अन्तर्वार्ता

नेपालको जुनसुकै कुनामा गएर सिभिल इन्जिनियरिङ पढाउन सक्छु : प्रचण्डमान प्रधान

person explore access_timeभदौ २, २०७९ chat_bubble_outline0

नेपालमा सिभिल इन्जिनियरिङ क्षेत्रमा धेरै ठूलो योगदान गर्ने व्यक्ति हुन् प्रचण्डमान प्रधान । उनी अहिले प्रदेश १ को मनमोहन प्राविधिक विश्वविद्यालयको डिनका रुपमा कार्यरत छन् । भारतको चण्डीगढ पञ्जाव इन्जिनियरिङ कलेजबाट २०४८ सालमा बीइ सिभिल इन्जिनियरिङ पास गरेका उनले पुल्चोक क्याम्पसबाट स्ट्रक्चरल इन्जिनियरिङमा मास्टर्स गर्दै २०७१ सालमा पीएचडी गरे ।


उनलाई भूकम्प प्रतिरोधी संरचना निर्माणको विज्ञ मानिन्छ । अहिलेसम्म इन्जिनियरिङ क्षेत्रमा स्वदेशमा मात्रै २४ सय बढी नेपाली विद्यार्थी उत्पादन गरेको उनी दाबी गर्छन् । उनले चीन, रोमानिया र भारतलगायतका दर्जनौं युनिभर्सिटीमा भिजिटिङ प्रोफेसरको रुपमा अध्यापन गरिसकेका छन् ।



ख्वप इन्जिनियरिङ कलेजको संस्थापकसमेत रहेका उनी त्यहाँ सिभिल इन्जिनियरिङ विभागको प्रमुख पनि भए । त्यहाँ सिभिल इन्जिनियरिङ सुरु गरेसँगै आर्किटेक्ट, कम्प्युटर इन्जिनियरिङ, इलेक्ट्रिकल पनि सुरु गरे । नेपालमा पहिलो भूकम्प प्रविधि पढाउन सुरु गर्ने पनि उनै प्रचण्डमान हुन् ।



उनको नेतृत्वमा काठमाडौं विश्वविद्यालयमा २००९ फेब्रुअरीमा सिभिल इन्जिनियरिङ, २०१५ मा मास्टर्समा स्ट्रक्चरल इन्जिनियरिङ, २०१७ मा आर्किटेक्चर सुरु भयो । २०१९ मा साइन्स एण्ड टेक्नोलोजी भन्ने प्रोग्राम पनि मास्टर्समा सुरु भयो । यो सबै उनकै नेतृत्वमा भएको हो । उनी भन्छन्, ‘इन्जिनियरिङलाई सुरु गर्ने मेरो बानी नै प¥यो ।’ प्रस्तुत छ, उनै प्रधानसँग रातोपाटी सम्वाददाता अर्जुन आचार्यले गरेको कुराकानी -

तपाइँ काठमाडौं विश्वविद्यालय छोडेर किन मनमोहन प्राविधिक विश्वविद्यालयमा आउनु भयो ?

मेरो जिम्मेवारी भनेको खास काठमाडौं विश्वविद्यालय नै हो । म यहाँ आएको ४ वर्षका लागि हो । एक वर्ष बितिसकेको छ । मेरो विचित्रको अनुभव छ । म ख्वप इन्जिनियरिङ कलेजको फाउन्डर हुँ । त्यहाँ सिभिल इन्जिनियरिङ विभागको प्रमुख पनि म थिएँ । त्यहाँ सिभिल इन्जिनियरिङ सुरु गरेसँगै आर्किटेक्ट, कम्प्युटर इन्जिनियरिङ, इलेकन्ट्रिकल पनि सुरु गर्न सहयोग गरेँ । सिभिल इन्जिनियरिङ सुरु गरेपछि मलाई नेपालमै विद्यार्थीलाई इन्जिनियर बनाउन सकिने रहेछजस्तो लाग्यो । हामीले त भारतमा पढेका हौं । ख्वपमा मैले सन् २००१ देखि २००८ सम्म पढाएको हुँ । नेपालमा पहिलो भूकम्प प्रविधि पढाउन सुरु गर्ने मानिस पनि मै हुँ ।

काठमाडौं विश्वविद्यालयमा त्यतिखेर सिभिल इन्जिनियरिङ थिएन । त्यसबेला काठमाडौं विश्वविद्यालयको तत्कालीन डिनले मलाई हाम्रोमा सिभिल इन्जिनियरिङ सुरु गर्नुप¥यो, तपाइँ आउनु प-यो भनेर रिक्वेस्ट आयो । त्यतिखेल म पीएचडी गर्न बाहिर जान लागेको थिएँ । तर, उहाँहरुले यहीँबाट गराउँछौं भनेपछि म काठमाडौं विश्वविद्यालय गएँ । त्यहाँबाट पीएचडी गर्दै काठमाडौं विश्वविद्यालयमा २००९ फेब्रुअरीमा सिभिल इन्जिनियरिङ सुरु गरियो । त्यसपछि २०१५ मा मास्टर्समा स्ट्रक्चरल इन्जिनियरिङ सुरु भयो, २०१७ मा आर्किटेक्चर सुरु भयो । २०१९ मा साइन्स एण्ड टेक्नोलोजी भन्ने प्रोग्राम पनि मास्टर्समा सुरु भयो ।​

होइन, मनमोहन प्राविधिक विश्वविद्यालयमै चाहिँ किन आउनु भयो भन्ने प्रश्न नि ?

त्यसपछि मलाई कस्तो भयो भने इन्जिनियरिङलाई सुरु गर्ने मेरो बानी नै प-यो । जहाँ गएर पनि गर्न सक्छु भन्ने आँट आयो । त्यसपछि यहाँको भीसी सरले पनि मलाई मनमोहन प्राविधिक विश्वविद्यालयमा आउन अनुरोध गर्नुभयो । त्यसपछि म आएको हुँ । मलाई खुसीचाहिँ के लाग्छ भने आफ्नै देशमा बसेर आफ्नै देशका विद्यार्थीलाई इन्जिनियर बनाउन सक्छु भन्ने कुरामा विश्वास छ । त्यसमा मलाई धेरै गर्व छ । अब नेपालको जुनसुकै कुनामा गएर पनि यो काम गर्न म सक्छु ।

कतिपयले विराटनगरजस्तो गर्मी ठाउँमा किन गएको भन्छन् । तर, म धेरै देशमा अनुसन्धान गर्न, पढाउनका लागि पनि ८/९ वटा देशमा म गइसकेँ । जहाँ गए पनि गर्मी ठाउँमा म गएँ । म चाइनामा जाँदा हुवान भन्ने ठाउँमा धेरै गर्मी थियो । त्यहाँ पनि बसेर आएँ । त्यसपछि विराटनगरमात्रै गर्मी ठाउँ होइन, काम गर्ने पो हो त, गर्मीलाई त एसी चलाएर पनि चिसो वातावरण बनाउन सकिन्छ । शिक्षकलाई मात्रै होइन, भोलि विद्यार्थीलाई पनि कुलर, पंखा वा एसी राखेर भए पनि वातावरण बनाउँला । त्यो उद्देश्य राखेर म यहाँ आएको हुँ । म स्थायी ढंगले यहाँ आएको चाहिँ होइन ।

मनमोहनमा इन्जिनियरिङ सुरु गर्नुभएको छ । पहिलो वर्ष कस्तो रह्यो ?

पहिलो ब्याच सुरु अलिक ढिलो भयो । अन्य युनिभर्सिटीमा पठनपाठन सुरु भइसकेको थियो । नेपाल इन्जिनियरिङ काउन्सिलबाट स्वीकृति पनि हाम्रोमा ढिलो भयो । त्यसैले अधिकांश विद्यार्थी अन्य युनिभर्सिटीमा गइसकेका थिए । हामीले फागुनमा मात्रै स्वीकृति पायौं । त्यही कारणले हामीले ढिलो सुरु गर्नुप-यो ।

अहिलेचाहिँ विशेष गरेर विद्यार्थीहरुको सिभिल इन्जिनियरिङतिर बढी आकर्षण देखिन्छ । इलेक्ट्रोनिकमा समय कम भएर विद्यार्थीहरु आउन सकेनन् । हामीलाई ४८/४८ सिट कोटा छुट्याएर दिइएको थियो । पहिलो पटक भनेर २४/२४ सिटमा मात्रै हामीले भर्ना लियौं ।

यसपटक चाहिँ हामी दुवै कोटामा फूल विद्यार्थी लिन सक्छौं । किनकि यस पटक हामी तयारी अवस्थामा छौं । पहिलो ब्याचमा पनि सिभिल इन्जिनियरिङमा २४ जना विद्यार्थीले अध्ययन गरेका छन् भने इलेक्ट्रिकल, इलेक्ट्रोनिकमा भने १० जना विद्यार्थीले पठन पाठन गरिरहेका छन् ।

प्रतिस्पर्धाको अवस्थामा अबको ब्याचमा चाहिँ कोटा पूरा होला त ?

अब ०७९/८० को ब्याच सुरु हुन्छ । अब १२ पास हुने समय भएको छ । नेपालका विद्यार्थीहरुलाई हामीले लिन सकेनौं भने विदेश जाने अवस्था छ । यो सबैलाई कन्ट्रोल गर्नका अलावा हामीले हाम्रो टेक्निकल स्टे«न्थ हाम्रै देशमा पनि छ र गर्न सक्छौं भन्ने खालको देखाउनु पर्ने छ । इन्टरनेशनल रुपमा इन्जिनियरिङ क्षेत्रमा जे जस्तो अवस्था छ, हामी पनि त्यही गर्न सक्छौं भन्ने भइसकेको छ । त्यसो भएको हुनाले हाम्रो विद्यार्थीलाई आफ्नै ठाउँमा, आफ्नै मुलुकमा बसेर पढ्दा सजिलो हुन्छ । विदेशमा पढ्दा दुःखसँगसँगै खर्च पनि बढी हुन्छ ।​

मनमोहन प्राविधिक विश्वविद्यालयलाई नेपालकै पहिलो प्राविधिक विश्वविद्यालय भन्नुहुन्छ । कसरी पहिलो भयो ?

हामीले पहिलो प्राविधिक विश्वविद्यालय भनेर गर्व गर्नुको मूल कारण भनेको यहाँ प्राक्टिकल विषयमा बढी फोकस हुन्छ । अन्य युनिभर्सिटीमा चाहिँ प्राक्टिकल थोरै हुन्छ र सैद्धान्तिक बढी हुन्छ । उनीहरुले ७५ प्रतिशत सैद्धान्तिक र २५ प्रतिशत प्राक्टिकल गराउँछन् । हाम्रोमा चाहिँ ५०/५० प्रतिशत हुन्छ ।

इन्जिनियरिङ जस्तो विषय पास गरेर जाने बित्तिकै काम गर्न सक्नुपर्ने हुनुपर्ने हो । तर, उद्योगीहरुले अन्य युनिभर्सिटीबाट पढाइ सकेर काममा गएपछि तपाईहरुको छात्र/छात्रालाई फेरि ट्रेनिङ दिनुपर्ने रहेछ भन्ने खालको गुनासो गर्ने गरेका छन् । युनिभर्सिटीबाट पढेर गएपछि सबै जान्ने भन्ने त हुँदैन । तर, बेसिक जान्नुपर्ने हुन्छ । टेक्निकल युनिभर्सिटीले फरक के गर्छ भने त्यो प्राक्टिकल गर्ने कुरामा जुनसुकै काम गरेर देखाउन सक्ने क्षमता विकास गरेको हुन्छ । हामीले त्यही गरेका छौं । त्यो गर्दा युनिभर्सिटीमा मसिनरिजहरु, ल्याबहरु स्ट्रोङ्ग चाहिन्छ ।

यहाँहरुले पनि थाहा पाउनु भएको होला, अधिकांश युनिभर्सिटीमा प्रोफेसरले बनाएर देखाउने र विद्यार्थीले हेर्ने अवस्था छ । हामीले त्यस्तो गर्नुहुन्न भनेर प्रत्येक विद्यार्थी आफैले आफ्नै हातले बनाउने र चलाउन जान्ने हुनुपर्छ भनेर नै प्रशस्त ल्याब बनाइएको छ ।

हाम्रो ल्याबमा नयाँनयाँ सामान छन् । पहिलो वर्षमा साइन्सको कोर्ष छ । त्यसपछि दोस्रो वर्ष र तेस्रो वर्षको अन्त्यसम्ममा प्राक्टिकल्ली इन्जिनियरिङलाई कसरी बुझ्छन् भनेर देखाउन सकिन्छ । कुनै पनि कुरा पढ्ने, लेख्ने, सुन्ने र गर्ने कुरामा फरक हुन्छ । यहाँचाहिँ गरेर देखाउने हुन्छ । शिक्षकहरुले पनि आफ्नो विद्यार्थीलाई काम सिकाउँदा इन्फर्मेसन पूरा दिन सकोस् भन्ने खालको छ । जसले गर्दा कुन सामान कहाँ प्रयोग गर्ने भन्ने कुराको पूरा ज्ञान हुन्छ ।​

पाठ्यक्रम नयाँ बनेको हो कि पुरानै हो ?

पाठ्यक्रम नेपालका एकदमै अनुभवी र पुराना प्रोफेसरहरुले बनाएका छन् । हामीले पाठ्यक्रम बनाउँदा नै हामीले एकैचोटी परिमार्जन हुन सक्दैन । परिमार्जन गर्न सजिलो हुँदैन । त्यसो भएकाले हामीले अहिले नै राम्रोसँग सोचौं भनेर नयाँ पाठ्यक्रम बनाएका छौं । इन्जिनियरिङको फन्डामेन्टल विषयलाई नबिर्सिकन अन्य इन्जिनियरिङ कलेजहरुको पाठ्यक्रम भन्दा यहाँको पाठ्यक्रम नयाँ छ ।

समय अनुसार पाठ्यक्रम नयाँनयाँ हुन्छन् । शिक्षक पनि अपडेट हुनुप-यो । त्यसकारण हामीले शिक्षकलाई पनि अपडेट गर्ने । सेलेक्सन गर्दा पनि शिक्षकको परीक्षाहरु सेवा आयोगले लिँदा आधुनिक पाठ्यक्रमसँग मिल्ने गरी गर्न अनुरोध गरेका छौं । शिक्षकले पढाउँदा पनि डब्लुएच प्रश्नबारे राम्रोसँग बुझ्ने र पढ्न तथा पढाउन मन लाग्ने खालको पाठ्यक्रम बनाएका छौं ।

मनमोहनमा पठनपाठनको अन्य सुविधा के कस्ता छन् ?

हामीसँग लाइब्रेरीमा पर्याप्त पुस्तक छ । पाठ्यक्रममा जे राखेको छ, त्यही अनुसारका किताबहरु छन् । अर्को भनेको युनिभर्सिटीभित्रको वातावरण एकदमै राम्रो छ । युनिभर्सिटीमा हुनुपर्ने माहोल राम्रो छ । भवन तथा ब्लकहरु पनि सोही अनुसारको छ । कक्षा कोठाहरु राम्रा छन् । अन्य युनिभर्सिटीमा भन्दा यहाँको ल्याब राम्रो छ । पाठ्यक्रम नै नयाँ छ ।

एउटा कक्षालाई पु-याउनु पर्ने न्यूनतम पूर्वाधारमा काहीँ पनि हामीले सम्झौता गरेको छैन । मल्टिमिडिया, प्रोजेक्टर, स्क्रिन, टेबल कुर्सी, ल्याबको साइज सबै हामीले इन्जिनियरिङ काउन्सिलले तोकेको मापदण्ड अनुसारका छन् । हाम्रो ल्याबमात्रै ३ ठाउँमा छ । फिजिक्स, क्यामेस्ट्री र इलेक्ट्रिकल इलेक्ट्रोनिक्सको ल्याब पनि छ । कम्प्युटर ल्याब पनि एकदमै लेटेस्ट छ । क्यान्टिन पनि राम्रो छ । लेडिज होस्टलको व्यवस्था छ । शिक्षकका लागि क्वाटरको व्यवस्था छ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।