शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

काठमाडौंको मुटुको ट्राफिक व्यवस्थापनका लागि सीताराम हाछेथुको ‘मास्टर प्लान’

सोमबार, ३० साउन २०७९, १६ : ००
सोमबार, ३० साउन २०७९

केही वर्षयता काठमाडौं उपत्यकाको ट्राफिक व्यवस्थापन निकै जटिल विषय बन्दै गएको छ । बढ्दो जनघनत्व, बढ्दो सवारी चाप अनि सिमित र साँघुरा सडकका कारण उपत्यकाको ट्राफिक व्यवस्थापन कार्य जटिल र चुनौतीपूर्ण देखिन्छ ।

उपत्यकाका अधिकांश चोक तथा बाटाहरु जामको चपेटामा हुने गरेका छन् । तीमध्ये पनि काठमाडौं जिल्लाको बानेश्वर, माइतीघर, थापाथली, त्रिपुरेश्वर, रत्नपार्क, जमल, पुतलीसडकलगायतका स्थानमा त झनै ट्राफिक जामको समस्या बढ्दो छ । त्यस्तै करिडोरका बाटोमा पनि यात्रु ट्राफिक जाम भोग्न बाध्य छन् । सवारी साधन दिनानुदिन भित्रिदै जाने र आवश्यक पूर्वाधार नहुँदा उपत्यकाको ट्राफिक व्यवस्थाको जटिलता झनै बढ्दो छ ।

यसै सन्दर्भमा काठमाडौं जिल्लाको थापाथली, त्रिपुरेश्वर, रत्नपार्क, जमल, केशरमहल हुँदै दरबारमार्ग, नक्साल, कमलपोखरी, डिल्लीबजार, पुतलीसडक, सिंहदरबार, माइतीघरलगायतका क्षेत्रको ट्राफिक व्यवस्थापनलाई केहि सहज बनाउन ललितपुर उपमहानगरपालिकाका नगर प्रहरी प्रमुख सीताराम हाछेथुले केही आधारहरू प्रस्तुत गरेका छन् ।

करिब तीन दशक लामो समय काठमाडौं जिल्लामा ट्राफिक प्रहरीका रुपमा काम गरेको अनुभव बोकेका हाछेथुले विशेष गरेर उल्लेखित चोक र त्यस आसपासका बाटोको सवारी चाप र ट्राफिक व्यवस्थापनमा आफूले तयार पारेको नयाँ योजना प्रस्तुत गरेका छन् ।

ललितपुर महानगरको सडक व्यवस्थापनमा समेत उदाहरणीय बनेका नगर प्रहरी प्रमुख सीताराम हाछेथुले अघि सार्नु भएको प्रोजेक्ट  अनुसार 

– ललितपुर जिल्लाको कुपण्डोलबाट काठमाडौं छिर्ने सबै सवारी थापाथली हुँदै त्रिपुरेश्वर जाने । त्यहाँबाट कालीमाटी र रत्नपार्कका लागि दुवै तर्फ छुट्टिने ।

– बबरमहलबाट माइतीघरतर्फ लागेका सबै सवारी थापाथलीतर्फ जाने र ललितपुर र त्रिपुरेश्वरका लागि छुट्टिने ।

– कालीमाटी भोटेबहाल तर्फबाट आउने सबै सवारी त्रिपुरेश्वरबाट सुन्धारा न्युरोड तर्फमात्र जान पाउने । थापाथली तर्फको बाटोमा आउन नपाउने ।

– त्रिपुरेश्वरबाट आउने सवारी साधनहरू शहीद गेट हुँदै रत्नपार्क र भद्रकाली तर्फ जान पाउने । भद्रकालीबाट शहीद गेट हुँदै सुन्धारा आउन भने नपाउने ।

– सिंहदरबारबाट भद्रकाली तर्फ जान नपाउने, माइतीघर र पुतली सडकतर्फ जान भने पाउने ।

– पुतली सडकबाट सिंहदरबार हुँदै भद्रकालीतर्फ जान नपाउने । सिधै माइतीघर तर्फ नै जानु पर्ने ।

– जमलबाट तीनधारा पाठशाला, घण्टाघर र महेन्द्र सालिकतर्फ जान नपाउने ।

– दरबारमार्ग महेन्द्र सालिक, तीनधारा पाठशालाबाट जमल तर्फ जान पाउने ( यसलाई वान वे उल्टो बनाइएको ) सँगै घण्टाघर, रत्नपार्कतर्फ जान पनि पाउने ।

– केशर महलबाट जमल तर्फ जाने नपाउन

– जमलबाट केशरमहल तर्फ जान पाउने

– ठमेलबाट जमल तर्फ जान नपाउने

– लैनचौर तर्फबाट केशरमहल हुँदै ठमेल, र नारायणहिटी संग्रहालय दरबार मार्ग जान पाउने, जमल तर्फ जान नपाउने ।

– नारायणहिटी संग्रहालय दरबार मार्गबाट केशरमहल तर्फ जान नपाउने, महेन्द्र सालिक र जय नेपाल तर्फ मात्र जान पाउने ।

– प्रज्ञा प्रतिष्ठान, राइजिङ मलतर्फ बाट महेन्द्र सालिक हुँदै दरबार मार्ग, नारायणहिटी संग्रहालय तर्फ जान नपाउने । जमलतर्फ र घण्टाघरतर्फ जान भने पाउने ।

यसरी उल्लेखित स्थानमा नयाँ हिसाबले ट्राफिक व्यवस्थापन गर्दा ट्राफिक प्रहरी र यात्रुलाई कहाँ कहाँ सहज हुन्छ त ? नगर प्रहरी प्रमुख हाछेथुले सवारी साधान क्रसिङ नहुने स्थानहरू प्रस्तुत गरेका छन् । जसमा ः

थापाथली चोक, त्रिपुरेश्वर चोक, सुन्धारा, केशरमहल, दरबारमार्ग ( नारायणहिटी संग्रहालय), महेन्द्र सालिक दरबारमार्ग, सिंहदरबार, हनुमान थान जाने बाटो र माईतिघर । यसरी उल्लेखित चोकहरूमा सवारी साधन क्रस नगर्नाले विशेष गरेर यात्रु र सवारी चालकले लामो समयसम्म ट्राफिक जाम कुर्नु नपर्ने, समयको बचत हुने, ट्राफिक प्रहरी स्वयं लाइटमा बस्नु नपर्ने, उल्लेखित क्षेत्रमा बढीमा २० जना ट्राफिक प्रहरी भएपनि पुग्ने नगर प्रहरी प्रमुख हाछेथुको दाबी छ ।

यो प्रारुप नेपाल सरकार, काठमाडौं महानगरपालिका र महानगरीय प्रहरी महाशाखालगायत सरोकारवाला निकायले तत्काल कार्यान्वयन गर्न सके कम्तिमा पनि १५ वर्ष आफ्नो आइडियाले ट्राफिक जाम व्यवस्थापन सहयोग पुग्ने हाछेथुको दाबी छ । उनले उल्लेखित क्षेत्रमात्र नभएर उपत्यका भित्रका अन्य स्थानहरूको ट्राफिक व्यवस्थापनका लागिसमेत आफुसँग ‘मास्टर प्लान’ रहेको बताएका छन् । तथापि, उल्लेखित क्षेत्र काठमाडौंको मुटु भएको र अत्यधिक सवारी आवागमनको क्षेत्रपनि भएकाले पहिले यसमै जोड दिनुपर्ने उनको भनाइ छ ।

भिडियाे अन्तर्वार्ता 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

मनोज न्यौपाने
मनोज न्यौपाने
लेखकबाट थप