अरविन्दको १५० जन्म जयन्ति विशेष

महर्षि अरविन्दको यात्रा – क्रान्तिदेखि आध्यात्मसम्म

person explore access_timeसाउन ३०, २०७९ chat_bubble_outline0

भारतीय उपमहाद्वीप योगी, साधक, खोजी र सम्बोद्धि मार्गमा जीवन समर्पित पथिकहरूको इतिहासले भरिपूर्ण छ । १५ अगस्टको दिन यही शृङ्खलाका एक महान् कडी, भारतका एक विलक्षण महान् योगी र प्रखर बौद्धिक व्यक्तित्वको जन्म दिन हो । दार्शनिक, कवि, स्वतन्त्रता सङ्ग्रामका सेनानी, क्रान्तिकारी, योग साधनाका प्रकाण्ड विद्वान् तथा मौलिक व्याख्याकार, एकान्त साधनाका शिखर योगी श्री अरविन्द घोषले जन्म लिएको यो दिनको पनि आफ्नै रहस्य छ । लामो समयसम्म मुगलहरूको हुकुमी र त्यसपछि अङ्ग्रेजको गुलामी शासनको साङ्लोबाट भारत १५ अगस्त १९४७ मा स्वतन्त्र भयो र भारतमा प्रजातन्त्रको उदय भयो । आफ्नो जन्मदिन १५ अगस्तकै दिन भारत स्वतन्त्र हुन्छ भन्ने घोषणा श्री अरविन्दले ३० वर्षअघि नै गरिदिएका थिए । जब भारत स्वतन्त्र भयो र श्री अरविन्दलाई भारतीय रेडियोमा सन्देश दिन आग्रह गरियो । त्यसमा पनि उनले भने– १५ अगस्तमा भारत स्वतन्त्र भएको घटनाको पछाडि परमात्माको ठूलो आयोजना र लीला छ ।


१५ अगस्त १८७२ मा श्री अरविन्द जन्म कोलकातामा भएको थियो । उहाँका  पिता डाक्टर कृष्णधन घोष उनलाई उच्च शिक्षा दिलाएर उच्च सरकारी पदमा आसिन भएको देख्न चाहान्थे । त्यसैले उनले आफ्नो पुत्रलाई अङ्ग्रेजी जीवनशैलीमा संस्कारित गर्न पाँच सालको उमेरमा दार्जिलिङको लारेटो कन्वेन्ट स्कुलमा पठाए  र त्यसको दुई वर्षपछि मात्र ७ वर्षकै उमेरमा बेलायत पठाए । भारत स्वतन्त्रताको लडाइँको शङ्खनाद भइसकेको समयमा ७ वर्षका उमेरमा बेलायत गएका श्री अरविन्द १४ वर्षपछि सन् १८९३ मा भारत फर्के । उनले अङ्ग्रेजी, जर्मन, फ्रेन्च, ग्रीक र ल्याटिन भाषामा पूर्ण दक्षता हासिल गरिसकेका थिए । बेलायतमै श्री अरविन्द भारतको स्वतन्त्रता सङ्ग्रामलाई सहयोग गर्ने देशभक्तहरूको एक गुप्त समूहमा समावेश भइसकेका थिए । उनी अति नै प्रतिभावान् थिए । मात्र १८ वर्षको उमेरमा अत्यन्त कठिन मानिने अङ्ग्रेजहरूले प्रशासक छान्ने भारतीय सिभिल सेवा (आईसीएस) को परीक्षामा उनी प्रथम भए । तर अङ्ग्रेजहरूको गुलामी शासन–यन्त्रको पुर्जा भएर कार्य गर्न उनलाई मान्य भएन । घोडचढीको प्रयोगात्मक जाँचमा उनी उपस्थित भएनन् र त्यो सेवाबाट बाहिरिए ।



संयोगले बडौदा नरेश गायकवाडसँग श्री अरविन्दको बेलायतमै भेट भयो । गायकवाड उनको प्रतिभाबाट अत्यधिक प्रभावित थिए । अतः भारत आई बडौदाको राज्यको राजकीय सेवामा सामेल हुने आमन्त्रण महाराजले दिए । श्री अरविन्दले ६ वर्षसम्म बडौदा राज्यका विभिन्न पदमा बसेर सेवा गरे । यही कालखण्डमा उनले भारतीय आध्यात्मिक साहित्यको अध्ययन गरे । चारैतिर अङ्ग्रेजी शासनविरुद्ध देशभरी आन्दोलन चलिरहेको थियो । गुजरातमा बाल गङ्गाधर तिलकलाई भेटेपछि तिलकको क्रान्तिकारी व्यक्तित्वबाट अरविन्द धेरै प्रभावित भए । उनको हृदयमा स्वराज र देशको स्वतन्त्रताको उत्कण्ठा अझ प्रज्वलित भयो ।  



मृनालिनीसँग विवाह

उनले आफ्नो विवाहका लागि बधुको खोज पत्रिकामा विज्ञापन दिएर गरेका थिए । हिन्दु परिवारकी कन्या हिन्दु रीतिरिवाजले विवाह गर्न इच्छुक बधु चाहिएको कुरा उनले सो विज्ञापनमा उल्लेख गरेका थिए । सन् १९०१ मा उनले १४ वर्षकी मृनालिनीलाई विवाह गरे । तर अरविन्दले आफूलाई राजनीतिक जीवनमा होमिदिएपछि परिवारिक जीवनले गति लिएन । अलिपुर जेलको रूपान्तरणकारी प्रवासपश्चात श्री अरविन्दको जीवनले अन्तर्मुखी मोड लियो । मृनालिनी आफ्ना पति श्री अरविन्दप्रति पूर्णरूपले समर्पित रहिन् । वास्तवमा विवाहकै दिन श्री अरविन्दले सहधर्मिणी मृनालिनीलाई आफ्नो जीवनको लक्ष्यका बारेमा रोचक तर गहन यस्तो एक पत्र लेखेका छन्– “मेरा तीन पालगपन छन् । पहिलो, म यो गए जुग्रेको समाजको भाग भए पनि यदि मैले आफ्नो आराम या सङ्ग्रहको कुरा सोचेँ भने त्यो मेरा लागि चोरी, बेइमानी जस्तै एक घृणित कार्य हुनेछ । र्ईश्वरले जति दिएको छ, त्यसबाट केवल निर्वाह योग्य आफ्ना लागि, बाँकी सबै जनता जनार्दनलाई फर्काउन चाहान्छु । दोस्रो, मैले के निश्चय गरेको छु भने म ईश्वर प्राप्त गरेर छोड्छु । आजको सम्प्रदायवादीहरूको आडम्बरहरूमा मेरो कुनै भरोसा छैन । तर मलाई पक्का निष्ठा छ कि ईश्वर छ, उसलाई एक सच्चा मनुष्यले मात्र प्राप्त गर्न सक्छ । म मार्ग तलास गर्नेछु र त्यसमा दृढसङ्कल्पले हिँड्नेछु, चाहे कति नै श्रम, समय र कष्ट भोग्नु परोस् । यो लक्ष्यलाई म प्राप्त गरेरै छाड्नेछु । तेस्रो, आफ्नो देशलाई म आफ्नै माता जस्तो भावनाले पूज्न चाहान्छु ।”     

निर्विकल्प समाधिको प्रथम झलक

वडौदा प्रवासकै क्रममा महाराष्ट्रका एक योगी विष्णु भाष्कर लेलेसँग उनको भेट भयो । शिवपुरीबाबाले लेलेलाई श्री अरविन्द कहाँ साधना सिकाउन मैले पठाएको हुँ भन्नुभएको छ । लेलेले श्री अरविन्दमा ठूलो आध्यात्मिक सम्भावना देखे र उनलाईलाई साधनामा प्रेरित गरे । तर श्री अरविन्दले आफ्नो व्यस्त जीवनको कारण आफूलाई साधना गर्ने समय नभएको बताए । तर तीन दिनको भए पनि छुट्टी लिएर आफूसँग साधना सिक्न लेलेले पुनः आग्रह गरे । श्री अरविन्द तीन दिनको बिदा लिएर एकान्तमा साधना गर्न तयार भए । ध्यानको पहिलो चेष्टामै श्री अरविन्दलाई गहन आध्यात्मिक अनुभूति प्राप्त भयो । लेलेले उनलाई विचारको साक्षी हुन सिकाए । तीन दिनमै श्री अरविन्दको चेतना सबै विषय र रागबाट मुक्त भयो उनले निर्विचार साक्षीको अनुभूति गरे । त्यसपछि श्री अरविन्दलाई स्वयं भित्रबाट अन्तरात्माको निर्देशन आउन थाल्यो । लेले उनको यो प्रगति देखेर आश्चर्य चकित भए । उनले श्री अरविन्दलाई आफ्नो आध्यात्मिक रूपान्तरणको अघि देशको राजनीति एउटा सानो अंश मात्र हो भनी सम्झाउँदै आध्यात्ममा जीवनलाई समर्पित गरी जगत् कल्याणको बाटो रोज्ने सल्लाह दिए । तर भारतको भविष्यमाथि चिन्तित श्री अरविन्द भारतले अङ्ग्रेजहरूबाट स्वतन्त्रता प्राप्त नगरुन्जेलसम्म आफू सक्रिय राजनीति छोड्नुलाई पलायन ठान्थे । अरविन्दले आफूलाई साधनामा पूर्णरूपेण समर्पित गर्न मानेनन् । लेलेले ‘तिम्रो अन्तर गुरु जागिसकेको छ अब तिमीलाई बाहिरी गुरुको आवश्यकता पर्दैन । अन्तर आवाजलाई कहिल्यै अवज्ञा नगर्नू’ भनेर सल्लाह दिए ।

जेल यात्रा र स्वामी विवेकानन्दसँग सम्पर्क 

बडोदाको कार्य छोडेर बङ्गाल क्रान्तिकारी विद्र्रोहीको केन्द्रविन्दु भएकाले विद्रोह नेतृत्व गर्ने उद्देश्यले श्री अरविन्द बङ्गाल नेसनल कलेज कोलकातामा प्रिन्सिपल भई आए । केही बङ्गाली नवयुवकहरूले मजफ्फरपुरमा जज किङ्ग्स फोर्डमाथि बम हाने, जसमा दुई अङ्ग्रेजी महिलाको मृत्य भयो । यसमा आरोपी खुदिराम बोसले मृत्यदण्ड पाए । यही काण्डमा श्री अरविन्द प्रेरक व्यक्ति हुन भन्ने आरोप लगाइयो र ५ मई, १९०८ मा उनीसहित ३४ व्यक्तिलाई गिरफ्तार गरियो र अरविन्दलाई अलिपुर जेलमा राखियो । त्यसबेला श्री अरविन्दले क्रान्तिको ज्वाला फैलाएको भूमिकाको सराहाना गर्दै अर्का प्रखर क्रान्तिकारी सुवासचन्द्र बोसले श्री अरविन्दको पथ मेरा लागि अधिक प्रेरणादायी छ भनेर सम्झिएका छन् ।

गिरफ्तारीबाट श्री अरविन्द सुरुमा आश्चर्यचकित र दुःखी भए । तर उनलाई अन्तरहृदयबाट आवाज आयो– ‘चिन्ता नगर, पर्ख र हेर ।’ श्री अरविन्दलाई पाँच फिट चौडाइ र नौ फिट लम्बाइ भएको एकान्त काल कोठरीमा राखियो । गिरफ्तार हुनुभन्दा एक महिनाअघि ‘सारा प्रपञ्च र झन्झटबाट अलग भई एकान्तमा आऊ’ भन्ने आदेश प्राप्त भएको थियो । लेलेले पनि तिमीमाथि खतरा आएको देखिरहेको छु भनी चेताएका थिए । तर श्री अरविन्द उनको कुरा मान्न तयार भएनन् ।

स्वामी विवेकानन्दले आफूले शरीर छोड्नुभन्दा पहिलो ‘यो जगत्मा जसले पनि आत्मबोधका लागि प्रयास गर्छ भने म शरीरमा रहूँ या नरहूँ म उसलाई उसलाई मदत गर्नेछु’ भन्ने वाचा दिएका थिए । स्वामी विवेकानन्दले शरीर छोडेको ६ वर्ष भइसकेको थियो । श्री अरविन्दको ध्यानस्थ अवस्थामा स्वामी विकेकानन्दसँग सम्पर्क भयो र स्वामीजीको सशरीर दर्शन उहाँले आफ्नै कोठरीमा पाए । १२ दिनसम्म लगातार श्री अरविन्दले स्वामीजीबाट साधनाका मार्गदर्शनहरू प्राप्त गरे । स्वामी विवेकानन्दले ‘तिम्रो कार्य क्षेत्र आध्यात्म हो, भारतको मूल समस्या राजनीति होइन, यसको मूल समस्या आध्यात्मिक हो । भारत गुलाम छ, पिसिएको छ, यसको कारण आध्यात्मिक दरिद्रता र काँतरता हो । तिमी भारतको आध्यात्मिक चेतना जगाउने कार्य गर । आध्यात्मिक जागृति नभई मूल समस्याको समाधान हुँदैन’ भनेर सम्झाए ।

राजनीतिक क्रान्तिबाट अन्तरक्रान्तितर्फ 

कालकोठरीको त्यो प्रवास उहाँको साधनाका लागि वरदान सबित भयो । एकान्त माहोलमा उनका गहनतम् सम्भावना र संस्कारहरू जागृत भए । त्यो मौन अवस्थामा जीवनले आफूलाई नयाँ सम्भावनाहरूतिर डो¥याएरहेको पाए । आफूलाई एक वर्ष जेलको एकान्त कोठरीमा राखी गहन साधना गर्ने मौका प्रदान गरेकोमा श्री अरविन्दको मनमा अङ्ग्रेजहरूलाई जीवनभरी धन्यवाद भाव रहिरह्यो । उहाँको अन्तरचेतना अति संवेदनशील भयो । उहाँमा अनेक रहस्यमय अनुभूतिहरू हुन थाले । एकपटक आफ्नै कोठरी अघि रहेका कदमको वृक्षमुनि उनले श्रीकृष्णको दर्शन पाए । श्रीकृष्णबाट उनले रहस्यमय आदेश पाए– ‘तिमी राजनीति र क्रान्तिका कुरा छोडेर शुद्ध आध्यात्ममा लाग । भारतको स्वतन्त्रताको जिम्मेवारी मैले लिएँ । यो उद्देश्यको लागि उपयुक्त व्यक्ति आइसकेको छ ।’ उहाँको इसारा गान्धीतिर थियो । ‘त्यो व्यक्तिलाई पनि तिम्रो सहयोग र साधनाको शक्ति चाहिन्छ ।’ श्रीकृष्णले अझ आश्वस्त बनाउँदै श्री अरविन्दलाई भन्नुभयो– ममाथि पूर्ण विश्वास गर । भारतको स्वतन्त्रता म तिमीलाई तिम्रो जन्मदिनको उपहारको रूपमा प्रदान गर्नेछु ।’ श्रीकृष्णको कृपाले एक वर्षभित्रै श्री अरविन्द जेलबाट छुटे ।

श्री अरविन्दलाई भित्रबाट ब्रिटिस भारत छोड्ने आदेश प्राप्त भयो र त्यससँगै स्वामी विवेकानन्दकी शिष्या भगिनी निवेदिताले यस्तै सन्देश प्राप्त भएको कुरा बताइन् । भगिनी निवेदितालाई आफ्नो अन्तर्मनमा स्वामी विवेकानन्दले पठाएका सन्देशहरू प्राप्त हुन्थे । राजनीतिको पनि गहिरो नशा हुँदोरहेछ । तर श्री अरविन्दको नियतिले उनलाई अर्कै बाटोमा अघि बढ्ने तारतम्य मिलाइरहेको थियो । अब उनले राजनीतिलाई छोडेर पूर्णरूपमा साधनामा समर्पित भएनन् भने फेरि जेल या फाँसीसम्म हुनसक्छ भन्ने स्वामीजीबाट प्राप्त भएको सन्देश भगिनी निवेदिताले श्री अरविन्दलाई सुनाइन् र ब्रिटिस भारतबाट बाहिर गएर आफ्नो साधना गर्ने सल्लाह दिइन् । ४ अप्रिल १९१० मा श्री अरविन्द फ्रान्स प्रशासित पोण्डेचरी पुगी १९५० सम्म त्यहीँ प्रवास गरे । जीवनका २६ वर्ष उनी एउटै कोठामा मौन साधनारत भए । त्यहाँबाट कतै पनि निस्किएनन् ।  पुरातनकालमा शिवका अनन्य शिष्य अगस्त्य मुनिले पाण्डिचरीमै बसेर आध्यात्मको ज्योति फैलाएका थिए । उत्तर भारतबाट फेरि ठूलो योगी आउँदैछ र उसले भारतको राष्ट्रिय गौरवलाई जगाउने महान् कार्यको सुरुवात गर्नेछ भन्ने कुरा दक्षिण भारतका सन्तहरूलाई थाहा भइरहेको थियो ।  

नयाँ जीवनको सुरुवात

पोण्डीचरीका प्रारम्भका दिनहरू कष्टकर थिए । श्री अरविन्द सुरुआतका दिनमा दुई कोठाको सानो घरमा ४ शिष्यका साथ बसे । ती दिनहरू चरम आर्थिक अभाव र गरिबीका थिए । घरमा बत्ती थिएन र प्रत्येक दिन दुई मैनबत्ती किनिन्थ्यो । एक श्री अरविन्दलाई लेखपढ गर्न दिइन्थ्यो र अर्को आश्रमको सबै कार्य गर्न उपलब्ध हुन्थ्यो । बाहिरको नलमा नुहाउन पथ्र्यो । पूरै आश्रममा एउटा मात्रै तौलिया थियो । आश्रमसँग पैसै थिएन । आश्रममा बाथरुम पनि थिएन । सार्वजानिक बाथरुममा जानुपथ्र्यो । आश्रममा श्री अरविन्दले नुहाइसकेपछि मात्र अरू आश्रमवासीले त्यही तौलिया प्रयोग गर्थे ।

सन् १९१२ मा श्री अरविन्दले आफ्ना कोलकाताका मित्र मोतिलाल रोयलाई आर्थिक समस्याले आजित भएर यस्तो अत्यन्त मार्मिक पत्र पठाए– ‘आश्रममा  अहिले जम्मा आठ आना मात्र बाँकी छ र सातजना आश्रित छन् । आजको छाक त टारिएला तर भोलि के हुन्छ थाह छैन । हामीलाई सहयोग गर्ने यहाँ कोही पनि छैन । त्यसैले जसरी भए पनि ५० रूपैयाँ तुरुन्त पठाउनू र यसका लागि शारीरिक, मानसिक, आध्यात्मिक सबै शक्तिको प्रयोग गरे पनि हुन्छ । हुन त हामीलाई विश्वास छ, भगवान्ले हामीलाई हेर्छन् नै तर भगवान्को अन्त्यसम्म कुराएर परीक्षा लिने अन्यन्त पुरानो नराम्रो बानी छ ।’

औरभिलको कल्पना

सन् १९१४ मा एक फ्रान्सेली अभिजात्य जोडी पौल र मीरा रिसर्ड पोण्डिचरी आइपुगे । श्री अरविन्दलाई प्रथम पटक देख्नेवित्तिकै मीरालाई सानैदेखि आफ्नो ध्यानमा देखिरहने रहस्यमय ऋषि श्री अरविन्द नै हुन भन्ने बोध भयो । उनले श्री अरविन्दको उपस्थितिमा आनन्द, कृतज्ञता साथै भक्तिको ज्वार महसुस गर्थिन् । प्रत्येक आइतबार रिसर्ड दम्पतीले आश्रमवासीलाई सन्ध्याको भोजनमा बोलाउँथे । यही साँझ सबैले पेटभरी मिठो भोजन र उत्कृष्ट फ्रान्सेली वाइन पिउन पाउँथे । पाश्चात्य संस्कृतिमा हुर्केका श्री अरविन्द सुरुमा मांसाहारी थिए र उपलब्ध भयो भने मदिरापान पनि गर्थे । पछि साधनामा यसले व्यवधान हुने देखी यो दुवै सेवन गर्न छोडे ।

युरोपमा प्रथम विश्वयुद्ध सुरु भयो र रिसर्डलाई फ्रान्स फर्किनुपर्ने भयो तर मीरालाई श्री अरविन्दलाई छोडेर जाने मनै थिएन । श्री अरविन्दले मीरालाई सम्झाए, ‘अहिले तिमीभित्र केही सांसारिक इच्छाहरू बाँकी छन्, त्यसको निर्जरा गरिसकेपछि परिपक्व भएर मात्र फर्कनू ।’ 

सन् १९२० मा २४ अप्रिलका दिन आफ्ना पतिसँग सम्बन्धविच्छेद गरी सधैँका लागि मीरा पोण्डिचरी आइन् । श्री अरविन्दले उहाँलाई मदर (माता) भनेर सम्बोधित गर्न सुरु गरे । श्री अरविन्द अन्तरमुखी ज्ञानयोगी थिए भने मदर अत्यन्त उच्चतम् आध्यात्मिक गुणले भरिएकी कर्मठ कर्मयोगी थिइन् । श्री अरविन्दले भनेका छन्– ‘मदर र म, हामी दुवैमा एउटै दिव्य चेतना दुई रूपमा देहबद्ध भएको छ ।’ ४० वर्षको पोण्डिचरी प्रवासमा अधिकांश समय श्री अरविन्द आफ्नो आश्रमबाट बाहिर निस्किएनन् । जीवनका अन्तिम २६ वर्ष आश्रमका सबै कार्यभार मीरालाई सुम्पेर उनले कसैलाई भेटेनन् र आफ्नो कोठाबाट बाहिर निस्किएनन् । तर मीरामा भक्ति तथा समर्पण गुणको गहनता थियो जसले गर्दा श्री अरविन्दभन्दा पहिला नै मीराले सम्बोधि प्राप्त गरिन् । समर्पणले गर्दा शिष्य गुरुभन्दा पहिले सम्बुद्ध भइन् । तर त्यसपछि पनि श्री अरविन्दलाई उनी आफ्नो गुरु मान्थिन् । श्रीअरिवन्द र मीराको पार्थिव शरीरलाई एउटै समाधिमा राखिएको छ ।

ओशोले भन्नुभएको छ– गान्धीजीको सफलताको पछाडि श्री अरविन्द र रामकृष्ण मठका केही उच्च साधकहरूको साधनाको तेजोबलले काम गरिरहेको थियो । द्वितीय विश्वयुद्धमा अरू क्षति हुन नदिन र भारतको स्वतन्त्रताको लागि श्री अरविन्दले आफ्नो आध्यात्मिक तेजोबलको उपयोग गरे । यो रहस्यमय कुरा ओशोले आफ्ना प्रवचनहरूमा ठाउँठाउँमा भन्नुभएको छ । 

सन् १९४७ मा भारत स्वतन्त्र भएपछि स्वतन्त्रता सङ्ग्राममा लडेका सबै भारतीय राजनेताहरूले श्री अरविन्दको विद्वता, सादगी, साधना र स्वाधीनताप्रतिको उहाँको आदार देखेर भारतका प्रथम राष्ट्रपति हुन आग्रह गरे । तर श्री अरविन्दले यसलाई अस्वीकार गरे । उनको वक्तृत्व रेकर्ड गर्न अलइन्डिया रेडियोको टिम पोण्डिचरीमा आयो । भारतको स्वतन्त्रताले अन्य राष्ट्रहरूलाई स्वाधीन बन्न ठूलो प्रेरणा दिनेछ भन्ने धारणा श्री अरविन्दले राखे । यो विश्व इतिहासको एक अद्भूत घट्ना हो भन्दै उनले भने– म आध्यात्मिक जागरणद्वारा नै राष्ट्रको र विश्वको सेवामा समर्पित रहनेछु । 

विश्वभरीका साधकका लागि बुद्धक्षेत्र

श्री अरविन्द र मदरको विश्वभरीका साधकहरूलाई आमन्त्रण गरेर एक आध्यात्मिक सहर बनाउने अद्भूत परिकल्पना छ । यो परिकल्पनामा विश्वभरीका ५० हजार आध्यात्ममा उत्सुक साधकहरूको एउटा सहर बसोस्, जुन प्रथमचोटि एक विश्वसहर बनोस् । सबै देशका कला, संस्कृति, धर्मको त्यहाँ प्रतिनिधित्व होस् र त्यहाँ व्यक्ति जातीय, राष्ट्रिय र धर्मको सीमाबाट मुक्त भएर वसुदैव कुटुम्बकम्को उच्च आर्दशमा बसून् । पोण्डिचरीबाट २० किमि टाढा औरविलमा अहिले विश्वभरीका ५८ राष्ट्रबाट करिब ४ हजार साधकहरू स्थायी रूपमा बस्छन् ।

जसरी श्री अरविन्दको भारत स्तन्त्रता गर्ने अठोट थियो त्यस्तै प्रकृतिले सम्पन्न नेपाललाई आफ्नो राजनीतिक असझदारी र अहङ्कारको झैझगडाले दरिद्र बनाइराखेको पीडाले मलाई व्यथित बनाइरहन्छ । सबै स्रोत, शक्ति र जाँगर भए पनि राजनीतिक नेतृत्वमा जनता र देशप्रतिको समर्पणभावको कमी तथा निजी स्वार्थपूर्तिका लागि देश र जनताप्रतिको असंवेदनशीलता र  अपरिपक्वताले हाम्रो देश पनि गरिबीको भुँमरीमा फसेको छ । तर मेरो क्षेत्र राजनीतिक नभएकाले मैले आफ्नो ध्यान, साधना र तपस्याबाट गरिबीको अक्टोपसिय जकडनबाट नेपाललाई निकाल्ने दिशामा साधना गर्नुछ । यही प्रेरणा श्री अरविन्दको जीवनबाट पाइरहेको छु । मेरो गुरुको पनि मेरा लागि यही आदेश छ ।

धेरै पटक मैले औरविलको भ्रमण गरेको छु र त्यहाँ बसेको छु । त्यसको विश्व बन्धुत्वको परिकल्पना र सामूहिक साधना स्थलीको निर्माणको दर्शनले मलाई युवाकालदेखि नै धेरै प्रेरणा दिएको थियो । ओशो तपोवन बनाउने परिकल्पनाको बीजारोपण पनि औरभिलमै भएको हो । हाल ओशो तपोवनले विश्वभरीका साधकलाई साधना गराई जीवनमा विधायतकताको जुन अङ्कुर हुर्काएको छ । त्यसको बीज वास्तवमा औरविल परिकल्पनामा आधारित छ । युवा अवस्थादेखि औरभिलको भ्रमण गर्दा मलाई प्रेरणा मिल्थ्यो र लाग्थ्यो कि यदि सक्षम भएँ भने म नेपालमा पनि यस्तै अन्तर्राष्ट्रिय गाउँ बनाउने छु जहाँ सबै राष्ट्र, जाति, धर्मका व्यक्तिहरू प्रेमपूर्वक ढङ्गले बस्न सकून् ।

ओशोले विश्व शान्तिका लागि सामूहिक प्रवास तथा साधनाको कम्युनको निर्माण गर्नुभयो । सन् १९८१ मा अमेरिकाको ओरेगन राज्यमा रजनीशपुरम् नामको सहरमा संसारभरीका १ लाख साधक बसाउने योजना थियो र तीन वर्षभित्र ५ हजार साधक विश्वभरीबाट स्थायी रूपमा बस्न आइसकेका थिए । आज ओशो तपोवनमा पनि प्रत्येक वर्ष ८० राष्ट्रका साधकहरू महिनौँ बस्छन् र साधना गरिरहेका छन् ।

श्री अरविन्दको भारतका सबै मुर्धन्य राजनीतिक व्यक्तिहरूसँग गहिरो सम्बन्ध भएकाले औरभिल भारत सरकारले सहायता र प्रोत्साहन गरेको आयोजना बन्नगयो, जसलाई युनेस्को र फ्रान्सेली सरकारले पनि मान्यता दिएको छ र सबै प्रकारको सहयोग गर्दै आएको छ । औरविलमा आएर बस्ने व्यक्तिलाई भारत सरकारले निःशुल्क स्थायी बसोबासको अनुमति दिन्छ र भावनात्मक प्रतीकको रूपमा आर्थिक सहयोग पनि गर्छ । विश्वभरीबाट औरविल हेर्न लाखौँ पर्यटक प्रत्येक वर्ष आउँछन् । नेपालमा पनि यस्ता केही अन्तर्राष्ट्रिय आध्यात्मिक गाउँ बसाउने हाम्रो पनि सपना छ, जहाँ विश्वभरीका साधक जातीय, धार्मिक र राष्ट्रिय सीमा छोडेर एक विश्वपरिवार बनाएर बस्न सकून् । यो परिकल्पनाले मूर्तरूप लिन सक्यो भने यसले नेपालको अन्तर्राष्ट्रिय पहिचान र प्रतिष्ठा बढ्नेछ र साथै नेपालको आध्यात्मिक, आर्थिक र पर्यटकीय विकासमा ठूलो सहयोग पु¥याउनेछ ।    

नेपाल सरकारले यो परिकल्पनालाई सहयोग ग¥यो भने लगभग ८० राष्ट्रका व्यक्ति यहाँ आएर बस्न अहिल्यै नै तयार छन् । यो परिकल्पनालाई मूर्तरूप दिन र नेपालको ओशोका कम्युनहरूलाई अन्तर्राष्ट्रिय आध्यात्मिक गाउँ बनाउनमा हामी अनवरत प्रयासमा लागिरहेका छौँ । प्रत्येक चेतनशील प्रबुद्ध नागरिक र नेपाल सरकारलाई यस पवित्र सुन्दर परिकल्पनालाई बुझिदिन र यसलाई मूर्तरूप दिन सहयोगका लागि हार्दिक अनुरोध गर्दछु । श्री अरविन्दको पावन जन्म दिनमा यस्ता महान् योगी र उहाँको सुन्दर परिकल्पनालाई मेरो हार्दिक नमन ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।