शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

युक्रेनको जापोरिज्जिया आणविक केन्द्र विस्फोट भयो भने के हुन्छ ?

मङ्गलबार, ३१ साउन २०७९, १६ : ४७
मङ्गलबार, ३१ साउन २०७९

गत बिहीबार राति जापोरिज्जिया आणविक संयन्त्रमा पुनः गोलाबारी भएपछि युक्रेन र रुसबीच दोषारोपण सुरु भयो । युरोपको सबैभन्दा ठूलो र विश्वको शीर्ष १० मा पर्ने यो संयन्त्रले युक्रेनको आणविक विद्युतको झण्डै आधा विद्युत उत्पादन गर्छ । तर युक्रेन युद्ध सुरु भएको केही समयदेखि यो संयन्त्र रुसी नियन्त्रणमा छ । 

संयुक्त राष्ट्र संघले आणविक केन्द्र वरपर हुने सैन्य गतिविधिले गम्भीर स्थिति निम्त्याउन सक्ने भन्दै दुबै पक्षलाई ऊर्जा केन्द्र नजिक सैन्य गतिविधिहरू बन्द गर्न आह्वान गरेको छ ।  पछिल्लो आक्रमणमा उर्जा संयन्त्रभित्रको रेडियोधर्मी अवशेष भण्डारण क्षेत्रमै क्षति पुगेपछि पनि धेरै त्रसित बनेका छन् ।  

जापोरिज्जिया संयन्त्रमा गोलाबारीमा भएको पछिल्लो वृद्धिपछि आईएईएले आणविक संयन्त्रको मूल्याङ्कन र सुरक्षा व्यवस्थाका लागि विशेषज्ञ मिशनलाई संयन्त्रमा अनुगमन गर्न दिने आह्वान गरेको छ ।  
धेरै युक्रेनीहरुलाई अहिले जापोरिज्जिया केन्द्रमा भएका सैन्य गतिविधिले चेर्नाेविल आणविक केन्द्रमा भएजस्तै दुर्घटना दोहोरिने हो की भन्ने चिन्ताले सताएको छ । युक्रेनमै रहेको सोभियतकालिन चेर्नोविल आणविक संयन्त्र सन् १९८६ मा विस्फोट हुँदा युक्रेनको उत्तरी आकासमा विकिरण फैलाएको थियो । 

कसरी हुनेछ आणविक दुर्घटना ?
‘आणविक संयन्त्रका रियाक्टरहरुलाई नियमित ठण्डा बनाइरहनु पर्छ । यदी रियाक्टरलाई चिस्याउन त्यसतर्फ पठाइएको पानीको धार बन्द गरियो, रोकियो वा घटाइयो भने रियाक्टर चिसो हुन पाउँदैन र त्यहाँस्थित इन्धन पग्लिन्छ । त्यसले उच्च दबाब सिर्जना गर्छ र अन्तत विस्फोट हुन्छ ,’ ब्रिटिस कोलम्ब्यिा विद्याविद्यालयका प्रध्यापक एमभी रामनले भने । 

रेडियोधर्मी विकिरण कुन दिशातर्फ बढि बहन्छ भन्ने कुरा त्यस समयको मौसमले पनि धेरै असर गर्छ । जापोरिज्जिया आणविक संयन्त्र युरोपको मध्य भागमा रहेकाले यो युरोपको सबै भागमा पुग्न सक्ने बताइँदैछ । 
केही विज्ञले भने रियाक्टर विस्फोट नभइकन पनि रेडियोधर्मी विकरिण संयन्त्रबाट चुहिन सक्ने र त्यसले पनि ठूलो असर गर्ने चिन्ता गरिरहेका छन् । 

विस्फोट भए के हुनेछ ?  
आणविक संयन्त्र विष्फोट भए वा रेडियोधर्मी विकिरण चुहिए, लगत्तै अदृश्य रेडियोधर्मी बादल फैलिन थाल्छ । त्यसबाट बच्न ठूलो संख्यामा मानिसहरु त्यस क्षेत्रबाट बाहिरिनेछन् ।  रेडियोधर्मी किरणको अदृश्य हुन्छन्, हावामा तिनको स्तर संवेदनशील उपकरण प्रयोग गरेर मापन गर्न सकिन्छ । हावामा उच्च परिणामको विकिरणले रेधियोधर्मी विषाक्तता वा क्यान्सरजस्ता रोग बढाउँछ । 
उच्च परिणामको रेडियोधर्मी विकिरणको सम्पर्कमा आएका व्यक्तिमा तत्काल विषाक्त असर पर्छ । 

मध्यमस्तरको विकिरण विषाक्तताबाट पीडित मानिसहरु भने केही दिनदेखि हप्ता वा अझ महिनौपछि निको हुन्छन् । न्युन र मध्यमस्तरको विकिरणको सम्पर्कमा आएका मानिस रेडियोधर्मी विषाक्तताबाट मुक्त भएपछि उनीहरूलाई वर्षौं अझ दशकौंपछि क्यान्सर देखिन सक्छ । 

विज्ञहरूले युद्ध क्षेत्रमा उद्दार अभियान संचलान गर्न थप जटिल हुने बताए । हुनत: धेरै मानिसहरूले पहिले नै सो क्षेत्र छोडिसकेका भए पनि अहिले पनि उल्लेखनीय संख्या बसिरहेका छन् । 
विकिरणको सम्पर्कमा आउनासाथ तुरुन्त मर्ने संख्या कम भए पनि यसका दीर्घकालिन असरहरू हुनेछन् । जसमा विभिन्न घातक रोग र विशेषत क्यान्सर रोगको सम्भावना पर्छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप