सोमबार, १० मङ्सिर २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

भौचरमा आधारित छात्रवृत्तिले शिक्षामा स्थानीय सरकारले गर्न सक्छन् कायापलट

मङ्गलबार, ३१ साउन २०७९, १२ : १०
मङ्गलबार, ३१ साउन २०७९

स्थानीय  सरकार र अभिभावकका लागि भौचरमा आधारित छात्रवृत्ति अति नै उपयोगी हुन्छ । बच्चाको पढाई खर्च भर्न नसक्ने अभिभावक तथा पालिकामा आवश्यक प्राविधिक जनशक्तिको व्यवस्थापन गर्न र स्थानीय सरकार जनउत्तरदायी बनाउन भौचरमा आधारित प्राविधिक शिक्षा छात्रवृत्ति आजको आवश्यकता हो ।

नेपालको संविधान २०७२ ले नागरिकको मौलिक हकभित्र ‘शिक्षा र स्वास्थ्य राज्यको दायित्व हुनेछ, भनिएकाले प्राविधिक शिक्षाको दायित्व पुरा गर्नु पनि हो ।

यो छात्रवृत्तिमा नेपालका तीन तहका सरकारको ध्यान जानुपर्दछ । नागरिकको निःशुल्क पढ्न पाउने हक कायम गर्दै लैजानु संविधान कार्यान्वयन गर्नु हो । तसर्थ यो भौचरमा आधारित छात्रवृत्ति स्थानीय सरकारले लागु गर्नु उपयुक्त हुन्छ ।

देशको अर्थतन्त्र सवल नहुँदासम्म प्राविधिक शिक्षामा मात्र लगानी गर्नेसीप, दक्षता र रोजगारीसँग जोडिएको प्राविधिक शिक्षा पहिलो रोजाई हुनुपर्छ । विद्यार्थीलाई स्थानीय सरकारमार्फत् भौचरमा आधारित प्राविधिक शिक्षा छात्रवृत्ति उपलव्ध गराउँदै जानुपर्छ । केही वर्षमा स्वास्थ्य, कृषि, भेटेनरी, होटल व्यवस्थापन, ईन्जिनियरिङ्ग र अन्य आवश्यक प्राविधिक दक्ष जनशक्ति सबै पालिकामा सजिलै उपलव्ध हुने उपाय हो यो ।

जव देश आर्थिक रुपमा सवल हुन्छ, तब प्राविधिक शिक्षामा मात्र हैन, साधारण शिक्षामा पनि छात्रवृत्ति उपलव्ध गराउनु पर्दछ । तर हालको शिक्षा नीति पुनः सीपविहीन र वेरोजगार प्राविधिक जनशक्ति उत्पादन गर्नेतर्फ उन्मुख छ । हामीले यसलाई रोक्न सक्नुपर्छ ।

अहिले प्रत्येक पालिकामा शिक्षालय खोल्ने तर विद्यार्थीले रोजेको विषय पढ्न नपाउने अवस्था छ । गाउँमा एउटा प्राविधिक शिक्षाको कार्यक्रम सञ्चालन गर्न समेत धौ–धौ छ । चार–पाँच वटा कार्यक्रम कसरी चलाउने ? धेरै वटा विषय नभई विद्यार्थीले विषय छनोट गर्ने अवसर पाउँदैन, तव उ सहर पस्न बाध्य हुन्छ । गाउँमा कक्षा कोठा खाली हुन्छन् । यसरी सरकारले दिएको अनुदान बालुवामा पानी हुन्छ ।

गाउँमा पढाउने शिक्षक पाइँदैन । एउटा विषयको शिक्षालय चलाउन कम्तिमा ११ जना प्राविधिक शिक्षक चाहिन्छ । एक वा दुई जनालाई पढाउन दिंदा प्राविधिक शिक्षाको परिचय मात्र पढ्ने हो । झन दुई वर्षे प्राविधिक धारमा पढ्ने विद्यार्थीले त प्राविधिकको सर्टिफिकेट मात्र हातमा लिने हुन् । प्रयोगात्मक अभ्यास नभएर उनीहरु श्रम बजारमा अयोग्य ठहरिन्छन् । यसरी प्राविधिक बेरोजगार उत्पादन गर्नु सामाजिक अपराध हो ।

भौचरमा आधारित छात्रवृत्ति प्रदान गर्दा विद्यार्थी आफैले आफू पढ्ने कलेज खोज्छ । पढ्ने विषय आफै रोज्छ । शुल्कको एकिन उसैले गर्छ । तर पढ्न पठाउने विद्यार्थीको छनोट भने पालिकाले गर्नुपर्छ । छनोट भएका विद्यार्थीले मात्र छात्रवृत्ति पाउँछन् । विद्यार्थीले कलेजमा बुझाएको शुल्कको रसिद पालिकामा बुझाउने हो । पालिकाले रसिदअनुसार भौचर खडा गरी विद्यार्थीको नाममा भुक्तानी दिने हो । पढ्नका लागि भौचरमा लिएको रकम पढाईपछि विद्यार्थीले पालिकामा काम गरेर फिर्ता गर्ने हो । यो पद्धति नै भौचरमा आधारित छात्रवृत्तिको आधार स्तम्भ हो ।

यसको नाम ‘भौचरमा आधारित प्राविधिक शिक्षा छात्रवृत्ति कार्यक्रम’ राखिएको छ । विद्यार्थीले जति अवधिको पढाईका लागि भौचर लिएको हुन्छ, त्यति नै अवधि पालिकाले तोकेको तलब र पदमा रहेर काम गर्नुपर्छ । र, तोकिएको प्रतिशतका आधारमा तलबबाट रकम कट्टा गरी सम्पूर्ण भौचर फिर्ता गर्नुपर्छ । यो छात्रवृत्तिको प्रचलन विकसित देशहरुमा धेरै वर्ष अघिदेखि चल्दै आएको छ । तर हाम्रो देशमा यो प्रचलन नौलो हो ।

छात्रवृत्तिको सकारात्मक पक्ष

भौचरमा आधारित प्राविधिक शिक्षा छात्रवृत्ति प्राप्त गर्दा विद्यार्थीका अभिभावकले पढाई शुल्कको भार बोक्नु पर्दैन । विद्यार्थीले शुल्क बुझाउने तनाव बिना अध्ययन पुरा गर्न सक्छ । पालिका जनउत्तरदायी देखिन्छ । आफ्नै पालिका भित्रका उपयुक्त विद्यार्थीलाई छनोट गरी दक्ष प्राविधिक बनाउने अवसर जनप्रतिनिधिलाई हुन्छ, जसले समाज परिवर्तनमा अति नै महत्व राख्दछ ।

सबै पालिकाहरुमा दलित, जनजाति, आदिवासी, लोपोन्मुख, हलिया, कमैया, सीमान्तकृत, महिला र विपन्न वर्गका परिवारमा जन्मेका बच्चाहरुले समेत प्राविधिक शिक्षामा दक्षता हासिल गर्ने मौका प्राप्त गर्नेछन् भने सानो तहबाट सरकारी सेवामा प्रवेश गरी राज्यको उच्च तहमा पुगेर नीति निर्माण गर्न सक्ने हुन्छन् । पालिकाले विद्यार्थीलाई अध्ययन अवधिमा भुक्तानी गरेको भौचर रकम आफ्नै पालिकामा काम गरेर फिर्ता दिने अवसर पाउँछन् । स्थानीय नागरिकले दक्ष जनशक्तिबाट सजिलै सेवा प्रप्त गर्छन् । यो छात्रवृत्तिबाट संविधानको भावना समेटिन्छ । त्यसैले यो नेपालका लागि अपरिहार्य छ ।

यो छात्रवृत्ति दिँदा पालिका, विद्यार्थी र अभिभावकबिच लिखित सम्झौता गरी तिनै पक्षले प्रतिवद्धता जनाउनु पर्छ । सम्झौता उलंग्घन गर्दा क्षतिपूर्ति दिने व्यवस्था हुनुपर्दछ । साथै विद्यार्थीको रोजाईमा परेको कलेजसँग पालिकाले पढाई अवधिमा बुझाउनुपर्ने रकमको फेहरिस्त माग्नुपर्छ । त्यसकै आधारमा भौचरको रकम भुक्तानी गर्नुपर्छ ।

विद्यार्थीको नाममा जसरी बार्षिक रुपमा रकम भुक्तानी गरिन्छ, त्यसै गरी उसले तलब लिदा बार्षिक रुपमै तोकिएको अवधिभित्र सम्पूर्ण रकम फिर्ता हुने गरी मासिक रुपमा कट्टा गर्नु पर्दछ ।

छात्रवृत्तिको उपलब्धि

यो छात्रवृत्तिको निम्न उपलब्धि छः

संविधान बमोजिमको शिक्षासम्बन्धि मौलिक हकको कार्यान्वयन हुन्छ ।

आफ्नो पालिकालाई आवश्यक पर्ने प्राविधिक जनशक्ति आफैले उत्पादन गर्न पाउने अवसर हुन्छ ।

स्थानीय नागरिकबाट प्राप्त भएको राजस्व प्रत्यक्ष रुपमा स्थानीय नागरिकले उपयोग गर्न पाउँछन् ।

पालिकाले गरेको लगानीको प्रतिफल पालिकाकै नागरिकले सहजै उपभोग गर्न पाउँछन् ।

उत्पादित प्राविधिक जनशक्ति सजिलै रोजगार हुने, दक्षता हासिल गर्ने, नागरिकले सेवा पाउने र पालिकाको शैक्षिक सुधार हुनेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप