बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

वीरगञ्ज महानगरका स्थानियद्वारा ५ ट्रक मल नियन्त्रणमा

किसानले मल नपाएसम्म गाडी जान दिदैनौँ : प्रमुख
सोमबार, ३० साउन २०७९, १२ : ०३
सोमबार, ३० साउन २०७९

कृषि सामग्री कम्पनी लिमिटेड वीरगन्जले अन्य जिल्लामा लैजान लोड गरेको ५ ट्रक युरिया मल वीरगञ्ज कृषकहरुले नियन्त्रण लिएका छन् । आइतबार भारतवाट कृषि सामग्री कम्पनी प्रादेशिक कार्यालय वीरगञ्ज आइपुगेको युरिया मल दिउँसो महानगरका कृषकहरुले गोदाम घेराउ गरेर नियन्त्रणमा लिएका थिए  । 

बारा, पर्सा, मकवानपुर, पर्वत र कास्की जिल्लाको स्थानीय तहहरूको लागि लोड भएको कृषि मल महानगरको वडा नम्बर १६ भुटनदेवीस्थित गोदामघरवाटै नियन्त्रणमा लिइएको हो । नियन्त्रणमा लिएको मल महानगरको बालमन्दिर प्राङ्गणमा राखिएको छ ।  

यस्तै वीरगञ्ज महानगरका प्रमुख राजेशमान सिंहले वीरगञ्जका किसानले मल नपाएसम्म मलको गाडी जान नदिने बताएका छन् । वीरगञ्जबाट अन्य जिल्लाको लागि लोड भएको कृषि मलको ट्रक नियन्त्रणमा लिएको विषयमा महानगर प्रमुख सिंहले वीरगञ्जबाट देशभरका किसानलाई मल बाँडिदा महानगरका किसानले नपाउनु अन्यायपूर्ण काम भएको टिप्पणी गरेका छन् ।

‘हामीले ८ हजार मेट्रिक टन मल मागेकोमा अहिलेसम्म जम्मा १६ सय बोरा दिने भन्ने कुरा भएको छ, त्यो मल लिएर के गर्ने, कसलाई दिनु, कसलाई नदिनु’ महानगरप्रमुख सिंहले भने, ‘मेरो एउटै भनाइ छ पर्साका किसानले मल पाउनुपर्यो, मल वीरगञ्जबाट देशभर दैनिक ५०  देखि सय गाडी जाने तर यहाँका किसानले मल नपाउने, हामीले चाहिँ धुलो मात्रै खाने ?’

३२ वटा वडा रहेको वीरगञ्ज महानगरमा १७ देखि ३२ नं वडा कृषि उत्पादन निर्भर रहेको छ । महानगरका किसानहरुका लागि कम्तीमा ८ हजार मेट्रिक टन मल आवश्यक भएपनि कृषि सामग्रीले भने २७ सय बोरा मात्रै मल दिएको महानगरले गुनासो गरेको छ । 

महानगरप्रमुख सिंहले ८ हजार मेट्रिक टन मल माग भएकोमा ७ देखि साढे सात हजार मेट्रिक टन मल दिनुपर्ने बताए ।  यसैबीच कृषि सामग्री कम्पनी प्रादेशिक कार्यालय वीरगञ्जका प्रमुख चन्द्रप्रसाद चौलागाईंले वीरगञ्ज महानगरका लागि २७ सय बोरा मात्रै मल छुट्टाएर आएको बताए । डिपोबाट १६ वटा जिल्लामा तोकिएको परिणाममा मल पठाइरहेकोमा आइतबार अचानक  किसानहरुले मलखादको ट्रक नियन्त्रणमा लिएको जानकारी पाउनासाथ स्थलगत रुपमा पुग्दा मलखाद महानगरले  नियन्त्रणमा लिएको भेटिएको बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप