सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय

सुरक्षा योजना बनाएर पेश गर्न आयोगको निर्देशन, म्यादी प्रहरीलगायतलाई प्राथमिकता

बुधबार, ०१ भदौ २०७९, २० : १६
बुधबार, ०१ भदौ २०७९

निर्वाचन आयोगले मंसिर ४ गते आइतबार एकै चरणमा सम्पन्न हुने प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचनको प्रभावकारी सुरक्षा व्यवस्थापनका लागि सरकारलाई आवश्यक निर्देशन दिएको छ । जसअनुसार आयोगले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र गृह मन्त्रालयलाई सुरक्षा योजना बनाएर पेश निर्देशन दिएको हो । 

यस्तै अति संवेदनशील तथा संवेदनशील मतदान स्थल तथा मतदान केन्द्रहरूको विवरण तयार गरी सोहीअनुसारको सुरक्षाकर्मी खटनपटनको व्यवस्था मिलाउन पनि आयोगले निर्देशन दिएको छ । ‘२०६४ सालदेखि २०७९ साल वैशाख ३० गतेसम्म सम्पन्न विभिन्न निर्वाचनबाट उपलब्ध  तथ्य, तथ्यांक समेतका आधारमा मतदान कार्यमा विभिन्न खालका अवरोध सृजना भएका अति संवेदनशील तथा संवेदनशील मतदान स्थल तथा मतदान केन्द्रहरूको तथ्यगत विवरण तयार गरी सोही अनुसारको सुरक्षा योजनाको प्रबन्ध गरी कुनै पनि मतदान केन्द्रमा मतदान कार्यमा अवरोध नहुने अवस्थाको सुनिश्चितता हुने गरी विस्तृत सुरक्षा योजना तयार गरी तदनुसार सुरक्षाकर्मी खटनपटनको प्रभावकारी व्यवस्था मिलाउने’, आयोगको निर्देशनमा भनिएको छ । 

विशेष कारणबस कुनै पनि मतदान केन्द्रमा मतदान कार्यमा अवरोध हुने वा गर्ने स्थिति सिर्जना हुन  गएमा निर्वाचन (कसूर तथा सजाय) ऐन, २०७३ को दफा ५० बमोजिम आवश्यक कारबाही हुने ब्यहोराको जानकारी सबै सुरक्षा निकायलाई अग्रिम रूपमा दिने व्यवस्था मिलाउन पनि आयोगले भनेको छ । सुरक्षा व्यवस्थापनमा सुरक्षाकर्मी कम हुने अवस्था भएमा सुरक्षाको थप व्यवस्थाको लागि सेवा निवृत्त नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी वल नेपाल, राष्ट्रिय सेवादल र स्थानीय तहका नगर प्रहरी तथा स्थानीय तह निर्वाचन, २०७९ मा भर्ना गरिएका जनशक्तिलाई प्राथमिकता दिएर परिचालन गर्ने व्यवस्था मिलाउन पनि आयोगले निर्देशन दिएको प्रवक्ता शालिग्राम शर्माले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप