मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

प्रथम उपराष्ट्रपति परमानन्द झाको ‘मधेसको माटो म’ लोकार्पण

मङ्गलबार, ३१ साउन २०७९, १८ : ४३
मङ्गलबार, ३१ साउन २०७९

नेपालका प्रथम उपराष्ट्रपति परमानन्द झाको जीवनमा आधारित पुस्तक ‘मधेसको माटो म’ लोकार्पण गरिएको छ । उपराष्ट्रपति नन्दबहादुर पुनले उपराष्ट्रपति कार्यालयमा सो पुस्तक लोकार्पण गरेका हुन् ।

सो अवसरमा उपराष्ट्रपति पुनले मान्छेको जीवनजस्तै राष्ट्रको जीवनमा पनि अप्रत्याशित मोड आउने भन्दै नेपाल राष्ट्रको जीवनमा गणतन्त्र आउनु पनि त्यस्तै एक मोड रहेको बताए । उनले गणतन्त्रको प्रथम उपहार मधेसकै माटोले पाएको भन्दै गणतन्त्रपछि पहिलो राष्ट्रपति र उपराष्ट्रपति मधेसबाटै पाइएको चर्चा गरे ।

कार्यक्रममा कृषि तथा पशुपंक्षी मन्त्री मृगेन्द्रकुमार सिंहले प्रथम उपराष्ट्रपति झाको पुस्तकले पहिचानको मुद्दालाई अझ बढावा दिएको बताए । मधेस गौरव गर्नुपर्ने माटो भए पनि अझै मधेसले पहिचानको सवालमा संघर्ष गरिरहेको उनको भनाइ छ ।

कार्यक्रममा सर्वाेच्च अदालतका पूर्व न्यायाधीशद्वय गिरिशचन्द्रलाल र शारदा श्रेष्ठले मधेस पनि देशभित्रकै अंग भएकाले राज्यले समान ढंगले व्यवहार गर्नुपर्नेमा जोड दिए । पुस्तकको समीक्षा गर्दै उद्धव प्रसाद भट्टराईले लेखक झाले लेखेको पुस्तकले आफू जन्मेको माटोको सगौरव व्याख्या गरेको र माटो प्रेमको पुस्तक भएको बताए ।

कार्यक्रममा लोकतान्त्रिक समाजवादी पार्टीका नेता डाक्टर सुरेन्द्र कुमार झाले संविधानमा बहुल पक्षलाई प्रधानता दिए पनि व्यवहारमा त्यस्तो नभएकाले नै मधेसका धेरै मुद्दा अझै सम्बोधन नभएको बताए । लेखनकुन्जका अध्यक्ष कमल ढकालले आफूहरुले हरेक मान्छे पुस्तक हो भन्दै साहित्यमा सिर्जनशीलता खोजी गर्दै दशौँ हजार पुस्तक लेखेर राज्यलाई बुझाउन दत्तचित्त भएको बताए ।

सो अवसरमा पूर्व उपराष्ट्रपति झाले आफूले जीवनमा भोगेको धेरै कुरा पुस्तकमा आए पनि लेख्ने क्रममा धेरै कुरा छुटेको बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप