएको उनको भनाइ छ । ‘भारतीयले २०७८ को धानबालीसम्म खान दिए, त्यसपछि त यो जमिन हाम्रो भइसक्यो भन्दै खनजोत गर्न रोक लगाएका छन्,’ उनले भने ।

सो जमिनबाट आफूले वार्षिक ३ क्वीन्टल मसुरो, २० क्वीन्टल धान, १० क्वीन्टल गहुँ फलाउँदै आएको उनले सुनाए । यति उब्जनी हुँदा जसोतसो ५ जनाको परिवारले गुजारा चलाउँदै आएकोमा जमिन नै गुमेपछि जीविकोपार्जनमै समस्या भएको उनको भनाइ छ ।

उनले आफूहरुको जमिन फिर्ता ल्याउन सरकारीस्तरबाट कुनै पहल नभएको गुनासो समेत गरे । ‘सीमा क्षेत्रमा भारतीय सुरक्षाकर्मी दिनरात गस्ती गर्छन्,’ उनले भने, ‘तर नेपाली सुरक्षाकर्मी भने गाउँमा डुल्छन्, सीमा अतिक्रमण रोक्न कसैले पहल गरेको छैन ।’

यसैगरी भारतीयले हस्तक्षेप गर्दै जाने हो र नेपाली निकाय मुकदर्शक भएर बसिरहने हो भने केही वर्षमै यो क्षेत्रका कयौं बिगाहा जमिन भारतले अतिक्रमण गर्ने उनको भनाइ छ ।

वडा नम्बर १० का बुझौना डगौरको पनि ४  कठ्ठा जमिन अतिक्रमण भएको छ । ‘खनजोत गर्न जाउँ भने कुटेर पठाउँछन्,’ उनले भने, ‘हातमा लालपुर्जा छ तर जग्गा भोगचलन गर्न पाइएको छैन ।’

आफ्नो जमिन नजिकै एसएसबीले क्याम्प बनाएको उनले बताए ।​ नरिलाल चौधरी, बेफन चौधरीको जमिन पनि अतिक्रमणमा परेको छ ।

हुलाकी सडक निर्माणमा पनि अवरोध

बेलौरी नगरपालिका–८ पचुईमा पर्ने १२ सय मिटर हुलाकी राजमार्गमा पनि भारतीय पक्षले अवरोध गर्दै आएको छ ।

एसएसबीले हुलाकी सडकको १२ सय मिटर खण्डमा आफ्नो दाबी गरेको छ । २०७७ सालदेखि नै सो क्षेत्रमा भारतीय पक्षले दाबी गर्दै आएको बेलौरी– ८ का वडाअध्यक्ष बिषराम रानाले रातोपाटीलाई जानकारी दिए

।२०७४ मा ग्राभेल पानी पिच गरी २०७७ मा सडक कालोपत्रे गर्न लाग्दा भारतीय पक्षले अवरोध गरेको उनले बताए । भारतीय पक्षको अवरोधपछि दुई पक्षबीच २०७८ सालमा बेलौरीको पचुईमा रहेको ३८ नम्बर पिल्लरको भूभागबारे छलफल भए पनि कुनै निष्कर्ष ननिस्किएको उनले बताए ।​

३८ नम्बर पिल्लर क्षेत्रभित्र पर्ने नेपालको सुकिया नदी पनि भारतीयले कब्जा गर्दै आएको उनको भनाइ छ । संघर्ष समितिका अध्यक्ष पल्लबराज भट्टले २०५९÷६० मा दुवै देशको सर्भे टोलीले नापी गरेको नक्सा कार्यान्वयन नहुँदासम्म कसैले कसैको भूमि दाबी गर्न नपाउने बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

टंक कुँवर
टंक कुँवर
लेखकबाट थप