बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

नदी कटान रोक्न स्थानीय  जैविक तटबन्धमा जुटे

आइतबार, २९ साउन २०७९, ०८ : ३५
आइतबार, २९ साउन २०७९

कैलालीको टीकापुर–८ का स्थानीय नदी बस्तीमा पस्ने खतरा बढेपछि जैविक तटबन्धमा जुटेका छन् । टीकापुर ८ वनगाउँस्थित सत्ती कर्णाली सामुदायिक वनको सिमानामा कर्णाली नदी किनारमा दैनिक दुई सय ५० स्थानीय तटबन्ध कार्यमा जुटेका छन् ।

स्थानीय नागरिक चार दिनदेखि स्थानीयस्तरमा पाइने झालापाता, बाँस र कट्टामा माटो भरेर नदी नियन्त्रणको प्रयासमा जुटेका हुन् । वन गाउँमा सो नदीमा २५ मिटर जति तटबन्ध गर्नुपर्ने देखिन्छ । स्थानीयले बढी जोखिम रहेको करिब १० मिटर क्षेत्रमा जैविक तटबन्ध गर्न थालेको बताएका छन् ।

स्थानीय बडघर रामप्रसाद चौधरी कर्णाली नदी फुटेमा वडा नं ८ पूरै डुबानमा पर्ने बताउछन् । बडघर वनगाउँ, फाटा, अनुर्वा, बटनपुर, कमलगाउँ, कर्मीडाँडा, रामडाँडा, सत्तीपुल र वडा नं ९ को पायलगाउँसमेत सखाप हुने भएकाले स्थानीय श्रमदानमा खटेका जानकारी दिए । “गत वर्ष कात्तिकमा आएको बाढी यही ठाउँबाट बस्तीमा पसेको थियो, गत वर्ष वडा नं ८ पूरै डुबान भएको थियो । नदी फुटेको ठाउँ सिँचाइ आयोजना र टीकापुर नगरपालिकाले मर्मत गरेको थियो”, उनले भने, “यस वर्ष पनि खतरा बढेको छ । त्यसैले हामीले सिँचाइ आयोजना र नगरपालिकाले बनाएको संरचना नबगोस् भनी तटबन्धमा जुटेका हौँ, नदीले कटान बढाउँदै लगेमा वडा पूरै सखाप हुनेछ ।”

तटबन्धका लागि वडा कार्यालयको पहलमा रानी–जमरा–कुलरिया सिँचाइ आयोजनाले आठ सय कट्टा र तार जाली उपलब्ध गराएको छ । तटबन्धमा ६५ प्रतिशत महिला र अन्य पुरुष सहभागी छन् । नदीमा तीन मिटर बढी पानी भए पनि स्थानीय विकल्प नै भएको भन्दै आफैँ नियन्त्रणको प्रयासमा जुटेका बडघर चौधरीको भनाइ छ । ‘‘तटबन्ध गरिरहेको ठाउँमा पानी चार मिटरसम्म छ तर तटबन्ध गर्नुपर्ने बाध्यता छ”, उनी भन्छन्, “नदीमा पानीको वहाव बढे त रोक्न सक्ने अवस्था छैन । अहिले भइरहेको कटान रोक्न हामी सकेको गरिरहेका छौँ ।”

गत वर्ष कात्तिक २ गते आएको बेमौसमी वर्षापछि सोही ठाउँमा नदी फुट्दा वडा नं ८ पूरै डुबानमा परेको थियो । नदीको धार परिवर्तन भएर नदी बस्ती पस्दा बाढीपछि रानी–जमरा–कुलरिया सिँचाइ आयोजना र टीकापुर नगरपालिकाले मर्मत गरे पनि यस वर्ष पुनः भत्कँदै छ । यसलाई रोक्न स्थानीय श्रमदानमा जुटेका वडा नं ८ का वडाध्यक्ष दीर्घबहादुर ठकुल्ला बताउछन् । “म आफैँ पनि तटबन्ध कार्यमा खटिरहेको छु । लामो समयदेखि सिँचाइ आयोजना, प्रदेश र सङ्घीय सरकार गुहारिरहेका छौँ”, उनले भने, “सिँचाइ आयोजनाले विभिन्न ठाउँमा तटबन्धको कार्य गरिरहेको छ । तर नदीले विभिन्न ठाउँमा भत्काउँदै लगेको छ । नदी बृहत्रूपमा तटबन्ध गरेमात्र बस्ती जोगाउन सकिन्छ ।”

वडाध्यक्ष ठकुल्ला यहाँका नागरिकलाई हरेक वर्ष वर्षात्मा बाढीको त्रासमा बस्नुपर्ने बाध्यता रहेको बताउछन् । टीकापुरको तल्लो तटीय क्षेत्रका नागरिकले हरेक वर्ष वर्षात्मा नदी कटान, डुबानको समस्या झेल्दै आएका छन् । नागरिकलाई नदीकै कारण तनाव झेल्नुपर्ने समस्याबाट राहत दिने बारेमा सरकारले काम गर्नुपर्ने स्थानीय कुलबहादुर चौधरीको माग छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप