चुनावी प्रतिबद्धताबाट पछि हटे मेयर, सरकारी गाडी चढ्ने घोषणा
स्थानीय निर्वाचनको समयमा सरकारी गाडी प्रयोग नगर्ने प्रतिबद्धता जनाएका विराटनगरका प्रमुख (मेयर) नागेश कोइरालाले अप्ठ्यारो भएको भन्दै फेरि सरकारी गाडी प्रयोग गर्ने बताएका छन् । कोइरालाले सामाजिक सञ्जाल फेसबुकमा जारी गरेको सार्वजनिक सूचना अनुसार करिब तीन महिना निजी गाडी प्रयोग गरेको र निजी गाडीमा महानगरबाट प्राप्त हुने तेल प्रयोग गर्दा बेरुजु देखिएको उल्लेख छ ।
यसअघि प्रमुखले चढेको गाडी लामो समय नचलाउँदा प्राविधिक समस्या आउने र पछि त्यसको मर्मत गर्दा महानगरकै ठूलो रकम खर्च हुने भएकोले पनि महानगरकै गाडी प्रयोग गर्न लागेको उनले बताएका छन् ।
‘गत वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनका क्रममा मैले सरकारी गाडी प्रयोग नगर्ने निर्णय गरेको थिएँ,’ कोइरालाले भनेका छन्, ‘निर्वाचित भएर आइसकेपछिको करिब तीन महिना मैले आफ्नै निजी गाडी प्रयोग गरेको यहाँहरुलाई अवगत गराउन चाहन्छु । मेरो निजी गाडीमा महानगरबाट प्राप्त हुने तेल प्रयोग गर्दा पछि गएर बेरुजू देखाउने रहेछ । यसका साथै लामो समयसम्म गाडी नचलाउँदा प्राविधिक समस्या आउने र पछि त्यसको मर्मत गर्दा महानगरकै ठूलो रकम खर्च हुने भएकाले महानगरकै गाडी प्रयोग गर्ने निर्णयमा पुगेको छु ।’
उनले जारी गरेको सूचनामा आफूलाई महानगरका जनप्रतिनिधि, कर्मचारी, प्राविधिक र शुभेच्छुकबाट समेत महानगरकै गाडी प्रयोग गर्न सुझाव दिएको पनि उल्लेख गरेका छन् । ‘महानगरका जनप्रतिनिधिहरु, कर्मचारी, प्राविधिक र शुभेच्छुकबाट समेत महानगरकै गाडी प्रयोग गर्न बारम्बार सुझाव आएकाले उहाँहरुको सुझाव नकार्न सक्ने अवस्था नभएको समेत जानकारी गराउँदछु,’ उनले भनेका छन् ।
यस्तै उनले यो विषय समान्य भएपनि पारदर्शी हुनुपर्छ भन्ने लागेकोले सूचना जारी गरेर जानकारी गराएको बताएका छन् । ‘यो विषय सामान्य भएपनि हरेक कुरा पारदर्शी हुनुपर्छ भन्ने विचारबाट म सँधै अभिप्रेरित भएकोले महानगरबासीलाई यस विषय जानकारी गराउन उपर्युक्त ठानेर अबदेखि मेरो निजी कामबाहेक महानगरकै गाडी प्रयोग गर्ने यहाँहरु सबैलाई अवगत गराउन चाहन्छु,’ सूचनामा उल्लेख छ ।
कोइरालाका प्रेस सल्लाहकार मिनकुमार श्रेष्ठले पनि प्रमुख कोइरालाले जारी गरेको सूचना अनुसार नै गाडी प्रयोग हुने बताए । ‘निजी गाडी प्रयोग गर्दा विभिन्न समस्या आयो,’ उनले भने, ‘विशेष गरी तेल प्रयोग गर्दा बेरुजु देखिने भयो, अनि प्रयोग नगरी राख्दा महानगरको गाडी पनि बिग्रने देखियो, त्यही भएर मेयरसाब यो निर्णयमा पुग्नु भएको हो ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
शुक्लाफाँटाको दुर्गम क्षेत्रमा प्रहरी चौकी स्थापना गर्न माग
-
‘कहिलेकाहीँ खरिद प्रक्रियाका कारणले औषधीको अभाव हुन सक्छ’
-
सरकारी फार्मेसीमा सबै औषधि किन पाइँदैन ?
-
सुनको मूल्य तोलामा १७०० रुपैयाँ घट्यो
-
रास्वपालक्षित शंकर पोखरेलको टिप्पणी : अति सर्वत्र वर्जयेत्
-
प्रशिक्षकलाई रातो कार्ड, गोलरक्षकको अनुहारमा विपक्षीको बुट र पीएसजीको जित !