शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

माओवादी बैठकको सर्कुलर नआउँदा नेताहरुमै अन्योल

सोमबार, ३० साउन २०७९, २१ : २०
सोमबार, ३० साउन २०७९

नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक गत असार २३ गते प्रज्ञा भवन कमलादीमा सम्पन्न भए पनि बैठकको ‘सर्कुलर’ भने अझैसम्म जारी हुन सकेको छैन । पार्टीको केन्द्रीय समिति बैठक सकिएको महिना दिन बित्न लाग्दासमेत बैठकको ‘सर्कुलर’ नपठाइएका कारण अन्योल सिर्जना भएको नेताहरुको गुनासो छ ।

बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पोलिटब्यूरो सदस्यको नाम तीन पटक पढेर सुनाए । अध्यक्ष प्रचण्डले कमिटीमा बस्ने नेताको नामका विषयमा पर्याप्त गृहकार्य नगरेको भन्दै बैठकमै कतिपय नेताले आपत्ति जनाएका थिए । अन्त्यमा प्रचण्डले बैठक स्थगित गरेर कमिटीमा परेका नेताहरुको नाम दोहो¥याइ तेह¥याइ पढेर सुनाए । त्यसमा पनि कतिपय नेताले प्रश्न गरेपछि थप गृहकार्य गरेर छुटेका साथीहरुलाई समेत समेट्ने बचन उनले दिएका थिए ।

अहिले केन्द्रीय समितिले पूर्णता पाए पनि पोलिटब्यूरो र स्थायी समितिले पूर्णता पाएको छैन । पोलिटब्यूरो र स्थायी समितिले पूर्णता नपाए पनि स्थायी समितिको बैठक बस्दै आएको छ । केन्द्रीय समितिमा परेका सदस्यहरुले समेत पार्टी सर्कुलर नपाउँदा आफूहरु अझै दोधारमा परेको बताए । ‘पार्टी अध्यक्ष कमरेडले केन्द्रीय समितिमा परेको भन्दै नाम पढ्नुभयो । सामाजिक सञ्जाल र फोनमार्फत धेरैले शुभकामना समेत दिनुभयो,’ एक महिला केन्द्रीय सदस्यले भनिन्, ‘पार्टीको सर्कुलर नआउँदा केन्द्रीय सदस्य हुँ कि होइन भन्नेमै कन्फ्युज हुन थाल्यो ।’

पार्टी अध्यक्ष प्रचण्डले पढेको भरमा केन्द्रीय सदस्यदेखि पोलिटब्यूरो र स्थायी समिति बनाउँदा अधिकांश नेता आफू त्यसमा रहेको हो कि होइन भन्नेमा ढुक्क हुन सकेका छैनन् । पार्टीबाट आउने सर्कुलरमा आफ्नो नाम काटिने पो हो कि भन्ने आशंका कतिपय नेतामा छ । पार्टी केन्द्रीय समिति बैठकको निर्णयबारे सर्कुलर नहुँदा धेरै नेता आफ्नो पदमा समेत विश्वस्त हुन सकेका छैनन् । तर, पार्टी स्थायी समितिमा परेका खगराज भट्टले पार्टी सर्कुलर केही दिनभित्रै आउने दाबी गरे ।

‘पार्टी बैठकको सर्कुलरका विषयमा अध्यक्षलाई भेटेर गुनासो राखेका छौँ । अध्यक्षले बैठकको सर्कुलरसहित धेरै निर्णय सार्वजनिक गर्ने भन्नुभएको छ । त्यसैले केही दिन पर्खिनुपर्ने भयो,’ रातोपाटीसँग भट्टले भने, ‘सर्कुलरमा पोलिटब्यूरो, बाँकी स्थायी समिति लगायत चुनावसँग सम्बन्धित धेरै विषय एकमुस्ट सार्वजनिक हुन्छन् ।’ पार्टी केन्द्रीय समितिले पोलिटब्यूरो, स्थायी समिति र पदाधिकारी सबै टुङ्गो लगाउन अध्यक्षलाई जिम्मेवारी दिएकाले धेरै विषय प्रस्ट हुनेगरी सर्कुलर आउने भट्टले बताए ।

पदाधिकारीको टुङ्गो चुनावपछिमात्र

पार्टी अध्यक्ष प्रचण्डले पदाधिकारी बनाउने अभिव्यक्ति बारम्बार दिए पनि संसदीय चुनाव अघि पदाधिकारीको टुङ्गो नलाग्ने सम्भावना बढ्दै गएको छ । मंसिर ४ गते प्रदेशसभा र प्रतिनिधिसभा चुनाव हुन लागेकाले पदाधिकारी चयनको सम्भावना टर्दै गएको हो । अब चुनाव आउन करिव ३ महिनामात्रै बाँकी भएकाले पदाधिकारी चयनको गृहकार्य भन्दा पनि चुनावको तयारीमा केन्द्रित हुनुपर्ने देखिएको स्रोत बताउँछ । पदाधिकारीका सम्बन्धमा आकांक्षीहरु बढी रहेको र विवादको सम्भावना पनि भएकाले आसन्न चुनावपछिमात्र यो विषयलाई टुङ्ग्याउने सम्भावना रहेको स्रोतले बतायो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप