शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

चुरे अभियन्ताले तेस्रो चरणको आन्दोलन अन्तर्गत मुख्यमन्त्रीको कार्यालयमा तालाबन्दी गर्ने

आइतबार, २९ साउन २०७९, १७ : ११
आइतबार, २९ साउन २०७९

चुरे तथा वन जंगलको संरक्षण र सुकुमवासीको व्यवस्थापनको माग गर्दै विगत २६ दिनदेखि जनकपुरधाममा रिले अनसनमा बस्दै आएका चुरे तथा वनजंगलको संरक्षण अभियानले तेस्रो चरणको आन्दोलनको घोषणा गरेको छ ।

आइतबार जनकपुरधाममा आयोजित पत्रकार सम्मेलनमा अभियानका राष्ट्रिय संयोजक सुनिल कुमार यादवले मधेस प्रदेश सरकारसँग भएको ७ बुँदे सहमति कार्यान्वयन नहुँदा तेस्रो चरणको आन्दोलन घोषणा गरिएको बताए । विगत २६ दिनदेखि रिले अनसन तथा विभिन्न दबाबमूलक कार्यक्रम गरे पनि प्रदेश सरकार र स्थानीय सरकारबाट सुनुवाइ नभएकाले बाध्यतावश तेस्रो चरणको आन्दोलन घोषणा गरेको उनको भनाइ छ ।

संयोजक यादवका अनुसार आन्दोलन कार्यक्रम अन्तर्गत भदौ १ गते मधेस प्रदेशका आठ वटै जिल्लाका जिल्ला प्रशासन कार्यालय अगाडि १ घण्टा धर्ना तथा ज्ञापनपत्र बुझाउने, भदौ २, ५, ६ र ७ गते आठ वटै जिल्लाका जिल्ला प्रशासन कार्यालय अगाडि एक घण्टा धर्ना दिने, भदौ ८ गते आठ वटै जिल्लाको सदरमुकाममा तीनै तहको सरकारविरुद्ध प्रदर्शन तथा कोणसभा गर्ने, भदौ ९ गते मधेस प्रदेश सरकारका मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय अगाडि मुख्यमन्त्री लालबाबु राउतको पुत्ला दहन गरी उनको कार्यालयमा ताला लगाउनेसम्मका कार्यक्रम छन् ।

अभियानका मधेस प्रदेशका अध्यक्ष अमनकुमार यादवले चुरे तथा वनजंगल संरक्षण अभियन्ताहरुले डिभिजन वन कार्यालय सिरहाका प्रमुख सुभाष दासले गरेको अनियमितता तथा मारुती सिमेन्ट उद्योगले अतिक्रमण गरेको वनको जग्गा सम्बन्धमा छानबिन गर्न मधेस प्रदेश सरकारले २०७८ भदौ ४ गते गरेको सम्झौता अविलम्ब सार्वजनिक गर्नुपर्ने, तराई मधेसका दलित, भूमिहीन सुकुमवासी र अव्यवस्थित बसोबासीहरु भूमि अधिकारबाट वञ्चित रहेकाले उनीहरुलाई तत्कालै गाँस, बास र कपासको व्यवस्था गर्नुपर्ने माग रहेको बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप