बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

प्रज्ञा प्रतिष्ठानको ३७ औँ प्राज्ञसभा सम्पन्न : सवा ३० करोडको बजेट पारित

मङ्गलबार, ३१ साउन २०७९, २० : २८
मङ्गलबार, ३१ साउन २०७९

नेपाल प्रज्ञा–प्रतिष्ठानको सोमबार बसेको ३७ औँ प्राज्ञसभाले ३० करोड २० लाख ४२ हजारको बजेट पारित गरी सम्पन्न भएको छ । प्राज्ञ सभाको ३७ औँ बैठकले आ.व. २०७९/०८० का लागि उक्त रकमको बजेट पारित गरेको हो ।

गत आर्थिक वर्षमा सरकारबाट प्रज्ञा–प्रतिष्ठानलाई रु. १९ करोड १२ लाख ६४ हजार विनियोजन भएकोमा चालु आर्थिक वर्षका लागि रु १४ करोड २३ लाख मात्रै विनियोजन भएको छ । गत आर्थिक वर्षमा रु २५ करोड १४ लाख ३९ हजार आठ सय २४ यथार्थ आयव्यय विवरण सभामा प्रस्तुत भई पारित भएको छ । गत आर्थिक वर्षमा प्रज्ञा–प्रतिष्ठानले आन्तरिक कोषबाट रु. ६ करोड एक लाख ८५ हजार खर्च गरेको थियो । 

विभिन्न पुरस्कार दिने घोषणा
प्राज्ञका कुलपति गङ्गाप्रसाद उप्रेतीको अध्यक्षतामा बसेको प्राज्ञ सभाको बैठकले विभिन्न प्रतिभाहरूलाई प्रज्ञा पुरस्कार प्रदान गर्ने निर्णय गरेको छ । जसअनुसार २०७९ का लागि रुपन्देहीका रामचन्द्र भट्टराईलाई रु. एक लाख राशिको नेपाल प्रज्ञा नेपाली साहित्य पुरस्कार, पहाडी हिमाली क्षेत्रमा बोलिने मातृभाषाका साहित्यका लागि दोलखाका खेन्पो डवाङ वोसेर लामा शेर्पालाई रु. एक लाख राशिको नेपाल प्रज्ञा मातृभाषा साहित्य पुरस्कार दिने निर्णय भएको छ । 

यसैगरी मधेस तराईमा बोलिने मातृभाषा साहित्यका लागि कञ्चनपुरकी शर्मिलाकुमारी चौधरीलाई रु. एक लाख राशिको नेपाल प्रज्ञा मातृभाषा साहित्य पुरस्कार, भोजपुरका प्रा.डा. प्रेमकुमार खत्रीलाई रु. एक लाख राशिको नेपाल प्रज्ञा संस्कृति पुरस्कार, काठमाडौँका प्रा. विद्यानाथ उपाध्यायलाई रु. एक लाख राशिको नेपाल प्रज्ञा दर्शनशास्त्र पुरस्कार, काठमाडौँका डा. नयनाथ पौडेललाई रु. एक लाख राशिको नेपाल प्रज्ञा सामाजिक शास्त्र पुरस्कार प्रदान गर्ने निर्णय गरेको छ । 

यसैगरी २०७८/०७९ का लागि भारत, दार्जिलिङका नरबहादुर दाहाललाई रु. दुई लाख राशिको भानु प्रज्ञा अन्तरदेशीय नेपाली साहित्य पुरस्कार र झापाका प्रा.डा. गोविन्दराज भट्टराईलाई रु. दुई लाख राशिकै नेपाल प्रज्ञा अनुवाद पुरस्कार प्रदान गर्ने निर्णय गरिएको छ । यसअघि नेपाल प्रज्ञा–प्रतिष्ठानको ३७ औँ प्राज्ञसभा प्रधानमन्त्री एवम् नेपाल प्रज्ञा–प्रतिष्ठानका प्रमुख संरक्षक शेरबहादुर देउवाले समुद्घाटन गरेका थिए । प्रधानमन्त्री देउवाले नेपालका भाषा, साहित्य, कला र संस्कृति मुलुकको विशिष्ट गहना भएको धारणा राखेका थिए । 

कार्यक्रममा माननीय संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री एवम् प्रज्ञा–प्रतिष्ठानका संरक्षक जीवनराम श्रेष्ठले नेपालका सम्पूर्ण साहित्यकारका बीचमा प्राज्ञिक नेतृत्व प्रदान गर्नुका साथै नेपालको गौरवलाई अन्तर्राष्ट्रिय क्षेत्रमा समेत पु¥याउने कार्य प्रज्ञा–प्रतिष्ठानले गरिरहेको बताएका थिए । समारोहका अध्यक्ष कुलपति गङ्गाप्रसाद उप्रेतीले आफ्नो कार्यकालमा दक्षिण एसियाका थुप्रै प्रतिष्ठासँग साहित्यिक तथा सांस्कृतिक सम्बन्ध स्थापित गर्न सफलता मिलेको बताएका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप