बुधबार, ०२ जेठ २०८१
ताजा लोकप्रिय

शारदा अधिकारीको कम्पनीबाट खोसियो तीनपिप्ले–बञ्चरेडाँडा सडक

बुधबार, ०१ भदौ २०७९, १५ : २१
बुधबार, ०१ भदौ २०७९

काठमाडौ–नुवाकोट सडक अन्तर्गत तीनपिप्ले–बञ्चरेडाँडा सडक निर्माणको ठेक्का पाएको शारदा प्रसाद अधिकारीको शैलुङ कन्स्ट्रक्सनको ठेक्का रद्द भएको छ । मंगलबार  जिल्ला अदालत ललितपुरले ठेक्का रद्द गर्ने फैसला गरेसँगै सडक विभागलाई गर्दै १ करोड ५५ लाख जरिवानासहित तीन वर्ष कालोसूचीमा राख्ने बाटो खुलेको छ ।  

न्यायाधीश सीता शर्मा अधिकारीको एकल इजलासले यसअघिको अन्तरिम आदेश खारेज गर्दै सडक विभागको पक्षमा फैसला आएको हो । गत असार ८ गते सडक विभागले सो कम्पनीलाई दिएको ठेक्का रद्द गर्ने निर्णय गरेको थियो । सोविरुद्ध शैलुङ कन्स्ट्रक्सन अदालत गएको थियो । 

यसअघि अदालतले सो मुद्दामा अन्तरिम आदेश दिँदै ठेक्का रद्द गर्ने निर्णय कार्यान्वयन नगर्न सडक विभागलाई निर्देशन दिएको थियो । 

निर्माण व्यवसायी अधिकारीको शैलुङ कन्स्ट्रक्सनले सो सडकको ८ वर्षअघि ठेक्का पाएको थियो । त्यसपछि ७ पटकसम्म सडकको म्याद थप्दासमेत सडकको काम सकिएको थिएन । सो सडकमा हालसम्म ५० प्रतिशत मात्र प्रगति भएको सडक विभागको भनाई छ । 

८ वर्षअघि सडक विभागले ३१ करोड लागतमा २ वर्षमा काम सम्पन्न गर्ने गरी सम्झौता गरे पनि सो कम्पनीले ८ वर्षसम्म पनि काम सम्पन्न गर्न नसकेको हो । ७ औँ पटक थपिएको म्याद गएको चैतमा सकिएपछि सडक विभागले बाध्य भएर ठेक्का सम्झौता तोडेको थियो । 

सो सडकखण्डको ८ किलोमिटर सडक फोहोर विसर्जनका लागि प्रयोग हुने गरेकोमा बाटो नबन्दा फोहोर बोकेका सवारी चालकले हैरानी पाउँदै आएका थिए । सो ठेक्का सम्झौता तोडिएसँगै विभागलाई सो सडक निर्माणका लागि नयाँ ठेक्का प्रक्रिया गर्नका लागि बाटो खुलेको छ । 

के छ अदालतको फैसलामा ? 

सडक विभाग र शैलुङ कन्स्ट्रक्सनबीच २०७१ जेठ २२ गते मा सम्झौता सम्पन्न भएको, २०७३ जेठ २२ गतेसम्म काम सम्पन्न गर्नुपर्नेमा ३९ दशमलव ५० प्रतिशत काम सम्पन्न भएको देखिएको उल्लेख छ । 

त्यसपछि शैलुङ कन्स्ट्रक्सनले पटक–पटक गरी सडक विभागसँग ७ औँ पटक म्याद थप भएको अवस्थामा हाल निवेदकले ५८ प्रतिशत कार्य पूरा गरेको भन्ने दावी गरेको, शैलुङ कन्स्ट्रक्सन र सडक विभागबिच गत चैत ३ गते  ठेक्का सम्झौताको अवधि समाप्त भएपछि पनि सो ठेक्का निरन्तरताको लागि शैलुङ् कन्स्ट्रसनले कुनै पहल गरेको उल्लेख छ । सार्वजनिक खरिद नियमावली, २०६४ को बाह्रौँ संशोधन मिति २०७९–०३–२० आउनु पूर्व २०७९–०३–०५ मा नै ठेक्का रद्द गरिसकेको विषय देखाउँदै अदालतले सडक विभागको पक्षमा फैसला गरेको हो । 

२५ किलोमिटर लम्बाइ रहेको यो सडक अन्तरगत ८ किलोमिटर सडक काठमाडौँको फोहोर बोक्न प्रयोग हुने गरेको छ । सडक विभागले अदालतको फैसला आएसँगै नयाँ ठेक्का खोल्ने तयारी गरेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप