बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

आम निर्वाचनमा राप्रपासँग पनि तालमेल हुनसक्छ : कमल थापा

यस्ता छन् राप्रपा नेपालको केन्द्रीय समिति बैठकका निर्णय
मङ्गलबार, ३१ साउन २०७९, २० : ००
मङ्गलबार, ३१ साउन २०७९

राप्रपा नेपालका अध्यक्ष कमल थापाले राजेन्द्र लिङ्देन नेतृत्वको राप्रपासँग पनि आम निर्वाचनमा तालमेल हुनसक्ने बताएका छन् । आवश्यकताका आधारमा सीमित प्रदेश र संघीय निर्वाचन क्षेत्रमा चुनावी तालमेल गर्ने केन्द्रीय समिति बैठकले निर्णय गरेको र सोअनुसार जुनसुकै पार्टीसँग पनि चुनावी तालमेल गर्न सकिने उनको भनाइ छ । 

मंगलबार पार्टीको केन्द्रीय समिति बैठकको निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा थापाले भने, ‘चुनावी तालमेलका लागि सबै दलहरूसँग संवादको ढोका खुला राखेका छौँ । राप्रपासँग पनि सहकार्य र तालमेल हुन सक्छ ।’ यद्यपि कुनै पनि पार्टीसँग चुनावी तालमेलका लागि छलफल भने सुरु नभइसकेको उनको भनाइ छ । गत महाधिवेशनमा राप्रपाको अध्यक्षमा राजेन्द्र लिङ्देनसँग पराजित भएपछि थापाले राप्रपा नेपाललाई पुनर्गठन गरेका थिए । उनले आफूलाई निर्मल निवासले चुनाव हराउन भूमिका खेलेको दाबी गर्दै आएका छन् । तर राजेन्द्र लिङ्देनले यसबारे पार्टीमा छानबिन गर्न नचाहेपछि पार्टी छाड्न बाध्य भएको दाबी जिकिर रहँदै आएको छ । 

थापाले आफूहरु हालको संवैधानिक व्यवस्था मानेर निर्वाचनमा जान लागेको बताए । उनले राजसंस्था पुनर्स्थापनाको एजेण्डालाई कार्यनीति नबनाएको उल्लेख गर्दै भने, ‘राजतन्त्र र गणतन्त्र र विवादमा नफसिकन हामी निर्वाचनमा जाँदैछौँ । पार्टीमा राजसंस्थाको एजेण्डा छलफलको जारी रहेकाले उपयुक्त समयमा आवश्यकताका आधारमा निर्णय लिन सकिन्छ ।’ थापाले केन्द्रीय समिति बैठकले पूर्ण धार्मिक स्वतन्त्रतासहितको हिन्दुराष्ट्र पुनर्स्थापनाको प्रयासस्वरुप आगामी भाद्र अन्तिम हप्तामा मेची महाकाली राष्ट्रिय स्वाभिमान यात्रा गर्ने जानकारी दिए । यस्तै बैठकले बढ्दो भ्रष्टाचारप्रति चिन्ता व्यक्त गर्दै संकास्पद व्यक्तिहरुको सम्पत्ति छानबिनका लागि ‘सम्पत्ति छानबिन आयोग’ गठन गर्न माग गरेको छ।  

यस्तै पार्टीलाई चुनावअघि बलियो बनाउने रणनीतिअनुसार भाद्र मसान्तभित्र सबै पालिकाका वडाहरूमा इकाइसमिति गठन गर्ने, कात्तिक १५ भित्र निर्वाचन बुथमा बुथ कमिटी बनाउने, भाद्र २१ भित्र प्रदेश र संघीय निर्वाचनमा सहभागी हुने सम्भावित उम्मेदवारको सूची जिल्लामा पठाउने र भाद्र २५ सम्मा केन्द्रमा जिल्लामार्फत पठाइसक्नुपर्ने गरी राप्रपा नेपालले निर्णय गरेको छ।  यस्तै भाद्र मसान्तभित्र प्रत्यक्ष र समानुपातिक उम्मेदवारको टुंगो लगाउने निर्णय पनि राप्रपा नेपालले गरेको छ।  यस्तै असोज पहिलो साता वीरगन्जमा वृहत राष्ट्रिय भेला आयोजना निर्णय पनि राप्रपाको भनाए छ । 

राप्रपा नेपालले नागरिकता विधेयक राष्ट्रपतिले फिर्ता पठाएकोमा स्वागत गर्दै सो विधेयक हतारमा पारित गर्नुको साटो केही महिनाभित्रमा आउने नयाँ जनादेशबाट टुंगो लगाउन आग्रह पनि गरेको छ।  यस्तै बैठकले पार्टी अध्यक्षको संयोजकत्वमा केन्द्रीय निर्वाचन परिचालन समिति गठन गरेको छ  भने अध्यक्षकै संयोजकत्वमा निर्वाचन घोषणा तयारी समिति बनाएको छ । यस्तै निर्वाचनका लागि स्रोत परिचालन समितिको संयोजकत्वमा दमन बस्नेतलाई चयन गरिएको छ ।


  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप