जो भारत र पाकिस्तानको सम्बन्ध अमेरिका र क्यानडाको जस्तो सुमधुर होस् भन्ने चाहन्थे

person explore access_timeसाउन २९, २०७९ chat_bubble_outline0

बेलायतबाट स्वतन्त्र भएर पाकिस्तान र भारतमा बनेको केही महिना मात्रै भएको थियो । रक्तपातपूर्ण विभाजनबाट दुवै देश दुःखी भए पनि नेताको बोलीमा एक अर्काप्रति तिक्तता व्यक्त हुन्थेन ।   त्यतिबेला पाकिस्तानको राजधानी कराँची थियो ।


सोही सहरको समून्द्री तटमा गफिदै हिँड्ने क्रममा पाकिस्तानका संस्थापक र गभर्नर–जनरल मोहम्मद अली जिन्नाहले तत्कालिन अमेरिकी राजदूत पल एर्लिङसँग आफूले ‘पाकिस्तान–भारत सम्बन्ध अमेरिका र क्यानडा बीचको जस्तै होस् भन्ने चाहेको’ बताए । जिन्नाले यो कुरा भन्नको लागि मात्र नभनेर भित्री मन देखिको चाहना भएको बताएका थिए । 



जिन्नाको भनाइ यी दुई नवनिर्मित मुलुकबीच भविष्यमा सामान तथा नागरिकबीच सहज आवतजावतमा हुनुपर्नेतर्फ संकेत थियो । हुनपनि करिब ९००० किलोमिटर सिमाना जोडिएका मुलुकबीच सहज सम्बन्ध्ले दुवैलाई फाईदा हुने थियो । 



दक्षिण एसियाली विज्ञ डेनिस कुक्सले उनको पुस्तक ‘द युनाइटेड स्टेट्स एन्ड पाकिस्तान (१९४७–२०००): डिसईन्च्यान्टेड एलायन्स’मा सन् १९४८ मार्चमा अमेरिकी राजदूत आर्लिङबीच समुन्द्र किनार भएको कुराकानी उल्लेख गरेका छन् । कुक्स अमेरिकी विदेश मन्त्रालयमा २० वर्ष काम गरेका र यस क्रममा चार वर्ष पाकिस्तानमा बिताएका कुटनीतिज्ञ हुन् । 

भारत विभाजन हुनुभन्दा करिब तीन महिनाअघि मोहम्मद अली जिन्नाले समाचार एजेन्सी रोयटर्सका संवाददाता डन क्याम्बललाई अन्तर्वार्ता दिएका थिए । सन् १९४७ मे २२ मा चर्चित पाकिस्तानी पत्रिका डनमा प्रकाशित सो अन्तर्वार्ता अनुसार ‘जिन्ना पाकिस्तान र भारतबीच मैत्रीपूर्ण र भरपर्दो सम्बन्ध चाहन्थे । जिन्नाका अनुसार भारतको विभाजनको आधार स्थायी शत्रुता र तनाव नभएर आपसी तनाव अन्त्य हुनुपर्छ’ भन्ने थियो । 

विभाजनपछि जिन्नाले नयाँ दिल्लीस्थित उनको घर बेचे तर दक्षिण बम्बई (हाल मुम्बई)मा रहेको २.५ एकडको बंगाला भने बेचेनन् । इटालियन मार्बल र अखरोटको काठको प्रयोग गरिएको उक्त प्रसिद्ध घरसँग जिन्नाको गहिरो लगाव थियो । 

सन् १९४७ अगस्ट ७ मा विभाजनभन्दा एक हप्ता अघि जिन्नाले बम्बईका तत्कालीन प्रशासकीय प्रमुख बीजी खैरलाई उनको सम्पतिको हेरचाह गरिदिन आग्र गरेका थिए । त्यस समय जिन्नाले आफू चाडै पाकिस्तानबाट बिदा लिएर सो घरमा फर्कने बताएका थिए । 

’गान्धी वास्तवमा पाकिस्तानका बापू थिए’

अर्कोतर्फ भारतका संस्थापक मोहनदास करमचन्द(गान्धी)ले भारत र पाकिस्तानबीच शान्ति र सद्भावका लागि पाकिस्तान जाने योजना बनाएका थिए । महात्मा गान्धीका नाति र ‘द गुड बोटम्यानः ए पोट्रेट अफ गान्धी एन्ड अंडरस्ट्यान्डिङ द मुस्लिम माइन्ड’का लेखक राजमोहन गान्धीले यसबारे भने ,‘गान्धी स्वतन्त्रताको समयदेखि नै पाकिस्तान भ्रमण गर्न चाहन्थे । सेप्टेम्बर २३ मा गान्धीले खुला रुपमा आफू लाहोर र रावलपिण्डी जान चाहेको बताएका थिए । ’

उनले जिन्नालाई आफ्नो इच्छाबारे लेखेका पनि थिए । सन् १९४८ जनवरी २७ मा गान्धीको पाकिस्तान भ्रमण निश्चित गरियो । गान्धी फेब्रुअरी ८ वा ९ मा पाकिस्तान जाने तय भयो ।  तर बीचमै अर्थात जनवरी ३० मा गान्धीको हत्या भयो । 

गान्धीको हत्याबारे टिप्पणी गर्ने क्रममा पाकिस्तानका प्रधानमन्त्री लियाकत अली खानले ‘यस महत्वपूर्ण समयमा गान्धी भारतीय राजनीतिबाट विदा हुनु अपूरणीय क्षति भएको’ भनेका थिए ।  आउटलुक पत्रिकामा एक लेख्दै राजमोहन गान्धीले लेखेका छन् ,’ यदि गान्धी ’४० को दशकको उत्तरार्द्ध र ’५० को दशकको सुरुमा जिउँदो भएको भए भारत र पाकिस्तानबीचको सम्बन्ध सुधार्न सक्थे ।’

भारतका पूर्व प्रधानमन्त्री अटल बिहारी वाजपेयीका नजिकका सहयोगी सुधीन्द्र कुलकर्णी ‘म्युजिक अफ द स्पिनिङ ह्वील’का लेखक हुन् ।  उनका अनुसार गान्धीमा इस्लामप्रति सकारात्मक धारणा थियो । उनी अक्सर भन्थे –पश्चिमी विश्वमा डरलाग्दो अन्धकार हुदाँ पूर्वमा इस्लामको चम्किलो ताराले समस्याग्रस्त संसारमा प्रकाश, शान्ति र राहत दिएको थियो । इस्लाम झगडा फैलाउने धर्म होइन । 

‘म यस निष्कर्षमा पुगेको छु कि इस्लामको द्रुत प्रसार तरवारको बलमा भएको होइन । यसको विपरित यसको सरलता, तर्कपूर्ण सन्देश, यसका पैगम्बरको उच्च नैतिकताको कारण धेरै मानिसहरूले खुशीसाथ इस्लाम स्वीकारेका थिए ,’ राजमोहन गान्धीले लेखेका छन् । 

कुलकर्णीका अनुसार स्वतन्त्रताअघि गान्धी र जिन्नाबीच भएका श्रृंखलाबद्ध वार्तापछि गान्धी भारतको उत्तर–पश्चिम र पूर्वी भागका मुस्लिम बहुल क्षेत्रहरूमा आत्म निर्णयमा आधारित स्वतन्त्र राज्यको सिद्धान्तलाई समर्थन गर्ने निष्कर्षमा पुगेका थिए ।

गान्धीले यसबारेमा जिन्नासँग भनेका थिए ,‘यदि तपाई चाहानुहुन्छ भने यसलाई पाकिस्तान भन्नुहोस् ।’ यहाँसम्म की गान्धीले लाहोर प्रस्तावलाई समेत स्वीकारेका थिए ।  कुलकर्णीका अनुसार गान्धीको हत्या हुनुभन्दा केही दिनअघि उनले आफ्नो प्रार्थनासभामा ‘भारत र पाकिस्तान दुवै मेरा देश हुन्’ भन्ने घोषणा गर्ने साहस गरेका थिए ।

‘म पाकिस्तान जाने बेलामा राहदानी बोक्ने छैन...भौगोलिक र राजनीतिक रूपमा भारत दुई भागमा विभाजित भए पनि हृदयदेखि हामी मित्रवत र दाजुभाइ हुनेछौं । एकअर्कालाई सहयोग र सम्मान गर्नेछौं । हाम्रो सम्बन्ध यस्तो हुनेकी बाहिरी दुनियाँलाई हामी एकजस्तो लाग्नेछ,’ महात्मा गान्धीले उनको नियमत प्रार्थनासभामध्ये एकमा भनेका थिए । 

भारत सरकारले पाकिस्तानलाई दिनुपर्ने ५५ करोड रुपये र सैन्य उपकरण दिन अस्वीकार गरेपछि गान्धीले पाकिस्तानको पक्षमा भोक हडताल गरे । यसै कारणले भारत सरकारले जनवरी १६ मा पाकिस्तानलाई ५५ करोड दिने घोषणा गर्न बाध्य भयो । यही ‘अपराध’ को लागि जनवरी ३०, १९४८ मा एक नाथुराम गोडसेले गान्धीको हत्या गरिदिए । 

अदालतलाई दिएको बयानमा गोडसेले गान्धीविरुद्ध विष वमन गर्दै भनेका थिए ,‘जसलाई भारतमा बापू भनिन्छ... उनी वास्तवमा पाकिस्तानका बापू हुन् । उनको भित्री आवाज, उनको आध्यात्मिक शक्ति, उनको दर्शन, सबै कुरा जिन्नाको अगाडि मर्यो ।’

पाकिस्तानका संस्थापक मोहम्मद अली जिन्नाले गान्धीको हत्याबारे बोल्ने क्रममा ‘यी महामानवको निधनले सिर्जना भएको शून्यता पुर्न निकै कठिन हुने’ बताएका थिए ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।