बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

लुम्बिनीमा ‘राडर गन’ प्रयोग गर्दै ट्राफिक प्रहरी

आइतबार, २९ साउन २०७९, २१ : ४२
आइतबार, २९ साउन २०७९

-भुवन कार्की
सवारी दुर्घटना कम गर्ने उद्देश्यले लुम्बिनी प्रदेशमा ट्राफिक प्रहरीले ‘राडर गन’ (गति मापन गर्ने डिजिटल यन्त्र) प्रयोग गर्न थालेको छ । धेरैजसो दुर्घटना तीव्र गति (ओभर स्पीड) का कारणले हुने भएकाले त्यसलाई न्यूनीकरण गर्न राडर गन प्रयोगमा ल्याइएको लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

लुम्बिनी प्रदेश ट्राफिक प्रहरीसँग यसअघि एउटा मात्र राडर गन थियो र यसको खासै प्रयोग गरिँदैनथ्यो । तर गत आर्थिक वर्षको अन्तिममा प्रदेश ट्राफिक प्रहरी कार्यालयले थप दुई थान नयाँ राडर गन खरिद गरेपछि यसको प्रयोग गर्न थालिएको हो ।

लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालयका प्रहरी उपरीक्षक योगेन्द्रसिंह थापाले दिएको जानकारी अनुसार हालै खरिद गरिएका राडर गनले अहिले भैरहवा—लुम्बिनी सडक खण्डमा सवारीको गति मापन गर्न थालिएको छ ।

चार÷पाँच जनाको संख्यामा रहेका प्रहरीले यसको प्रयोग गरेर गुडिरहेका सवारी साधनको गति मापन गरी रेकर्ड प्रिन्टसमेत गर्दछन् र लापरवाही गर्ने चालकलाई ठाउँको ठाउँ कारवाही गर्दछन् । यो डिजिटल चेक जाँचबाट ओभर स्पीड गर्ने चालकलाई जरिवाना गरिन्छ ।

यसको प्रयोगले दुर्घटनामा कमी आउने ट्राफिक प्रहरीको विश्वास छ । प्रहरी उपरीक्षक थापाका अनुसार यसको प्रयोग खुला र सिधा सडकमा अर्थात् तीव्र गति गर्न मिल्ने सडकमा मात्र गरिन्छ । हाल बुटवल—भैरहवा र भैरहवा—लुम्बिनी सडक खण्डमा यसको प्रयोग भइरहेको थापाले बताए ।

सडकमा सडक विभागले संकेत गरे अनुसारको गति मापन गरिने र प्रतिघण्टा ६० किलोमिटरभन्दा बढी गतिका सवारी चालकलाई राडर गनको चेक जाँचबाट कारवाही गरिन्छ ।

अब तत्कालैै दाङ र बाँके जिल्लामा पनि राडर गन प्रयोग गरिने प्रदेश ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । मौसम प्रतिकुल हुँदा भने यसको प्रयोग गर्न मिल्दैन । एउटा राडर गनलाई करिव १५ लाख रुपैयाँ पर्दछ ।

लुम्बिनी प्रदेशमा आर्थिक वर्ष ०७६/७७ को तुलनामा ०७८/७९ मा सवारी दुर्घटनामा कमी आए पनि मृतकको संख्या भने बढेको छ ।  आर्थिक वर्ष ०७६/७७ मा सवारी दुर्घटनामा २२६ जनाको ज्यान गएको थियो भने ०७८/७९ मा २५१ जनाको ज्यान गएको प्रहरीले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप