शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

ओली–लिङ्देन सम्बन्ध सुधारको प्रयास, चुनावी तालमेल होला ?

शनिबार, २८ साउन २०७९, २१ : २९
शनिबार, २८ साउन २०७९

दुबै नेताको गृह जिल्ला झापा । विगतमा दुई पार्टी बीचको चुनावी तालमेलकै बलमा एकअर्का विजयी भएको । तर, राप्रपाको महाधिवेशनपछि खासै राम्रो सम्बन्ध नभएका एमाले अध्यक्ष केपी शर्मा ओली र राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनबीच सम्बन्ध सुधारको पहल सुरु भएको छ । 

राप्रपाको एकतामा महाधिवेशनबाट कमल थापालाई हराउँदै राजेन्द्र लिङ्देन विजयी हुँदा एमाले अध्यक्ष ओलीले सकारात्मक टिप्पणी गरेनन् । ओलीले लिङ्देनलाई ‘बाच्छो’ को संज्ञा दिएपछि दुई नेताबीच सम्बन्ध राम्रो नभएको राजनीतिक वृत्तमा विश्लेषण हुँदै आएको थियो । काँग्रेसको १३ औं महाधिवेशनको उद्घाटन समारोहमा सार्वजनिक रुपमै ओलीले ‘भर्खरै दाएको बाच्छोले हिँड्न नजान्ने’ भन्दै टिप्पणी गरेका थिए । 

यतिसम्मकी दुई नेताको सम्बन्ध राम्रो नभएकै कारण गएको स्थानीय निर्वाचनमा राप्रपा–एमालेबीच औपचारिक गठबन्धन बन्न सकेन भने ओलीकै गृहनगरमा एमाले पराजित बन्यो । ओलीको गृहनगर दमकमा एमाले विरोधी गठबन्धनको बलमा राप्रपाका राम थापा विजयी भएका थिए । थापा विजयी हुँदा दमकमा एमालेको विरासत ढलेको थियो । उसो त स्थानीय निर्वाचनको सन्दर्भमा तालमेलका लागि एमाले र राप्रपाबीच अध्यक्ष तहमा छलफल र संवाद समेत हुन सकेन । नेपालगन्जमा महामन्त्री धवलशमशेर राणासँग ओलीले संवाद गरेपनि त्यसबाहेक नतिजामुखी संवाद हुन सकेन । 

तर, संघीय निर्वाचन नजिकिँदै जाँदा ओली र लिङ्देन बीच शुक्रबार भएको भेटवार्ताले दुई दलले एकअर्काको महसुश गरेको ठानिएको छ । त्यसमाथि झापामा दुबै नेतालाई तालमेलमा एकअर्काको साथ आवश्यक  भएकाले पनि बालकोटमा दुई नेताबीच भएको वार्तालाई अर्थपूर्ण रुपमा हेरिएको छ । 

राप्रपा प्रवक्ता मोहन श्रेष्ठले दुबै नेताको गृहजिल्ला झापा र पार्टीको नेतृत्वमा पनि रहेकाले समग्र राजनीतिक विषयमा छलफल भएको बताए । भेट निर्वाचन केन्द्रित भएको पनि उनको भनाइ छ । 
‘झापाको राजनीतिदेखि समग्र विषयमा र स्वाभाविक रुपमा निर्वाचन केन्द्रित छलफल हुने नै भयो’, उनले भने, ‘सहकार्यको सम्भावनाको खोजी र लामो समय समयदेखि आ–आफ्नै गतिविधि गर्दै आएको सन्दर्भमा निर्वाचन नै घोषणा भइसकेको अवस्थामा कसरी अगाढि बढ्न सकिन्छ भन्ने विषयमा छलफल सुरु भएको छ ।’

 चुनावका लागि राप्रपाले सबैसँग संवाद अघि बढाउन चाहेको र त्यसकै सिलसिलामा ओलीसँग भेट भएको उनको भनाइ छ । अब चुनावमा एमालेसँग तालमेल गर्न खोज्नुभएको हो भन्ने प्रश्नमा श्रेष्ठले राप्रपाले सबै विकल्प खुला राख्ने बताए । ‘राप्रपाले सबै विकल्प खुला राख्छ । पर्सी ३० गते कार्यसम्पादन समितिको बैठक छ । सो बैठकमा पनि कसरी हुन हुने भन्नेबारे कुरा हुन्छ । यसअघि बुधबार राप्रपा महामन्त्री कुन्ती शाही र नेतृ रेखा थापाले पनि बालकोट पुगेर ओलीलाई भेटेका थिए । सो भेट भने पार्टीको जानकारीमा नरहेको प्रवक्ता श्रेष्ठको भनाइ छ  । 

०७४ को चुनावमा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन ४४ हजार ६१४ मतका साथ झापा क्षेत्र नम्बर ३ बाट विजयी बनेका थिए । उनले एमालेकै सहयोगका काँग्रेस पूर्वमहामन्त्री कृष्ण सिटौलालाई पराजित गरेका थिए । पराजित सिटौलाले ३१ हजार १७१ मत पाएका थिए । जहाँ एमालेको समानुपातिक मत १९ हजार ८२९ थियो भने राप्रपाले चाहिँ समानुपातिकतर्फ १६ हजार १६८ पाएको थियो ।  यसरी हेर्दा एमालेका करिब १९ हजार मतदाताले लिङ्देनलाई मतदान गरेका थिए ।  

यसैगरी झापा क्षेत्र नम्बर ५ बाट ओलीले  चुनाव जितेका थिए । त्यतिबेला ओलीले ५७ हजार १३९ मत पाएपनि त्यसमा राप्रपाको उल्लेख्य मत जोडिएको थियो । झापा ५ मा राप्रपाको समानुपातिकतर्फको मत ९ हजार ५९ थियो । यसरी हेर्दा राप्रपाका करिब ९ हजार कार्यकर्ताले केपी ओलीलाई मतदान गरेका थिए ।

त्यतिबेला तत्कालीन माओवादीसँग चुनावी तालमेल भएकाले ओलीले माओवादीको करिब ६ हजार भोट पनि पाएका थिए । अहिले सत्ता गठबन्धन एकातिर र एमाले एक्लै हुँदा ओलीमाथि चुनाैती थपिएको छ । एक्लै हुँदा त्यस्तै चुनावी लिंङ्देनमाथि पनि छ ।   यसरी हेर्दा झापामा लिङ्देन र ओलीलाई एकअर्काको साथ जरुरी संवादको सुरुवात गरेको बुझिएको छ ।  झापाको मतदाताको सन्तुलन नै विशिष्ट भएकाले एकआपसमा सम्झौता गर्नुपर्ने अवस्था रहेको स्थानीय नेताहरु बताउँछन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप