बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

कम उमेरका युवायुवाती भागेर विवाह गर्ने प्रचलन बढ्यो: गृहमन्त्री साह

मङ्गलबार, ३१ साउन २०७९, १७ : ०६
मङ्गलबार, ३१ साउन २०७९

मधेस प्रदेशका गृह तथा सञ्चारमन्त्री भरतप्रसाद साहले अगामी मङ्सिर ४ मा हुने निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष एवं मर्यादित बनाउनका लागि प्रहरीलाई निर्देशन दिएका छन् । मंगलबार जनकपुरधाममा प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान महाशाखा र मधेस प्रदेश प्रहरी कार्यालयको संयुक्त आयोजनामा भएको प्रदेश स्तरीय अपराध अनुसन्धान सम्बन्धी समीक्षा गोष्ठीमा बोल्दै गृह तथा सञ्चारमन्त्री साहले निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र मर्यादित बनाउनका लागि प्रहरी संगठनको महत्त्वपूर्ण भूमिका रहने गरेको बताएका हुन् ।

उनले अपराधको नयाँ नयाँ शैली तथा तरिकाहरूको अनुसन्धानमा नेपाल प्रहरीको पनि क्षमताको विकास गर्दै जानु पर्ने आवश्यकता रहेको औँल्याए । उनले आपराधिक घटनाहरू पत्ता लगाउनका लागि मदत मिल्ने उद्देश्यले यसै प्रदेशमा फोरेन्सिक ल्याबको स्थापनाका लागि गृहकार्य भइरहेको बताए ।

उनले मधेस प्रदेशमा साइबर क्राइम र २० वर्ष भन्दा कम उमेरका युवायुवातीहरू भाग्ने र विवाह गर्ने प्रचलन ह्वातै बढ्दै गएको प्रति चिन्ता व्यक्त गर्दै मन्त्री साहले भने, ‘कानुन अनुसार युवतीको विवाहका लागि २० वर्षको उमेरको मान्यता छ, तर कम उमेरका युवायुवतीहरू भागेर विवाह गर्ने प्रचलन ह्वात्तै बढेकाले कानुनको पालना नभएको अवस्था छ ।’ 

उनले अघि थप्दै भने, ‘कानुन कार्यान्वयन नहुँदा युवायुवतीकै कारणले पनि अराजकता पनि बढेको छ । त्यसैले कडाइका साथ कानुनको पालना गर्न गराउनका लागि प्रहरी संगठनले गम्भीरतापूर्वक लिनुपर्ने आवश्यकता छ ।’

 त्यस्तै प्रहरी महानिरीक्षक धिरजप्रताप सिंहले मङ्सिर ४ मा हुने प्रतिनिधि र प्रदेश सभाको निर्वाचन भयरहित र निष्पक्ष बनाउनमा नेपाल प्रहरीले स्वतन्त्र, निष्पक्ष र मर्यादितरुपमा निर्वाचन सफलतापूर्वक सम्पन्न गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले भयरहित र निष्पक्ष निर्वाचनको वातावरण बनाउनु नै प्रहरीको एक मात्र उद्देश्य रहेको बताउँदै त्यसका लागि संगठन पूर्ण रूपमा तयार भएको बताए । उनले अपराध अनुसन्धानको सवालमा अनुसन्धान गर्ने, अभियोजन गर्ने र न्याय निरूपण गर्नेका बीच कहिलेकाहीँ एक अर्कालाई आक्षेप लगाउने काम हुने गरेको भन्दै तीन वटै तहका बीचमा समन्वय र सहकार्य सुमधुर हुनुपर्ने बताए ।

उनले अपराध अनुसन्धानलाई सहज बनाउन नै प्रदेश स्तरीय गोष्ठीको आयोजना गरिएको बताए । अहिले धेरै अपराध प्रविधिसँग जोडेर हुन थालेको भन्दै उहाँले प्रदेशस्तरमै साइबर क्राइमसम्बन्धी उजुरी दर्ता गर्ने व्यवस्था मिलाउन प्रदेशका गृह तथा सञ्चार मन्त्रीसँग आग्रह समेत उनले गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप