उपराष्ट्रपति पुनले भक्तपुरको लाय्कु भैलः नाच अवलोकन गर्ने

person explore access_timeसाउन २८, २०७९ chat_bubble_outline0

उपराष्ट्रपति नन्दकिशोर पुन पासाङले मध्यपुर थिमिको ऐतिहासिक लाय्कु भैलः नाच अवलोकन गर्ने भएका छन् । मध्यपुर थिमि नगरपालिकाको औपचारिक निमन्त्रणामा उनी नाच हेर्न आज राति भक्तपुर आउन लागेका छन् ।  मध्यपुर थिमिमा गाईजात्राको भोलिपल्टदेखि विविध साँस्कृतिक नाच हुने गरे पनि राष्ट्रियस्तरमा प्रचारप्रसार नभएकोले ओझेलमा छन् ।


यस्ता साँस्कृतिक महत्वका सम्पदाको प्रचार होस भनेर उपराष्ट्रपतिलाई निमन्त्रणा गरेको मध्यपुर थिमिका नगरप्रमुख सुरेन्द्र श्रेष्ठले बताए । यी नाचहरू अवलोकनका लागि पहिलो पटक विशिष्ट व्यक्तित्वको आगमन हुन लागेको नगरप्रमुख श्रेष्ठले बताए ।



आजदेखि चार दिनसम्म मध्यपुर थिमिमा लाय्कु भैलः, महाकाली नाच तथा निलबाराही गण नाचलगायतका ऐतिहासिक तथा साँस्कृतिक नाच सुरू हुँदैछ । लायकु भैलः, मध्यपुर थिमिको ऐतिहासिक लाय्कु (दरवार) बाट निस्कने भएकोले मल्लकालीन अवस्थामा यसको राजकीय सम्मान तथा सहभागिता रहको देखिन्छ । 



नेपाल संवत् ६३३ मा भक्तपुरमा अनिकाल पर्दा राजा सुवर्ण मल्लले भक्तपुरको नवदुर्गा नाच, बोडको निलबाराही नाचसँगै थिमिमा लाय्कु भैलः नाच सञ्चालन गरेको जनविश्वास छ । स्थानीय किंवदन्तीअनुसार थिमिमा भूतप्रेत, दैत्य तथा दानवहरूले दुःख दिन थालेपछि आराध्यदेवी बालकुमारीको पूजा आराधना गरी देवीको आज्ञा बमोजिम यो नाच शुरू गरेको हो । 

लाय्कु भैलः नाचमा ज्यापुंगः (बेताल)–१ जना, भैलः (भैरव)–२ जना र दागिं (कुमारी) २ जना गरी पाँच जनाको नाच हुने गर्छ । लाय्कुमा वृहत् भोजको आयोजना गरी बेलुका ८ः ३० बजेतिरबाट लाय्कु भैलः निकालिने छ । यही जात्रा अवलोकनका लागि उपराष्ट्रपति राति ९ बजे आउने कार्यक्रम छ । 

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।