काठमाडौँको फोहोर व्यवस्थापन: समन्वय, सहकार्य र समझदारीको अभाव
काठमाडौँ अहिले जताततै फोहोरै फोहोरको डुङ्गुरले दुर्गन्धमय बनेको छ । यसमा जिम्मेवार निकायहरू एकले अर्कोलाई जिम्मेवारी पन्छाउँदै आफू पानीमाथिको ओभानो बन्ने प्रयासमा लागेका देखिन्छन् । यसरी जनताको स्वास्थ्यमाथि खेलवाड भइरहँदा पनि खै जनप्रतिनिधिहरूले सक्रियता देखाएको ?
गत शनिवार गाईजात्राको समयमा त्यसै पनि फोहोरै फोहोरले भरिएको काठमाडौँमा अरू फोहर थुप्रियो । र, त्यसमाथि पनि एक डेढ घण्टा वर्षा भैदिंदा काठमाडौँका सडकमा डुङ्गा गुडाउने अवस्था सिर्जना भयो । अझ कतिपयले सामाजिक सञ्जालमा पानीजहाज भनी चारै पाङ्ग्रा पानीमा डुबेका सवारी साधनको तस्बिर समेत पोष्ट गर्न भ्याए । त्यसदिन काठमाडौँका सडकमा पानी मात्र जमेको हैन, ठाउँ ठाउँमा थुप्रिएका फोहोर यत्रतत्र छरिएर छरपष्ट बनेको बीभत्स दृश्य पनि देखियो । यसरी फोहोरले राजनैतिक पार्टी, जनप्रतिनिधि, सरकारी निकायहरुमात्र नभई भर्खरै चुनिएका नगर प्रमुख, उपप्रमुख तथा वडाध्यक्षहरूलाई गिज्याइरहेको भान पर्यो ।
हुन त नगर प्रमुख बालेन शाहलाई पार्टीहरूले असहयोग गरेको र कामै गर्न नदिएको भन्ने गुनासाहरू पनि नसुनिएको हैन । तर खाने मुखलाई जुँगाले छेक्दैन भन्ने उखानजस्तै काम गर्नेलाई कुनै पनि बहानाले रोक्न सक्दैन भन्ने कुरा धरानका मेयर हर्क साम्पाङले प्रमाणित गरेर देखाइदिएका छन् । उनी विरुद्ध एउटा सिङ्गै राष्ट्रिय पार्टीले अवरोध गर्दा, कार्यालयमा तोडफोड गर्दा समेत उनले हरेस खाएनन्, आफ्नो काममा जुटेको जुटेकै छन् उनी ।
धरानका जनतालाई ढुङ्गा बोक्न लगाए, पानीको मुहान खन्न लगाए र अब त्यहाँ नगरपालिकाले नै बेसार र साबुन उद्योगसमेत खोल्ने सुरुआत उनले गरेका छन्, अपार जनसहभागिताको आधारमा ।
विज्ञहरूबाट पनि केही सिक्ने कि ?
हुन त हाम्रा मेयर स्ट्रक्चरल इन्जिनियर हुन् । उनलाई अरू कसैले सिकाउन पर्थ्यो र महानगरलाई सफा, स्वच्छ, हराभरा तथा व्यवस्थित बनाउन ? तर हालै बालेनका प्रतिनिधि समेतको सहभागिता रहेको एक टेलिभिजन कार्यक्रममा पूर्व सचिव किशोर थापाले निकै उपयोगी र मनन योग्य सुझाव बालेनलाई दिएका छन् ।
किशोर थापाको सुझाव थियो, उपत्यकामा काठमाडौँ महानगरपालिका मात्र नभई १८ वटा नगरपालिका छन् । र, तिनीहरूको फोहोर पनि अहिले काठमाडौँ वरपर नै थुप्रिने गरेको छ । त्यसमा काठमाडौँको भाग अलि बढी होला तर काठमाडौँ एक्लैले सबै जिम्मेवारी नलिई अन्य नगर पालिकाहरूसँग मिलेर फोहोर तह लगाउने हो भने समस्याको समाधान ननिस्कने कुनै कारण देखिँदैन । के काठमाडौँले मात्र फोहोरमा एकलौटी जस लिन खोज्ने हो ? उनको प्रश्न थियो ।
फोहोर उठाउँदा त्यसलाई सिधै बन्चरे डाँडाको ल्याण्डफिल्ड साइटमा पठाउने हैन, बीचमा ट्रान्जिट प्वाइन्ट बनाएर एक ठाउँमा थुपारेर लैजाँदा समस्याले विकराल रूप लिन पाउँदैन । जसरी काठमाडौँमा फोहोरको ट्रान्जिट टेकुलाई बनाइएको छ, त्यसै गरी १८ वटै नगरपालिकाहरूमा ट्रान्जिट प्वाइन्ट बनाएर त्यहाँ फोहोर सङ्कलन गरी पछि ल्याण्डफिल्ड साइटमा पठाएमा साता दिन दिन ल्याण्डफिल्ड साइट बन्द हुँदैमा ठूलो समस्या पर्दैन भन्ने थापाको सुझाव मननीय छ ।
फेरि काठमाडौँका फोहोरमा कुहिने र नकुहिने गरी २ थरी छुट्ट्याउने भन्ने महानगरपालिकाको योजना सराहनीय छ । तर त्यसको निम्ति महानगरले नगरवासीलाई दुई प्रकारको डष्टविन मात्र दिएर पुग्दैन । घरमै फोहोरको व्यवस्थापन कसरी गर्ने भन्नेबारे महानगरले जनचेतनामूलक कार्यक्रम गर्नु जरुरी छ । यसका लागि टेलिभिजन र पत्रपत्रिकामार्फत प्रचारप्रसार गर्नुका साथै त्यसबारे तालीम तथा गोष्ठी पनि गरेमा जनसाधारणमा चेतनाको स्तर अभिवृद्धि भई आधाजसो फोहर त घर, घरमै व्यवस्थित गर्न सकिन्छ ।
कुनै बखत महानगरले कौशी खेतीबारे जनचेतनामूलक कार्यक्रम सञ्चालन गरेको पनि सुनिएको थियो । त्यस प्रकारका तालिमका कार्यक्रम तथा घर, घरमै फोहोर कसरी व्यवस्थापन गर्ने भन्नेबारे सचेतना कार्यक्रम पनि समय, समयमा सञ्चालन गरिनु जरुरी छ ।
समन्वय, सहकार्य र समझदारीको अभाव
एकातिर देशमा विभिन्न स्तरमा खुलेका प्राङ्गारिक मल कारखानाहरू कच्चा पदार्थ नपाएर समस्यामा परिरहेको हामीले विभिन्न सञ्चार माध्यमहरुमार्फत् सुन्ने गरेका छौँ भने अर्कोतिर फोहोर कहाँ फाल्ने भन्ने समस्याले नगरवासी पीडित बनिरहेका छन् । तसर्थ फोहोरको समस्या खास गरी सहकार्य, समन्वय र समझदारीको अभावका कारण सिर्जना हुने गरेको देखिन्छ ।
सर्वप्रथम महानगरले उपत्यकाका सबै नगरपालिकाहरूमा ट्रान्जिट प्वाइन्ट निर्माण गर्ने कार्यमा नेतृत्व लिनु आवश्यक देखिन्छ । यसरी सबै नगरपालिकाहरूसँग समन्वयात्मक ढङ्गले अगाडि बढेमा फोहोर व्यवस्थापनको समस्याले यति विकराल रूप लिन पाउँदैनथ्यो कि ?
फोहोर व्यवस्थापन गर्न हामीले अहिलेसम्म अल्पकालीन उपाय मात्र अपनाउने गरेको पाइयो, जसको कारण फोहोरको समस्याको समाधान प्रभावकारी रूपमा हुन सकेन । फोहोरमैलाको समस्या हल गर्न विज्ञहरूसँग सरसल्लाह गरेर तत्कालीन, अल्पकालीन र दीर्घकालीन उपाय अपनाउन सके मात्र यो समस्याबाट हामी सदाको निम्ति मुक्त हुन सक्नेछौँ ।
साथै फोहोरको समस्या समाधान गर्नेतिर सोच बनाइरहँदा काठमाडौँका सडकहरूमा वर्षात्को समयमा पानी नजमोस् भनेर पनि ध्यान दिइनु उत्तिकै जरुरी छ । यहाँ एकाध घण्टा पानी परे सडकमा पानी जमेर सानोतिनो पोखरी नै बन्ने स्थिति आउँछ । त्यसलाई व्यवस्थित गर्न ढल, निकासको उचित प्रबन्ध गरिनु पनि उत्तिकै जरुरी देखिन्छ ।
कतै मलको अभाव, कतै फोहोरको समस्या
महानगरले नियम मात्र बनाउने हैन, त्यसलाई पालना गराउन तालीम दिने, जनचेतना विस्तार गर्ने, प्रचार, प्रसार गर्ने, अनुगमन गर्ने जस्ता कार्यहरू पनि नियमित रूपमा गर्न सक्नु पर्छ । राजधानीमा उठ्ने फोहोरमध्ये ६० प्रतिशत भन्दा बढी त जैविक फोहोर नै हुने गरेको विज्ञहरू बताउँछन् ।
फोहोरलाई घर, घरमै कसरी तह लगाउने, कसरी जैविक र नकुहिने फोहोर छुट्याउने र कसरी फोहोरलाई कुहाएर प्राङ्गारिक मल बनाई मोहोरमा बदल्ने भन्ने प्रविधिबारे पनि जनतामा व्यापक रूपमा चेतना जगाउन जरुरी छ । प्राङ्गारिक मल कारखाना घर, घरमा, टोल, टोलमा, निजी स्तरमा र महानगर स्वयंले पनि बनाएर नगरवासीलाई उदाहरण प्रस्तुत गर्न सक्नुपर्छ ।
नगर सफाइको यस कार्यलाई कुनै राजनैतिक पार्टीले पनि राजनीतिक चलखेलको विषय नबनाऔँ, प्रतिष्ठाको विषय पनि नबनाऔँ र त्यसलाई धेरै कुराहरूसँग गिजोलिएर पनि प्रस्तुत नगरौँ, ताकि काठमाडौँलाई स्वच्छ, सफा, स्वस्थ र हराभरा राख्न सकौँ । केन्द्र सरकारले पनि राजधानीको फोहोर व्यवस्थापनको कार्यलाई प्राथमिकताका साथ हल गर्न महानगरलाई सहयोग गर्न र साथ दिनु जरुरी छ ।
अन्त्यमा, सतहत्तर जिल्लाका मानिस आवतजावत गर्ने राजधानी सफा भएमा नै हामी स्वस्थ हुनेछौँ । विदेशी पाहुनाहरूको नजरमा महानगरको इज्जत रहनेछ र पर्यटकहरू यहाँ रमाउने छन् । पर्यटक रमाउन सके मात्र हामीलाई विदेशी मुद्रा आर्जन गर्न सहज हुनेछ भन्ने तथ्य कसैले नभुलौँ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुकुटी बेचेर मासिक दुई लाख आर्जन
-
पूर्वाञ्चल विश्वविद्यालयले विराटनगरमा बालविकासबारे अन्तर्राष्ट्रिय सम्मेलन गर्दै
-
आज कुन तरकारी तथा फलफूलको मूल्य कति छ ? (सूचीसहित)
-
वायु प्रदूषण बढेको भन्दै वातावरण विभागले दियो यस्तो सुझाव
-
राष्ट्रिय जीवन बीमा कम्पनीको प्रमुख कार्यकारी अधिकृतमा दरखास्त आह्वान
-
नुन्थर घाटमा १ लाख माछाको भुरा छोडियो