शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

मधेस प्रदेशका मुख्यमन्त्रीको निर्वाचन क्षेत्रमा लोसपाको नजर, सर्राफको उम्मेदवारी घोषणा

बुधबार, ०१ भदौ २०७९, १० : ३६
बुधबार, ०१ भदौ २०७९

प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन मिति घोषणा भएसँगै पर्सामा निर्वाचनको रौनक सुरु भएको छ । गठबन्धनभित्र र बाहिरका दलहरूले निर्वाचन क्षेत्र र उम्मेदवारहरूको टुङ्गो नलगाए पनि आकाङ्क्षीहरूले सामाजिक सञ्जालमार्फत उम्मेदवारी घोषणा गर्न थालिसकेका छन् ।

प्रदेशसभा अन्तर्गत पर्सा निर्वाचन क्षेत्र नम्बर १ (ख)मा लोकतान्त्रिक समाजवादी पार्टी नेपालका वीरगञ्ज महानगर अध्यक्ष ओमप्रकाश सर्राफले उम्मेदवारी घोषणा गरेका छन् । २०७४ को निर्वाचनमा मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउत निर्वाचित भएको सो क्षेत्रमा सर्राफले उम्मेदवारी घोषणा गरेका हुन् ।

२०७४ को निर्वाचनमा पर्सा क्षेत्र नम्बर १ (ख) बाट मुख्यमन्त्री राउतले नेपाली काँग्रेसका विजय सर्राफलाई थोरै मतान्तरले पराजित गरेका थिए । ‘बेटी पढाऊ, बेटी बचाउ’ कार्यक्रम अन्तर्गत साइकल खरिद प्रक्रियामा पछिल्लो समय विवादमा तानिएका मुख्यमन्त्री राउतले ५ वर्षको अवधिमा बदनामीमात्र कमाएको लोसपाका महानगर अध्यक्ष सर्राफको आरोप छ ।

‘मुख्यमन्त्रीको कार्यशैलीका कारण संघीयता बदनाम भएको छ, मधेस आन्दोलनका सहिद परिवार बिचल्ली भएको अवस्थामा यिनीहरू बिलासी जीवन बाँचिरहेका छन्,’ उनले भने, ‘संघीयतालाई बलियो बनाउन, मधेस आन्दोलनको मर्म र भावनालाई जीवन्त राख्न र शहीदहरूको सपना पूरा गर्न अगामी निर्वाचनमा मुख्यमन्त्री राउतलाई पराजित गर्नुपर्छ, त्यसैका लागि मुख्यमन्त्रीविरुद्ध मेरो उम्मेदवारी हो ।’

उनले एक वर्षभित्र पर्सा जिल्लालाई पूर्ण साक्षर बनाउने, सामुदायिक विद्यालय र स्वास्थ्य संस्थालाई चुस्त दुरुस्त राख्ने, सरकारी अस्पताललाई विश्वासिलो बनाउने आफ्नो एजेण्डा रहेको बताए ।

आसन्न निर्वाचनमा मुख्यमन्त्री राउत प्रतिनिधिसभातर्फ उम्मेदवार बन्ने हो कि प्रदेशमै दोहोरिने भन्ने प्रस्ट छैन । यद्यपि, प्रतिनिधिसभा वा प्रदेशसभा जता भए पनि राउत सत्तारुढ गठबन्धनबाट उम्मेदवार बन्ने निश्चित भएकाले काँग्रेस, माओवादी लगायतका दलबाट सो निर्वाचन क्षेत्रमा उम्मेदवारका आकाङ्क्षी देखिएका छैनन् ।

मुख्यमन्त्री राउत २०७४ को निर्वाचनमा तत्कालीन संघीय समाजवादी फोरमबाट निर्वाचित भएका हुन् । सो निर्वाचनमा उनले चार हजार ७१५ ल्याउँदा उनका निकटतम प्रतिद्वन्द्वी काँग्रेसका विजय सर्राफले चार हजार ४३० मत ल्याएका थिए ।

वीरगञ्ज महानगरको ९ वटा वडा पर्सा जिल्ला निर्वाचन क्षेत्र नं १ (ख) मा पर्दछ । वैशाख ३० गते भएको स्थानीय तह निर्वाचनमा मुख्यमन्त्री  पत्नी जगन्नाथपुर गाउँपालिकाको उपप्रमुखमा र स्वकीय सचिव जिराभवानी गाउँपालिका अध्यक्षमा उम्मेदवार भए पनि लज्जास्पद हार व्यहोरेका थिए ।

यता, जनता समाजवादी पार्टी (जसपा) का मधेस प्रदेश अध्यक्ष रामबाबु यादवले अगामी निर्वाचनमा मुख्यमन्त्री राउतले उम्मेदवारी दिने निश्चित रहेको तर प्रतिनिधिसभा वा प्रदेशसभामध्ये केमा उम्मेदवार बन्ने भन्ने टुङ्गो लाग्न बाँकी रहेको बताए ।

उनले ने, ‘मुख्यमन्त्रीमै दोहोरिन चाहे उहाँले प्रदेशसभामा लड्नुहुन्छ, होइन भने संघमा जान प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दिनुहुन्छ, उहाँका लागि दुवै ढोका खुल्ला छ ।’

उनले सत्तारुढ गठबन्धनमा लोसपा सामेल भएमा दलहरुबीच खटपट सुरु हुने बताए । ‘गठबन्धनभित्र लोसपा आउने कुरै छैन, यदि लोसपा पनि गठबन्धनमा आउने हो र हाम्रो सिट दायाँबायाँ गर्न खोज्यो भने गठबन्धनभित्र फाटो आउँछ,’ यादवले भने, ‘लोसपा आफै पनि आउनु नपर्ने हो तर खै के देखेर आउन खोजिरहेको छ ।’

बारा निर्वाचन क्षेत्र नं ३ का संघीय सांसदसमेत रहेका यादवले गठबन्धनभित्र सिट बाँडफाँट गर्दा २०७४ को निर्वाचनलाई आधार मान्नुपर्ने बताए ।

आसन्न निर्वाचनमा मधेस प्रदेशका ८ जिल्लामा जसपाले प्रदेशसभा तर्फ ४० र प्रतिनिधिसभातर्फ प्रत्येक जिल्लामा २÷२ सिटको दरले १६ वटा सिटमा दाबी गर्ने यादवले जनाए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

शारदा पोखरेल
शारदा पोखरेल
लेखकबाट थप