शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

कमला नदीको तटबन्धले बस्ती सुरक्षित

बिहीबार, ०२ भदौ २०७९, ११ : ४२
बिहीबार, ०२ भदौ २०७९

कमला नदी नियन्त्रणका लागि तटबन्ध निर्माण भएपछि बस्ती सुरक्षित भएको छ । नेपाली पक्षको निरन्तरको दबाब र पहल पश्चात् भारतीय पक्षले कमला नदी स्थित आफ्नो भूमिमा तटबन्ध निर्माण गरेपछि धनुषाको जनकनन्दनी गाउँपालिका स्थित इनरुवा बजार तथा मल्हनियाँ लगायतका बस्ती सुरक्षित भएको हो । 

नेपाल सरकारले नेपालतर्फको भूमिमा धेरै अघि नै तटबन्ध निर्माण गरे पनि भारतीय पक्षले आफ्नो करिब छ सय मिटर क्षेत्रफलमा तटबन्ध निर्माण नगर्दा बर्सेनि नेपाली बस्ती डुबानमा पर्दै आएको थियो तर यस वर्ष भारतीय पक्षले आफ्नो भूमिमा तटबन्ध निर्माण गरेपछि धनुषाको इनरुवा बजार, मल्हनियाँलगायतका बस्ती र जयनगर–कुर्था रेल्वे मार्गसमेत सुरक्षित भएको स्थानीयवासी मनोज यादवले बताए ।

नेपाली पक्षको दबाब र प्रयासमा भारतीय पक्षले आफ्नो भूमिमा तटबन्ध बनाएको कमला नदी नियन्त्रण आयोजना जनकपुरधामका प्रमुख विष्णुदेव यादवले बताए । “हामीले भारतीय पक्षलाई ठाउँमा तटबन्ध बनाउन आग्रह गर्दै आएका थियौँ”, उनले भने । उक्त ठाउँमा तटबन्ध नहुँदा नेपाली बस्ती मात्रै डुबानको चपेटामा थियो ।  

भारतीय पक्षले बनाएको तटबन्धका कारण नेपाली भूमि मात्र सुरक्षित भएको छैन, यातायात सञ्चालन गर्नसमेत सहज भएको स्थानीयले बताएका छन् । पूर्वपश्चिम राजमार्गको पोर्ताहादेखि भारतीय सीमावर्ती क्षेत्रसम्म करिब ३५ किलोमिटरको सो तटबन्धबाट दैनिक सयौँको सङ्ख्यामा दुई पाङ्ग्रे र चार पाङ्ग्रे सवारी साधन भारतीय बजारबाट ओहोरदोहोर गरिरहेका छन् ।  

यस्तै कमला नदी नियन्त्रणका लागि तटबन्ध निर्माण भएपछि धनुषा र सिरहाको करिब दुई दर्जनभन्दा बढी गाउँ बस्ती डुबान र कटानबाट सुरक्षित भएका छन् । धनुषा र सिरहाको सिमानामा पर्ने कमला नदीमा आउने बाढीका कारण बर्सेनि डुबान र कटानको समस्या खेप्दै नदी आसपासको गाउँ बस्ती तटबन्ध निर्माणसँगै सुरक्षित भएका हुन् । तटबन्ध निर्माणसँगै धनुषाको गणेशमान चारनाथ नगरपालिका, सबेला नगरपालिका, शहिदनगर नगरपालिका, कमला नगरपालिका र जनकनन्दनी गाउँपालिका तथा सिरहाको कर्जन्हा नगरपालिका, कल्याणपुर नगरपालिका र सिरहा नगरपालिकाको विभिन्न वडाका गाउँ सुरक्षित भएको स्थानीयले बताएका छन् । 

बस्ती संरक्षण तथा कटानमा परेका जग्गा उकासका लागि कमला नदी नियन्त्रण आयोजना जनकपुरधामले कमला नदीमा तटबन्ध निर्माण गरेपछि बस्ती मात्र सुरक्षित भएको छैन, ठूलो क्षेत्रफलमा जग्गा नदी उकाससमेत भएको छ । बस्ती सुरक्षित बनाउन कमला खोलामा माटो, चपरी तथा ढुङ्गा हालेर तटबन्ध निर्माण गरेपछि धनुषा र सिरहाको करिब २६ हजार आठ सय ८७ घरधुरी लाभान्वित भएको आयोजना प्रमुख यादवले जानकारी दिए । 

कमला नदीमा ६८ दशमलव २५ किलोमिटर तटबन्ध बनाउँदा दुवैतर्फ करिब दुई हजार पाँच सय हेक्टर जग्गा उकास भएको छ भने ५० हजार हेक्टर खेतीयोग्य जग्गा सुरक्षित भएको छ । एक लाख ४५ हजार छ सय ५३ जना प्रत्यक्ष लाभान्वित भएका प्रमुख यादवले बताए । तटबन्ध निर्माणसँगै नदी कटान तथा डुबानबाट सुरक्षित भएको अनुभूति गर्दै स्थानीयले उकास भएका जग्गामा धमाधम खेतीपातीका साथै घेरवार गरी नर्सरी बनाउन थालेका छन् ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप