शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

राम्रो काम गर्न सके सङ्घीयता विरोधी आवाज मत्थर हुँदै जान्छ : अध्यक्ष तिमिल्सेना

सोमबार, ३० साउन २०७९, २१ : ३१
सोमबार, ३० साउन २०७९

राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सङ्घीयता विरुद्ध योजनाबद्ध ढङ्गले प्रहार भइरहेकाले प्रदेश र स्थानीय तहले उत्कृष्ट काम गरेर देखाउनुपर्ने बताएका छन् । राष्ट्रियसभा अन्तर्गतको सङ्घीयता कार्यान्वयन अध्ययन तथा अनुगमन संसदीय विशेष समितिद्वारा आज सुर्खेतमा आयोजित ‘सङ्घीय शासन प्रणाली सबलीकरण’ विषयक अन्तरक्रिया कार्यक्रममा उनले सङ्घीयता पक्षधरहरुले व्यवहारमा राम्रो काम गर्न सकेमात्र विरोधी आवाज मत्थर हुँदै जाने बताए ।

सङ्घीयता ठीक छ भन्ने कुरा व्यवहारमा काम गरेर देखाउन आवश्यक रहेको बताउँदै उनले भने, “सङ्घीयता चाहिँदैन भन्नेहरूको मुख बन्द गर्नका लागि पनि उत्कृष्ट काम गरेर देखाउनैपर्छ ।” अध्यक्ष तिमिल्सिनाले जनतालाई सुशासन, सेवा प्रवाहमा सहजता, विकास र समृद्धिको मार्गमा अघि बढ्न सकिएमा नै सङ्घीय व्यवस्था सफल हुने विचार व्यक्त गरे । सङ्घीयताको जग स्थानीय तह भएकाले त्यसलाई बलियो बनाउनुपर्ने उनको भनाइ थियो । “जग बलियो नहुँदासम्म घर बलियो हुँदैन, सङ्घीयताको जग स्थानीय तह हो”, उनले भने, “स्थानीय तहलाई बलियो बनाउँदा देश बलियो बन्छ ।”

अन्तरक्रिया कार्यक्रममा कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले सङ्घीयता भनेकै प्रदेश तह भएको बताए । “हिजोको एकात्मक व्यवस्थामा पनि सङ्घ (केन्द्र) र स्थानीय तह थिए”, उनले भने, “प्रदेशलाई बलियो नबनाउँदासम्म सङ्घीयता बलियो हुँदैन ।” उनले अहिलेको मुख्यमन्त्रीभन्दा त्यो बेलाको जिल्ला विकास समितिको सभापति धेरै शक्तिशाली भएको टिप्पणी गरे ।

मुख्यमन्त्री शाहीले भने, “सङ्घीयतामा जाने तर प्रदेशलाई अधिकार नदिइँदा समस्या भएको छ, संविधानमा लेखिएका अधिकारका कुराहरु पनि कार्यान्वयन गर्न पाएका छैनौँ, प्रदेशलाई अधिकार दिन नखोजिएको हो भने यसलाई अहिले नै खारेज गर्दा हुन्छ ।” कार्यक्रममा कर्णाली प्रदेश सरकारका मन्त्रीहरु, सचिवहरु, प्रदेशसभा पदाधिकारी तथा सदस्यहरु, विभिन्न स्थानीय तहका प्रमुख÷उपप्रमुख, राजनीतिक दल, नागरिक समाजका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप