प्रेरक प्रसङ्ग : पञ्चमहायज्ञ के, किन र कसरी ?

person explore access_timeसाउन ३०, २०७९ chat_bubble_outline0

मानवजीवनमा पञ्चमहायज्ञको महत्वपूर्ण स्थान छ, जसलाई वैदिकग्रन्थहरूले विशेष महत्वका साथ गाएका छन् । मानवजीवन आफैँमा जीवनमात्र होइन तमाम पूर्वजहरूका नासो पनि हो । यसमा देवीदेवतादेखि पशुपक्षीसम्म र ग्रहनक्षेत्रदेखि रुख बिरुवा वनस्पतिसम्मको स्नेह, सहयोग छ । हाम्रो जीवन बनाउने पनि तिनीहरूले नै हुन् बचाउने र बढाउने पनि तिनीहरूले नै हुन् । उनीहरूका निम्ति आफ्नोतर्फबाट पनि केही गरी कृतकृत्य हुनका लागि नै वैदिक ग्रन्थहरूमा यसका उल्लेख भएका हुन् । भाइबहिनीहरूका लागि यहाँ यसैबारे केही जानकारी दिने प्रयास गरिएको छ ।


पञ्चमहायज्ञ भनेका मानिसले प्रत्येक दिन गर्नुपर्ने पाँचवटा यज्ञ हुन्, जसलाई देवयज्ञ, पितृयज्ञ, ऋषियज्ञ, मनुष्य यज्ञ र भूतयज्ञ भनिन्छ । तीमध्ये देवयज्ञ भनेका देवीदेवताका सम्मानमा गरिने यज्ञ हो । त्यस्तै पितृयज्ञ भनेका पितृहरूका सम्झनामा गरिने यज्ञ हो । त्यसैगरी ऋषियज्ञ भनेका ऋषिहरूका सम्मानमा गरिने क्रियाकलाप हुन् भने मनुष्ययज्ञ भनेका मानवहितमा गरिने कार्य र भूतयज्ञ भनेका पशुपक्षी, कीराकमिला, रुखबिरुवा वनस्पतिका संरक्षणमा गरिने कार्य हुन् ।



प्राय हामी के बुझ्छौँ भने देवता भन्ने बित्तिकै ३३ कोटी देवता हुन् । यसैका आधारमा कतिलाई लाग्न सक्छ कतै देवीदेवता पनि ३३ कोटी हुन सक्छन् । झट्ट सुन्दा लाग्ने त्यस्तै हो तर त्यो रूपमा मात्र हो सारमा होइन । सारमा त यही हो कि ३३ कोटी भनेका ३३ करोड नभई ३३ किसिमका हुन्, जसमा अष्टवसु, द्वादशादित्य, एकादशरुद्र, इन्द्र र प्रजापति पर्छन् । यिनीहरूमध्ये कति पृथिवी स्थानीयमा पर्छन्, जसको प्रतिनिधित्व अग्निले गरेका छन्, कति अन्तरिक्ष स्थानीयमा पर्छन्, जसको प्रतिनिधित्व वायुले र कति द्युस्थानीयमा पर्छन्, जसको प्रतिनिधित्व सूर्यले गरेका छन् । देवयज्ञ भनेका तिनै देवताका सम्झना, सम्मान, संरक्षण र सदुपयोगमा गरिने कार्य हुन् । 



अग्नि, वायु, सूर्य भनेका हामीलाई नभइ नहुने प्राकृतिक तत्व हुन् । यसै अर्थमा उनीहरूलाई देवता भनिएको हो । यिनको अभावमा न हाम्रो जीवन बन्न सक्छ न बच्न नै सक्छ तर यिनीहरू जति उपयोगी छन् त्यति नै खतर्नाक प्रकृतिका पनि हुन्छन्, जसले सदुपयोग हुँदा वा गर्दा जीवन दिन सक्छन् भने दुरुपयोग हुँदा वा गर्दा लिन पनि सक्छन् । आगो दुरुपयोग भए आगलागी हुन्छ, वायु दुषित भए सासफेर्न गाह्रो पर्छ र सूर्यकिरण दुषित भए अनेक किसिमका रोग लाग्न सक्छन् । त्यसैले तिनीहरूका सदुपयोगमा गरिने सबै कार्य देवयज्ञमा पर्छन् । यसैका लागि नै वैदिक ग्रन्थहरूमा त्यस्तो विधान गरिएको हो ।

देवयज्ञपछि पितृयज्ञको कुरा आएको छ । यो भनेको पनि आफैँमा पूर्वजप्रति गरिने सम्झना र सम्मान बाहेक केही होइन । हामीले जुन श्राद्ध भन्ने गरेका छौँ त्यो पनि उनीहरूप्रतिको श्रद्धा र सम्मान नै हो । प्रायः हामी श्राद्ध भन्ने बित्तिकै पितृहरूलाई दिइने पिण्डपानी हो भनेर बुझ्ने गर्छौँ । यो संस्कार र संस्कृतिको कुरा हो आ–आफ्ना कुल परम्परा अनुसार गर्नुपर्छ, गर्दा हुन्छ तर श्राद्ध भनेको त्यतिमात्र चाहिँ होइन । पूर्वजहरूका कुरा सुन्ने, उनीहरूले देखाएका बाटो हिँड्ने र उनीहरूप्रति श्रद्धा र सम्मान गर्ने कार्य सबै श्राद्ध नै हुन् । यही नै पितृयज्ञ हो र यसैका लागि नै पितृयज्ञको विधान गरिएको हो ।

ऋषिमुुनिहरू भनेका शिक्षाको महत्व देखाएर पढ्ने व्यवस्था मिलाउने विज्ञ जनहरु हुन्, जसले लामो तपस्याद्वारा शिक्षाको महत्व थाहा पाए र त्यसलाई व्यवहारमा उतार्ने पाठ्यक्रम तथा पाठ्यपुस्तकको व्यवस्था गर्ने तरिका सिकाए । त्यसैले राम्रोसँग पठन पाठन गर्ने, ज्ञानी, गुणी, विवेकी हुने, नजानेको कुरा सोध्ने, जानेको कुरा बताउने अर्थात् ज्ञान बाँडेर देश र समाजको सेवा गर्नु नै ऋषियज्ञ हो, यसैका लागि नै यसको व्यवस्था गरिएको हो ।

मनुष्ययज्ञ भनेको मानिसहरूको हित र समुन्नतिमा गरिने काम हो । मानिसलाई सबैभन्दा बढी सहयोग मानिसकै चाहिन्छ । सहयोग त अन्य चीजको पनि चाहिन्छ तर सर्वाधिक महत्व मानवीय सहयोगकै हुने गर्छ । अन्य चीजको सहयोग पनि मानवीय सहयोगमार्फत् नै प्राप्त हुने हो । यसैका निम्ति नै मनुष्ययज्ञको व्यवस्था गरिएको हो । भोको मानिसलाई खान दिनु, योगी, संन्यासी र अतिथिहरूको सम्मान गर्नु, नजान्नेलाई सिकाउनु, बाटो नदेख्नेलाई देखाउनु, बालक, वृद्ध तथा रोगी र अशक्तलाई आफूले सकेको सहयोग गर्नु सबै मनुष्ययज्ञमा पर्छन् । यसैका लागि नै यसको व्यवस्था गरिएको हो ।  

मानवजीवनमा पशुपक्षी, कीरकमिला, रुखबिरुवा, वनस्पतिको पनि उत्तिकै सहयोग रहेको हुन्छ । उनीहरूकै कारण हाम्रो जीवन सम्भव भएको हो, सम्बर्धन भएको हो । यसको गुन तिर्नकै लागि पनि उनीहरूका निम्ति केही न केही गर्नैपर्ने हुन्छ । त्यसैले पशुपक्षीलाई माया गर्ने, कुटपिट वा त्यस्तै अन्य हिंस्रक कार्यगरी दुःख नदिने, वन फँडानी नगर्ने, वृक्षारोपण गरी वनजङ्गलको संरक्षण गर्ने, डढेलो लगाएर वन सखाप नगर्ने जस्ता कार्यमा ध्यान दिनुपर्ने हुन्छ ।  यही नै भूत यज्ञ हो, यसैका निम्ति यसको विधान गरिएको हो ।                                                                                                    

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।