शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

काँग्रेस जनप्रतिनिधिहरूको आशा : केन्द्रबाट रित्तो हात फर्किदैनौँ (भिडियोसहित)

सोमबार, ३० साउन २०७९

नेपाली काँग्रेसले स्थानीय तह निर्वाचन २०७९ बाट निर्वाचित आफ्ना जनप्रतिनिधिहरूलाई सोमबारबाट अभिमुखीकरण दिन सुरु गरेको छ । काँग्रेस केन्द्रीय नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको आह्वानमा आफ्नो पार्टीबाट विजयी गाउँपालिका, नगरपालिकाका अध्यक्ष–उपाध्यक्ष, प्रमुख–उपप्रमुख र जिसस प्रमुख–उपप्रमुखलाई सोमबार र मंगलबार अभिमुखीकरण आयोजना गरिएको हो ।

प्रधानमन्त्री एवं काँग्रेस सभापति शेरबहादुर देउवाले उद्घाटन गरेको कार्यक्रम ललितपुरको हेरिटेज गार्डेनमा जारी छ । ‘सुशासन, पारदर्शिता, जवाफदेहिता, गतिशीलता सम्मुन्नतिका लागि दृढ प्रतिवद्धता’को नारासहित आयोजित कार्यक्रममा काँग्रेसले स्थानीय तहमा जनप्रतिनिधिका काम कारबाही साथै आसन्न मंसिर ४ को निर्वाचनमा पार्टीका उम्मेदवारलाई जिताउने रणनीतिका विषयमा पनि अभिमुखीकरण गराउने बताएको छ ।

यस सन्दर्भमा काँग्रेस महामन्त्री गगनकुमार थापाले अघिल्लो कार्यकालमा स्थानीय तहका प्रतिनिधिहरूसँग एउटा यस्तै तालिम वा प्रशिक्षण गर्ने अनि पाँच वर्ष भेटघाट नै नहुने भएकाले यो पटकचाहिँ केही सुधार गरेर कार्यक्रम आयोजना गरिएको बताए ।

उनले भने, ‘यस पटक अभिमुखीकरणका साथसाथै पार्टीभित्रैबाट संयन्त्र वा विभाग बनाएर पाँच वर्षसम्म जनप्रतिनिधिहरूलाई डर र भर दुवै हुनेगरी सँगै काम गरोस् भनेर यो कार्यक्रम आयोजना गरिएको हो,’ थापाले भने, ‘जनप्रतिनिधिहरूलाई अघिल्लो पटकचाहिँ निर्वाचित भएर आएको, मैले जे निर्णय गर्दा पनि हुन्छ भन्ने भयो तर, यो पटक काँग्रेसले देशैभरि जे संकल्प लिएर अघि बढेको छ, त्यो बाहिर उहाँहरू जानु भएन ।’

महामन्त्री थापाले जनप्रतिनिधिका गलत कदममा पार्टीको नियन्त्रण, नियमन चाहिने र प्रतिनिधिले गर्न खोजेका राम्रो कामका लागि नेतृत्वको भर पनि चाहिने बताउँदै यस अभिमुखीकरण कार्यक्रममार्फत जनप्रतिनिधिहरूलाई डर र भर दुवैको ज्ञान दिने बताए ।

कार्यक्रममा सहभागी जनप्रतिनिधिहरूले पनि अभिमुखीकरण कार्यक्रमले जनतासम्म पुगेर काम गर्न सहज हुने अपेक्षा गरेका छन् । विकास निर्माणका काम, योजना, बजेट तर्जुमा जस्ता विभिन्न विषयमा पार्टीको शीर्ष तहसहितको अभिमुखीकरणले जनताको सेवक भएर काम गर्न अझ सहज हुने अपेक्षा जनप्रतिनिधिहरूको छ ।

‘विषय विज्ञ र पार्टीको शीर्ष तहबाट आउने कुराले हामीलाई उत्साहित बनाउने छ भन्ने विश्वास छ’, दमक नगरपालकाकी उपप्रमुख रेगिना प्रसाईंले रातोपाटीसँग भनिन्, ‘यस्ता भेला र अभिमुखीकरण कार्यक्रम आफैमा महत्वपूर्ण हुन्छन् । यहाँ कसैले आफू सफल भएको विषय नै सुनाउनु हुन्छ भने पनि आफू सफल हुने बाटो पाइन्छ, त्यसैले अपेक्षा धेरै छन् ।’

परशुराम नगरपालिकाका नगर प्रमुख भरत बडायर जोशी पनि दुई दिने प्रशिक्षणबाट नयाँ कुरा सिकेर जाने बताउँछन् । भन्छन्, ‘त्यहाँका जनतालाई कसरी सेवा प्रवाह गर्न सकिन्छ, स्थानीय तहमा रहेका सुधारका पक्ष पनि छन् । त्यसैले अरुका अनुभव र माथिल्लो नेतृत्वले दिने सल्लाह सुझावबाट पनि हामी केन्द्रबाट रित्तो हात फर्कने छैनौं ।’

विशेष गरेर दुई दिने अभिमुखीकरण कार्यक्रमले तल्लो तहदेखि माथिल्लो तहसम्म जोड्ने एउटा सेतुको काम गर्ने र उद्देश्य अनुरूपका काम गर्न सहयोग पु¥याउने जनप्रतिनिधिहरूको विश्वास छ । यही सन्दर्भमा ललितपुरको हेरिटेज गार्डेनमा जारी अभिमुखीकरण कार्यक्रमस्थलमा नेतृत्वसहित जनप्रतिनिधिहरूसँग गरिएको भिडियो कुराकानी :

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया