शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

स्वदेशी उत्पादनलाई ‘कलेक्टिभ ट्रेडमार्ग’ आवश्यक छ : राणा

आइतबार, २९ साउन २०७९, १५ : ५३
आइतबार, २९ साउन २०७९

नेपाल निकासी तथा प्रवद्र्धन केन्द्रका प्रमुख डा. सरदबिक्रम राणाले स्वदेशी छाला जुत्ताको प्रवद्र्धनका लागि कलेक्टिभ ट्रेडमार्गमा जान उद्योगी व्यवसायीहरुलाई आग्रह गरेका छन् । आइतबार राजधानीमा आयोजित नेपाल छाला जुत्ता उत्पादक संघको १२औं साधारणसभालाई सम्बोधन गर्दै राणाले धेरै स्वदेशी उत्पादनले उचित ब्रान्डिङ्गको अवसर नपाइरहेको बताउँदै अब १०–१२ कम्पनीहरुको एउटै, साझा ट्रेडमार्गको आवश्यक रहेको औंल्याए । 

प्रवद्र्धन केन्द्रका प्रमुख राणाले भने, ‘उच्च टेक्नोलोजिमा उत्पादित विदेशी ब्राण्डका छाला जुत्ताहरूसँग हाम्रा स्वदेशी उत्पादनले प्रतिस्पर्धा गर्न नसकेकै हो । तर ठूलो परिणाममा नेपाली उत्पादनलाई चिनाउने हो भने अब कम्पनीहरु कलेक्टिभ ट्रेडमार्गमा जानुपर्छ । यसले उत्पादन मात्र होइन क्वालिटीमा समेत निखारता ल्याउँछ’ राणाले भने, ‘अब कम्तिमा १० वटा कम्पनी साझा ब्राण्डिङ्गमा जानुपर्छ ।’

सोही अवसरमा राणाले भने, ‘कलेक्टिभ ट्रेडमार्गमा मात्र होइन उत्पादित छाला जुत्ताको विदेश निर्यात गर्न समेत अब कम्पनीहरु साझा निर्यात गृहको विकासमा जानुपर्छ । अनि मात्र स्वदेशी उद्योगहरूले आफूलाई चाहिने कच्चा पदार्थको आयात र तयारी वस्तुको सहज निर्यात गर्न सक्छन् ।’ अहिले स्वदेशी उद्योगहरु तितरवितर हुँदा आवश्यक कच्चा पदार्थ आयातका लागि एक्जिम कोर्ण र एलसी सुविधा समेत पाउन नसकिरहेको उनको भनाइ छ । यस्तै स्वदेशी छाला जुत्ता उद्योगीहरुले बजारसँगै आफ्नो क्वालिटी (गुणस्तर) मा समेत विशेष ध्यान दिनुपर्ने उनले बताए । 

यता साना घरेलु तथा लघु उद्योग महासंघका अध्यक्ष उमेशप्रसाद सिंहले नेपाली छाला जुत्ताको ठूलो संभावना हुँदाहुँदै पनि उचित वातावरण नहुँदा फस्टाउन नसकेको बताए । साना, लघु, घरेलु उद्योग अन्तर्गतकै छाला जुत्ता उद्योगहरूले राज्यको संरक्षण नपाउँदा धरासाही हुनपुगेको समेत उनले बताए । ‘सरकारले पहिलो प्राथमिकता स्वदेशी उत्पादनलाई दिनुपर्ने हो, तर त्यसो हुनसकिरहेको छैन । अहिले नेपालमा नै एक सय एक छाला जुत्ताको उत्पादन हुन्छ । सबैले स्वदेशी छाला जुत्ताको नै प्रयोग गर्ने हो भने पैसा बाहिर जाँदैन र स्वदेशी उद्योगहरु पनि बाँच्छन्’ अध्यक्ष सिंहले भने, ‘नेपाली सेना, सशस्त्र र जनपथ प्रहरीलाई मात्र पनि नेपाली उत्पादनको प्रयोग अनिवार्य गर्ने हो, ठूलो राहत मिल्छ ।’ 

यस्तै, अहिले स्वदेशी उद्योगहरुमा दक्ष कामदारहरुको चुनौती भएको भन्दै अध्यक्ष सिंहले महासंघले पहिलो प्राथमिकता तालिम तथा दक्षता अभिवृद्धिमा ध्यान दिएको बताए । ‘अहिले पनि साना लघु तथा घरले उद्योगहरूले २८ लाखलाई रोजगारी प्रदान गरिरहेको छ । तर, विडम्बना कुल रोजगारीको ५० प्रतिशतभन्दा बढी विदेशी कामदारहरु हाम्रोमा काम गरिरहेका छन् । यसलाई विस्थापन गर्न पनि हामीले दक्ष श्रमशक्ति उत्पादनमा ध्यान दिनु आवश्यक छ । अहिले महासंघ यसतर्फ लागिरहेको छ’ उनले भने । महासंघका महासचिव देवकुमार विशंखेले कार्यक्रमलाई सम्बोधन गर्दै स्वदेशी उत्पादन, स्वदेशी छाला जुत्ता उत्पादनलाई बचाइ राख्न सबैको हातेमालो आवश्यक रहेको बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप