शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

कोमल वलीले गरिन् दाङ ३ बाट चुनाव लड्ने घोषणा

आइतबार, २९ साउन २०७९, १६ : ४५
आइतबार, २९ साउन २०७९

नेकपा एमाले केन्द्रीय सदस्य कोमल वलीले दाङ क्षेत्र नम्बर तीनबाट चुनाव  लड्ने घोषणा गरेकी छन् । तत्कालीन वाम गठबन्धनबाट नेकपा एमालेका नेता हिराचन्द्र केसी नेकपा एकीकृत समाजवादीतिर गएपछि वलीले एमालेबाट चुनाव लड्ने तयारी गरेकी हुन् । 

केसीले पाँच दलीय गठबन्धनबाट प्रतिनिधिसभा चुनाव लड्ने तयारी गरेका छन् ।  यद्यपि नेपाली काँग्रेसका केन्द्रीय सदस्य दिपक गिरीले समेत सो क्षेत्रमा आफ्नो दाबी छाडेका छैनन् । गठबन्धन भएमा तीन नम्बर क्षेत्र गिरीले नछोड्ने अडानमा छन् । तर उत्तिकै जोडतोडका साथ गठबन्धनबाट एकीकृत समाजवादीका केसी पनि टिकट लिन लागि परेका छन् । 

एमालेबाट भने वलीले चुनाव लड्ने तयारी गरेकी छिन् । ‘मैले २०७४ सालको चुनावमा यो क्षेत्रबाट चुनाव लड्ने तयारी गरेकी थिए । पार्टीले मलाई टिकट दिएपछि हिरा कमरेड लड्नुभयो’ वलीले भनिन्, ‘यो चुनावमा एमालेबाट मैले चुनाव लड्ने तयारी गरेको छु । त्यसैअनुसार जनताको सेवामा खटिएकी छु ।’

तीन नम्बर क्षेत्रबाट चुनाव लड्ने भएपछि वलीले पछिल्लो समय दाङमै बसेर राजनीतिक गतिविधि अघि बढाउँदै लगेकी छन् । एमालेबाट वलीसहित तुलसीपुर उपमहानगरका निवर्तमान मेयर घनश्याम पाण्डेले पनि दाबी गरेका छन् । पाण्डे मेयर हुँदा घोराही तुलसीपुर सडक खण्डको ठेक्का आफ्नो छोरालाई दिएका थिए । सो सडक समयमै सम्पन्न नहुँदा उनी बदनाम छन् । त्यसैले वलीले एमालेबाट टिकट पाउने सम्भावना बढी छ ।

यस क्षेत्रमा बबई, शान्तिनगर र दंगीशरण गाउँपालिका पर्छन् । तुलसीपुर उपमहानगरपालिकामा १ देखि १५ वडा पर्छन् भने अरु वडा क्षेत्र नम्बर २ मा पर्छन् । गत वैशाख ३० गतेको स्थानीय चुनावमा तीन गाउँपालिका अध्यक्ष उपाध्यक्ष दुबै काँग्रेसले जितेको छ । तुलसीपुरका  मेयर र उपमेयर मात्रै एमालेले जितेको छ । पालिकामा एमाले निक्कै कमजोर भएपनि वडा अध्यक्षको मतका आधारमा एमाले पहिलो,  काँग्रेस दोस्रो र माओवादी तेस्रो देखिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप