शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

काबुलको मस्जिदमा शक्तिशाली विस्फोट, धेरैको मृत्यु

बिहीबार, ०२ भदौ २०७९, ०७ : ४२
बिहीबार, ०२ भदौ २०७९

अफगानिस्तानको राजधानी काबुलस्थित एक मस्जिदमा भएको शक्तिशाली विस्फोटमा परी थुप्रै  मानिसको मृत्यु भएको आशंका गरिएको छ । बुधबार साँझको प्रार्थनाका क्रममा विस्फोट भएको हो । एक गैरसरकारी संस्थाका अनुसार विस्फोटमा कम्तीमा तीन जनाको मृत्यु भएको छ भने एक दर्जनभन्दा बढी घाइते भएका छन् ।

बीबीसीको पश्तो सेवाका अनुसार केही अपुष्ट रिपोर्टहरूले उक्त विस्फोटमा २० जनाको मृत्यु भएको र ४० भन्दा बढी घाइते भएको दाबी गरेको छ । यद्यपी यो संख्याको आधिकारिक पुष्टि भने भइसकेको छैन । काबुलमा, तालिबान प्रहरी प्रवक्ता खालिद जाद्रानलाई उद्धृत गर्दै स्थानीय मिडियाले विस्फोट सहरको उत्तर(पश्चिममा भएको जानकारी दिएको थियो ।

विष्फोटमा सिद्दीकी मस्जिदका इमामको पनि मृत्यु भएको केही रिपोर्टमा बताइएको छ । यद्यपी विष्फोटको पछाडि कसको हात रहेको भन्ने अहिलेसम्म खुलेको छैन । एक साताअघि काबुलमा तालिवान समर्थक मौलानाको आत्मघाती हमलामा मृत्यु भएको थियो । इस्लामिक स्टेटले यस हमलाको जिम्मेवारी लिएको छ ।

काबुलमा कार्यरत इटालियन एनजीओ ‘इमर्जेन्सी’ ले अहिलेसम्म तीन जनाको ज्यान गएको जनाएको छ । एनजीओले एक ट्वीटमा जानकारी गराए अनुसार विस्फोटमा पाँच बालबालिका सहित २७ जना घाइते भएका छन् ।

यस्तै एक तालिबान गुप्तचर अधिकारीले समाचार एजेन्सी रोयटर्सलाई बताए अनुसार विस्फोटमा अहिलेसम्म कम्तिमा ३५ जना घाइते भएका छन् वा मारिएका छन् । यो संख्या बढ्ने अनुमान गरिएको छ । प्रत्यक्षदर्शीका अनुसार विस्फोट यति शक्तिशाली थियो कि नजिकैका भवनका झ्यालका सिसासमेत फुटेका थिए ।

एक अधिकारीले नाम नछाप्ने सर्तमा काबुलको खैर खाना क्षेत्रमा रहेको मस्जिदमा विस्फोट भएको बताए । विष्फोट भएको स्थानमा गुप्तचर टोली पुगेर अनुसन्धान गरिरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप