अँगालो हालेर करङ भाँचिदिने सहकर्मी विरुद्ध महिलाले हालिन् मुद्दा

person explore access_timeसाउन ३०, २०७९ chat_bubble_outline0

एक महिलाले आफ्ना सहकर्मीलाई अदालतसम्म पुर्याएकी छिन् । चीनकी ती महिलाले आफ्नो तीनवटा करङ भाँचिदिए पछि आफूसँगै काम गर्ने व्यक्तिविरुद्ध मुद्दा दर्ता गरेकी छिन् । बेस्सरी अँगालो हालेका कारण उनको करङ भाँच्चिएको थियो ।


यो अचम्मको घटना सन् २०२१ मे महिनामा भएको हो । चीनको हुनान प्राप्तस्थित युयाङ शहरकी एक महिला आफ्ना सहकर्मीसँग कुरा गरिरहेकी थिइन् ।  त्यति नै बेला उनका एक पुरुष सहकर्मी अचानक आइपुगे र उनलाई अभिवादन स्वरुप अँगालो हाले । अँगालो हाल्दा उनलाई दुखेपछि उनी कराएकी पनि थिइन् । ती व्यक्तिले उनलाई यति दह्रोसँग अँगालो हालेका थिए कि उनलाई अफिसबाट फर्किएर घर पुग्दा पनि छाती दुखिरह्यो । तर उनी तत्काल अस्पताल गइनन् । मालिस तेल लगाइन् र सुतिन् ।



‘अल्ट्रा टाइट’ अँगालो हालेको पाँच दिनपछि ती महिलाको छाती असाध्यै दुख्न थाल्यो । उनी अस्पताल नगई बस्न सकिनन् । एक्स रे गरेर हेर्दा उनको एउटा मात्रै नभई तीनवटा करङ भाँच्चिएको पत्ता लाग्यो । दुईवटा दाहिने पट्टी र एउटा देब्रे पट्टी । छाती दुखेपछि उनी बाध्यतावश घर बस्नुपरेको, घर बस्दा कमाई नभएको र मेडिकल बिल र नर्सिङ सेवाका लागि राम्रै रकम खर्च भएको उनले बताएकी छिन् ।



उनी निको हुने क्रममा करङ भाँचिदिने पुरुष सहकर्मी उनलाई भेट्न गए । त्यतिबेला यी दुईले कुरा मिलाउन खोजे तर कुनै कुरामा सहमति हुन सकेन र कुरा बिग्रियो । आफ्नो आत्मीय अँगालोले नै महिलाको करङ भाँच्चिएको कुनै पनि प्रमाण नभएको भन्दै ती पुरुष सहकर्मीले निहुँ खोज्न थाले ।

तसर्थ ती महिलाले आफ्ना सहकर्मी विरुद्ध युयाङ सिटीस्थित युनजी अदालतमा मुद्दा दर्ता गरिन् । अँगालो हालेपछि करङ भाँच्चिएको र यसका कारण आफूले आर्थिक घाटा वहन गर्नुपरेको भन्दै क्षतिपूर्तिको मागदाबी गरेकी छिन् ।

मुद्दाको सुनुवाईको क्रममा ती पुरुषलाई न्यायाधीशले १५ सय डलर क्षतिपूर्ति प्रदान गर्न आदेश दिए । करङ भाँच्चिएको भनेर पाँच दिनपछि पत्ता लागेपनि त्यो अवधिमा महिलाले हड्डी भाँचिन सक्ने कुनै पनि गतिविधिमा भाग लिएको प्रमाण नभएको अदालतले जनाएको छ । यसका साथै, अँगालो हालेपछि महिलाको पीडादायी प्रतिक्रियाबारे अन्य सहकर्मीले अदालतमा बयान दिएका थिए ।

यो घटनाले चिनियाँ सामाजिक सञ्जालमा बहससमेत सुरु गरेको छ तर अधिकांशले महिलाको अवस्थाप्रति सहानुभूति व्यक्त गरे र साथीभाइ – सहकर्मीलाई अभिवादन गर्दा सतर्क रहन पनि सुझाए ।

 

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।