सोमबार, १० मङ्सिर २०८१
ताजा लोकप्रिय

एउटै गाउँका ६५ परिवारको ३४ बिगाहा जमिन भूमाफियाको कब्जामा

बुधबार, ०१ भदौ २०७९, ०७ : ०४
बुधबार, ०१ भदौ २०७९

माइतीघर मण्डलामा दैनिकजसो एउटै जिल्लाका दुई समूह धर्नामा छन् । नवलपरासी जिल्लाको पाल्हीनन्दन गाउँपालिका वडा नम्बर ६ का ६५ घरपरिवार एकातिर छन् भने अर्कोतिर नवलपरासीकै सुस्ता, प्रतापपुर, सरावल, रामनगर बर्दघाट क्षेत्रका १०९ पीडित परिवार धर्नामा छन् । सरकारले सहसचिवको नेतृत्वमा मिटरब्याजीको छानबिन गर्नका लागि समिति बनाएको छ । तर, कानुनी आधार र कार्यविधि नभएकाले उनीहरुले चित्त बुझाएका छैनन् । न्यायिक समिति बनाएर मिटरब्याजीलाई कारबाही गर्ने आधार नभएसम्म आन्दोलन नरोकिने संघर्ष समितिका अध्यक्ष राम सुरत तेली गुप्ता बताउँछन् ।

माइतीघरमा आन्दोलित एउटा समूह चार दिनदेखि, अर्को समूह १४ दिनदेखि न्याय माग गर्दै धर्नामा बसेको हो । उनीहरुको घटना प्रकृति फरकफरक भए पनि पीडा र व्यथा उस्तै छन् ।१४ दिनदेखि धर्नामा बसेका पीडित परिवार मिटरब्याजीले उठिबास लगाएपछि न्यायको ढोका ढकढक्याउन काठमाडौं आएका हुन् । उनीहरुले विभिन्न ५५ सहुकारसँग तीन करोड ७० लाख २ हजार रुपैयाँ ऋण लिएका थिए । साहुकारलाई विभिन्न समयमा १० करोड १५ लाख १६ हजार तीन सय दिइसके पनि अझै १० करोड ८१ लाख ६१ हजार रुपैयाँ दिनुपर्छ भन्दै साहुकारले दैनिकजसो धम्क्याउने गरेपछि न्याय माग्न आएका हुन् ।

तीमध्ये अधिकांशले आफ्नो जमिन साहुकारको नाममा दृष्टिबन्धक गरिसकेका छन् । यसरी मिटर ब्याजको नाममा उठिबास लगाउनेमा प्रतापपुर–९ का सुनिल बाँनिया, सुनिल शर्मा लगायत ५५ साहुकार छन् । गरिबीले पिल्सिएका पीडित परिवार न्याय नपाएसम्म धर्ना नछोड्ने अडानमा छन् । उनीहरु भोक, प्यास, चर्कोे घाम र पानीको कुनै परवाह नगरी नियमित धर्नामा बसेका छन् ।

यस्तै धर्नामा बसेको अर्को समूहमा नवलपरासीकै पाल्हीनन्दन गाउँपालिका–६का ६५ घर परिवार छन् । उनीहरुको ३४ बिगाहा जमिन भूमाफियाले कब्जामा लिएपछि न्याय माग गर्दै धर्ना बसेका हुन् ।

पीडित परिवारका अनुसार कुरा २०२४ सालको हो, जतिबेला देशमा पञ्चायती व्यवस्था थियो । त्यतिबेला पाल्हीनन्दन गाउँपालिकाका जमिनदार प्रेमशरण खत्रीका चार दाजुभाइमध्ये जेठा प्रेमशरण अध्यनको सिलसिलामा भारत पसे । उनी उतै हराए । उनको नामोनिशान फेला परेन । जग्गाको हदबन्दी भएकाले उनको नाममा भएको ६० बिगाहा जमिन राज्यले कब्जामा लियो ।

 

जोतभोग गर्ने नाममा त्यहाँका किसानलाई राज्यले मोहीको रुपमा प्रयोग गर्न दियो । पछि विस्तारै किसानले सदाका लागि जोतभोग गर्ने अख्तियारी पाए । देशमा माओवादी जनयुद्ध उत्कर्षमा पुगेपछि प्रेमशरण खत्रीकै भतिजा रविकुमार खत्रीले नक्कली कागजपत्र बनाएर किसानको नाममा भएको ३४ बिगाहा जमिन भारतका एक भूमाफियालाई बिक्री गरेको पीडित किसान संघर्ष समितिका अर्का अध्यक्ष इन्द्रमणि पाण्डे बताउँछन् ।

‘२०५८ सालमा ११ बिगाहाभन्दा बढी जमिन राख्न नपाउने व्यवस्था थियो । उनकै नातापाता पर्ने रविकुमार खत्री भन्नेले भारतका अनुप मेहरालाई मिलाएर प्रेमशरण खत्रीको मृत्यु दर्ता बनायो,’ पाण्डेले भने, ‘प्रेमशरण खत्रीको छोरा बनाएर अनुप मेहरालाई वारिसनामा गरेर जग्गा दिइयो । वडा सचिवसँग मिलेर नाता प्रमाणित गराइयो ।’

खत्रीका नक्कली दुई छोरा र एक छोरी बनाएर मेहरा परिवारलाई खत्री बनाएर किसानको जग्गा भूमाफिया र कर्मचारीको मिलोमतोमा खोसिएको उनीहरुको भनाइ छ ।

‘प्रेमशरण खत्रीका नाममा नक्कली तीन छोराछोरी बनाएर किसानको ३४ बिगाहा जमिन गायब भयो । भूमाफिया र कर्मचारीको मिलेमतोमा मेहरा थरलाई खत्री बनाइयो । तीन जनाको सहीछाप एउटै व्यक्तिले गराइयो । ती सबै प्रमाण सुरक्षित छन्,’ पाण्डेले भने, ‘अनुप मेहराको नाममा आएको जग्गा पछि अरु ५ जनालाई बिक्री गरेपछि भेद खुल्यो । उनीहरु आफ्नो जग्गा हेर्न आएपछि बल्ल हामीले थाहा पायौँ ।’ 

आफ्नो जग्गा बिक्री भएको २०७४ सालमा मात्रै थाहा पाएको पाण्डेले बताए । अर्का पीडित किसान पिन्टु सिंहले बाउबाजेको पालादेखि जोतभोग गर्दै आएको जमिन अर्कैको नाममा छ भनेको सुन्दा छाँगाबाट खसेजस्तै भएको बताए । ‘मेरो पालादेखि होइन, बाउबाजेको पालादेखि जोतभोग गर्दै आएका छौँ । एक्कासी हाम्रो जग्गा अर्कैको नाममा छ भन्दा छक्क प¥यौँ,’ उनले भने ।

१५ कठ्ठा जग्गा जोतभोग गर्दै आएका गोरखनाथ कहरले आफ्नो जग्गा अर्कैले लग्यो भन्दा भक्कानिएर रुन मन लागेको बताए । ‘हामीले बाजेको पालादेखि जोतभोग गरिरहेका छौँ । घर र खेत बेचेको छ भन्दा भक्कानिएर रुन मन लाग्यो,’ कहरले भने, ‘अहिले भूमाफियाले जग्गा छोड, घर खाली गर भन्छन् । त्यसैले कानुनको सहारा लिन काठमाडौँ आइपुगेका छौँ ।’

पीडित किसानसँग हातेमालो गर्दै पाल्हीनन्दन गाउँपालिका–६ का वडा अध्यक्ष कृष्णचन्द्र यादवसमेत न्याय दिलाउन लागिपरेका छन् । पीडित किसानको पक्षमा न्याय दिलाउन नलपरासीदेखि काठमाडौंसम्म कर्मचारीदेखि नेतासम्मको ढोका ढकढक्याउने गरेको यादवले बताए । सबै पीडित किसानको मुद्दा अदालतमा पुगेकाले न्याय मिल्नेमा यादव विश्वस्त देखिन्छन् ।  उनले आफूहरु अदालतमा विराधीन रहेको मुद्दाको पर्खाइमा रहेको बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

वीरेन्द्र ओली
वीरेन्द्र ओली
लेखकबाट थप