बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

राजविराजमा यातायात व्यवस्था सेवा कार्यालय स्थापना

बुधबार, ०१ भदौ २०७९, ०८ : ०१
बुधबार, ०१ भदौ २०७९

सप्तरी स्थित राजविराजमा यातायात व्यवस्था सेवा कार्यालय सञ्चालनमा आएको छ । राजविराज–रूपनी सडकखण्डअन्तर्गत राजविराज नगरपालिका–९ मा स्थापित सो  कार्यालयको मधेस प्रदेश सरकारका भौतिक पूर्वाधार विकासमन्त्री रामसरोज यादव र अर्थमन्त्री शैलेन्द्रप्रसाद साहले मङ्गलबार संयुक्त रुपमा शुभारम्भ गरे । 

कार्यक्रममा ट्रक व्यवसायी एशोसिएशन सप्तरीका अध्यक्ष जगदीश अर्यालले राजविराज–९ मलेठ स्थित एशोसिएशनको नाममा रहेको दुई कठ्ठा जग्गा यातायात व्यवस्था कार्यालयलाई प्रदान गर्ने जानकारी दिए ।

प्रदेश सरकारले गत फागुन २४ गते यातायात व्यवस्था सेवा कार्यालय राजविराजमा स्थापना गर्ने निर्णय गरेको थियो । सेवा कार्यालयका प्रमुख शशि यादवले यातायातसम्बन्धी कामका लागि सप्तरीका सेवाग्राहीलाई सिरहाको लहान जानुपर्ने अवस्था अन्त्य भएको जानकारी दिए ।

उनका अनुसार हाललाई कार्यालयबाट सवारी धनी प्रमाण र सवारी चालक प्रमाणपत्रको नवीकरण, सवारी दर्ता, सवारी जाँचपास रुट अनुमति, पटके सेवा अस्थायी रुट अनुमति र यातायात सेवा पञ्जीकृतजस्ता सेवा प्रवाह गरिनेछ ।  हाल मधेस प्रदेशमा पर्साको वीरगञ्ज, सिरहाको लहान, धनुषाको जनकपुरधाममा यातायात व्यवस्था कार्यालय रहेको छ भने रौतहट, बर्दिबासमा सो सेवा कार्यालय स्थापना गर्न लागिएको जनाइएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप