शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

आक्रमणकारीले रुस्दीलाई १० पटक चक्कुले घोचेको वकिलको दावी

आइतबार, २९ साउन २०७९, १७ : १४
आइतबार, २९ साउन २०७९

भारतीय मूलका ब्रिटिश लेखक सलमान रुश्दीमाथि शुक्रबार न्युयोर्कमा आक्रमण भयो । रुश्दी पश्चिम न्युयोर्क सहरस्थित चौतौक्वा इन्स्टिच्युटमा बोल्ने तयारी गरिरहेको समयमा उनीमाथि आक्रमण भएको थियो ।  रुश्दीमाथि चक्कु प्रहार गर्ने २४ वर्षीय मादी मतार घटनास्थलमै पक्राउ परेका थिए । शनिबार दिउँसो उनलाई न्युयोर्कको मेभिलस्थित चौतौक्वा काउन्टी अदालतमा उपस्थित गराइएको थियो । 

अदालतमा रुश्दीका वकिलले मतारविरुद्ध मुद्दा पेस गर्ने क्रममा उनले रुश्दीलाई करिब करिब १० पटक चक्कुले घोचेको बताएका छन् ।  मतारलाई ‘योजनावद्ध रुपमा मार्ने उद्देश्यले नै आक्रमण गरेको’ र ‘अरु विरुद्ध हातहतियार प्रयोग गरेको’ मुद्दा दायर गरिएको छ । 

मतारले योजनावद्ध रुपमा आक्रमण गरेको प्रमाणका लागि वकिलहरूले मतारले कार्यक्रमस्थल पुग्न प्रयोग गरेको बसको विवरण र त्यहाँ उनले रुश्दीकै मन्तव्य कार्यक्रमको पास किनेको कागजात पेस गरे । मातरले अदालतमा केही बोलेनन् । उनको अर्को सुनुवाई अगष्ट १९ मा दिउँसो ३ बजे हुनेछ । 

सन् १९८८ मा रुस्दीको पुस्तक सटानिक भर्सेस प्रकाशित भएपछि अतिवादी मुस्लिमहरु उनीसँग निक्कै आक्रोशित छन् । इरानका सर्वोच्च नेता आयातोल्लाह खमेनीले उनीविरुद्ध हत्याको फतवा नै जारी गरेका थिए । त्यसयता उनी बेलायत र अमेरिकाका अज्ञातस्थलमा बस्दै आएका छन् ।   

शुक्रबारको चक्कु आक्रमणपछि रुस्दीलाई घण्टौं लामो शल्यक्रिया गरेर भेन्टिलेटरमा राखिएको थियो । शनिबारबाट उनी बोल्न थालिएको बताइएको छ । तथापि आक्रमणबाट रुश्दीको कलेजोमा क्षति पुगेको, एउटा हातको स्नायु छुट्टिएको र एउटा आँखाको ज्योति गुम्ने खतरा रहेको बताइएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप