साहित्य

समाजवादी साहित्य कस्तो हुने ?

person explore access_timeसाउन २८, २०७९ chat_bubble_outline0

समाजवाद आर्थिक तथा राजनीतिक कार्यक्रम त हुँदै हो, यो साहित्यिक कार्यक्रम पनि हो । साहित्यका सन्दर्भमा समाजवादको अवधारणाको थालनी मुख्यतः रुसी क्रान्तिपछि रुसबाटै जन्मिएको हो । समाजवादी साहित्यलाई समाजवादी यथार्थवाद भन्ने गरिन्छ । नेपालमा पनि समाजवादी यथार्थवादबारे चर्चा हुँदै आएको छ । गणतन्त्रको स्थापनापछि जारी नेपालको संविधानको प्रस्तावनामा ‘समाजवाद उन्मुख राज्य’को परिकल्पना गरिएको छ । 


हामीकहाँ सबैजसो पार्टीले आफूलाई सच्चा समाजवादी भन्ने गरेका छन् तर समाजवादबारेको बुझाइ र त्यसतर्फको बाटोका बारेमा अनेक मत रहेका छन् । समाजवादका बारेमा अपेक्षित रूपमा छलफल र बहस भएको पाइँदैन । यही पृष्ठभूमिमा अखिल नेपाल लेखक संघ, वागमती प्रदेशको आयोजनामा २०७९ असार ३१ र ३२ गते काभ्रे जिल्लाको नमोबुद्धमा छलफल भई वर्तमानको समाजवादी साहित्यसम्बन्धी घोषणापत्र प्रस्तुत गरियो । यहाँ सोही घोषणापत्रका मूलभूत विषयलाई यहाँ चर्चा गरिएको छ । 



साहित्यको विषयवस्तु



घोषणापत्रले समाजवादी यथार्थवादी लेखनको विषयवस्तु, वर्गसंघर्षको वर्तमान स्वरूप, लेखकीय पक्षधरता, प्रविधिको प्रभाव तथा रूपसौन्दर्यको पक्षमा चर्चा गरेको छ ।



समाजमा आएको परिवर्तनसँगै साहित्य लेखनमा समेट्नुपर्ने खास विषयवस्तुमा पनि परिवर्तन आएको छ । लेखकहरूले आफ्नो लेखनका माध्यमबाट सामन्तवादका अवशेषलाई समाप्त गर्दै पुँजीवादले निम्त्याएको संकटविरुद्ध ध्यान केन्द्रित गर्नुपर्ने भएको छ र समाजवादका यात्रामा हिँड्नुपर्नेछ । समाज, राजनीति, संस्कृति, अर्थराजनीति, दर्शन, ज्ञानविज्ञान आदि क्षेत्रका अन्तर्विरोध र समग्र उत्पीडनविरुद्धको आवाजलाई आजको साहित्यले समेट्न सक्नुपर्छ । पुँजीवादी दलन र यसका कुरूपताको उद्घाटन, वैदेशिक रोजगारी र त्यसका विकृत पक्ष, सामाजिक न्याय स्थापनाको खोजी, जनयुद्ध तथा जनआन्दोलनका सौन्दर्य मूल्य, प्राप्ति र बलिदानी गाथाहरूको संरक्षण आजको साहित्यको मूल विषयवस्तु हुनुपर्ने घोषणापत्रको सार छ । 

समाज र संस्कृतिका क्षेत्रमा रहेका विकृत तथा अनुपयोगी पक्षको त्याग र वैज्ञानिक पक्षको अवलम्बन, वर्गप्रेम, राष्ट्रप्रेम, भाषाप्रेम, पहिचानप्रेम, अस्तित्वप्रेम, स्वाधीनताप्रेम, विज्ञान प्रविधि आदिलाई आजको साहित्यले जोड दिनुपर्छ । यस्तै, प्राकृतिक विविधता, पर्यावरणीय सदुपयोग र संरक्षणप्रतिको सचेतना, क्रान्तिको अनिवार्यता र निरन्तरतालाई जीवन, समाज, स्थान र समयसापेक्ष बनाएर साहित्य प्रस्तुत गर्नुपर्नेछ ।

समाजवादी यथार्थवादी संस्कृति निर्माणमा लिनुपर्ने पहलकदमी, समाजवादी समाज, संस्कृति तथा अर्थव्यवस्थाको आदर्शीकृत चित्रण, संस्कृति र धर्मका नाममा लादिएका विभेदको विरोध, भूमण्डलीकृत साम्राज्यवाद, दलाल–नोकरशाही पुँजीवाद, उपभोक्तावाद तथा उत्तरवादको विरोध आदिलाई वर्तमान समाजवादी लेखनको विषयका रूपमा लिनुपर्ने घोषणापत्रमा उल्लेख छ ।

वर्ग संघर्षको स्वरूप

घोषणापत्रले नेपाली समाजमा वर्गसंघर्षको स्वरूपका बारेमा पनि चर्चा गरेको छ । अहिलेको वर्ग संघर्ष उत्पीडित र उत्पीडक वर्गका बीचमा मात्रै भनेर नपुग्ने अवस्थामा छ । यसको स्वरूप बहुआयामिक छ । सम्पन्न र विपन्नबीच, वर्गभित्रको लैंगिकता र लैंगिकताभित्रको वर्गबीच, पुँजीपति र श्रमिकबीच, दलाल पुँजीपति र राष्ट्रिय पुँजीपतिबीच, उत्पादक, उत्पादन सम्बन्ध, बिचौलिया र उपभोक्ताबीच अन्तर्विरोध रहेको घोषणापत्रको निष्कर्ष छ । यस्तै, जनसंस्कृति र आयातीत संस्कृतिबीच, श्रमजीवी वर्ग, उत्पादक, दलाल पुँजीपति र तिनलाई संरक्षण गर्ने राजनीतिक शक्तिबीच, बजारमुखी अर्थतन्त्र, अस्वस्थ बजारीकरण र दलाल पुँजीपतिको कब्जाबाट मुक्त गर्न चाहने उपभोक्ताबीच, राज्यका सेवासुविधामा एकाधिकार जमाउन चाहने शासक वर्ग र शासितबीच, निजी कम्पनी, कलकारखाना, उद्योगधन्दा, आमसञ्चार आदि क्षेत्रमा एकाधिकार जमाउने दलाल पुँजीपति वर्ग, त्यसलाई राजनीतिक संरक्षण प्रदान गर्ने राज्यसत्ता र आमजनताबीच पनि अन्तर्विरोध छ । यी अन्तर्विरोधप्रति लेखकीय पक्षधरता हुनु अनिवार्य रहेकोतर्फ घोषणापत्र सचेत छ । खासगरी वैचारिक पक्षधरता (द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवादी विचारको पक्षधरता), वर्गीय पक्षधरता (उत्पीडित तथा श्रमजीवी वर्गको पक्षधरता) र सांगठनिक पक्षधरता (वैचारिक तथा वर्गीय पक्षधरताका साथै साम्यवादतर्फको यात्रा) मा घोषणापत्रले जोड दिएको छ । तर, जोकोहीप्रति स्वस्थ आलोचना गर्न र आफ्नो विचार राख्न लेखक स्वतन्त्र रहनेछन् । 

प्रविधिको प्रभाव 

समय र मान्छेका चेतनाले दिएको सुन्दर पक्ष हो, प्रविधि । यसले मानव जीवनलाई सहजीकरण गरेको छ । लेखन तथा प्रकाशन संस्कृतिको विकास पनि भएको छ । तर यसको प्रयोग गर्ने चेतना र सीपका अभावमा नेपाली समाजमा विखण्डन, नकारात्मक चेतना, निराशा, भ्रम र द्वन्द्वको सिर्जना भएको छ । यसलाई राष्ट्रिय पुँजीको निर्माण, वर्गीय विचारधाराको सहयोगीका रूपमा सदुपयोग गर्न सकिने प्रशस्त सम्भावना छन् । वर्तमान लेखनमा प्रविधिको अनुकूल र प्रतिकूल प्रभाव परेको देखिन्छ । 

साहित्य सिर्जनाको विश्वव्यापीकरण हुनु, पाठकीय सहजताको विकास हुनु, लेखक र पाठकबीचको दूरी कम हुनु, सिर्जनामा लेखक र पाठकको पहुँच बढ्नु, युवा पुस्ता साहित्य सिर्जना र पठनप्रति छिटो आकर्षित हुनु प्रविधिको प्रयोगले पारेका सकारात्मक प्रभाव हुन् । प्रचारबाजी चिन्तन, विचारमा छिपछिपेपन, सिर्जनाको नक्कल र बौद्धिक चोरीमा वृद्धि हुनु, पारिवारिक र सामुदायिक विखण्डनको समस्या बढ्दै जानु आदि प्रतिकूल प्रभाव हुन् । 

साहित्यमा अन्तर्वस्तु र रूपको द्वन्द्वात्मक सन्तुलन हुन आवश्यक छ । यही सन्तुलनले विधा सौन्दर्यको निर्माण हुन जान्छ । विधा सौन्दर्यलाई अन्तर्वस्तु र रूप दुवै तहमा विकास गर्नका लागि कलासाहित्यको प्रभावकारिता वृद्धि गर्दै त्यसलाई विविध अलङ्करण प्रविधिले युक्त बनाउन आवश्यक रहेको घोषणापत्रमा उल्लेख छ । 

पहिचान 

नेपाल बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक देश हो । यसर्थ सबै प्रकारका विभेदको अन्त्य गर्दै, सबैको हकहितको रक्षा गर्दै र सबैको संस्कृतिको सम्मान र संरक्षण गर्दै देशलाई सामाजिक न्यायसहितको समृद्धि र विकासतर्फ लैजान आवश्यक छ । कुनै जाति, वर्ग, समुदाय, वंश आदिमा रहेको एकाधिकार, वर्चस्व र प्राथमिकताको अन्त्य गर्दै सबै जाति, समुदायको सामाजिक पहिचानको मुद्दा स्थापित गर्न बलियो राष्ट्रिय एकता आवश्यक छ । त्यसैले मौलिकतासहितको समाजवादी समाज निर्माण गर्नका लागि घोषणापत्रले जोड दिएको छ । 

लोकवार्ता 

लोकवार्तामा मानव जातिका इतिहास, संस्कृति, विचार, अनुभव, दुःखसुख, संघर्ष आदि अन्तर्निहित हुन्छन् । यो मानव जातिको महत्त्वपूर्ण सम्पत्ति हो । लोकवार्तालाई अग्रजले आफ्ना सन्ततिका साथै समग्र मानव जातिका लागि प्रदान गरेको उपहारका रूपमा ग्रहण गर्नुपर्दछ । 

यसका लागि लोकवार्तामा रहेका मानव जातिका इतिहास, संस्कृति, विचार, विश्वासको संरक्षण गर्नुपर्नेमा घोषणापत्रको जोड छ । सर्वप्रथम लोकवार्ताको गहन अध्ययन, अनुसन्धान, विश्लेषण आवश्यक छ । लोकवार्ताका आधारमा समाजमा अन्धविश्वास, कुरीति, कुसंस्कार आदि विद्यमान छन् भने त्यसको विरोध गर्नुपर्नेछ । त्यस्तै नेपाली लोकवार्तामा रहेका मौलिक एवं उपयोगी लोककला (गायन, वादन, नृत्य आदि), शिल्प, प्रविधि, इन्जिनियरिङ, वास्तु, खानपान, उपचारपद्धति आदिको पहिचान गरिनुपर्छ । लोकवार्ताका विम्ब, प्रतीक एवं मिथकलाई लिएर वा परिमार्जन गरेर नयाँ समाजवादी साहित्य सिर्जना गर्न सकिन्छ । 

बालसाहित्य 

बालबालिकाको सर्वांगीण विकासका लागि बालसाहित्यको महत्त्वपूर्ण भूमिका हुन्छ । अतः समाजवादी लेखनमा बालसाहित्यलाई यथोचित ध्यान दिनु आवश्यक छ । 

बालबालिकाका लागि शैक्षिक पाठ्यक्रम तथा पाठ्यपुस्तकमा नेपाली मौलिक पहिचान, संस्कृति, राष्ट्रियताको महत्त्वबोध गराउने विषय समावेश गर्नुपर्ने घोषणापत्रमा उल्लेख छ । समाजका विभेद बुझाउने र त्यसलाई हटाउने, न्यायपूर्ण समाज निर्माण गर्ने, उत्पादनमा जोड दिने सोच निर्माण गर्ने खालका बालसाहित्य हुनुपर्छ, यसका लागि अभियान चलाउन सकिन्छ । टोलैपिच्छे बालक्लब, वाचनालय, बालपुस्तकालय आदिको स्थापना गर्नुपर्ने हुन्छ । 

संगठन 

समय सन्दर्भअनुसार संगठनका संरचनामा पनि परिवर्तन हुन्छ । समाजवादी लेखकहरूको संगठन पनि समयअनुसार परिवर्तन गर्न आवश्यक छ । लेखक संघको सदस्य बन्नका लागि र त्यसको नवीकरणका लागि प्रकाशित सामग्रीको परिमाण तथा लेखाइको गुणवत्तासम्बन्धी निश्चित मापदण्ड तोक्ने घोषणापत्रमा उल्लेख छ । 

संगठन कस्तो हुने वा बनाउने भन्ने सन्दर्भमा केही बुँदासहित घोषणापत्र बोलेको छ । नेपालमा राजनीतिक पार्टीहरूले घोषणापत्रमा लेखेका कुरा कार्यान्वयन नगरेकामा आलोचना गर्नेमा सबैभन्दा अगाडि लेखक नै हुन्छन् । भन्न जति सजिलो छ, गर्न त्यति नै गाह्रो छ भन्ने कुरा लेखकहरूलाई थाहा छ । हेरौँ, हामी आफैँले गरेको घोषणालाई व्यवहारमा उतार्न सक्छौँ कि सक्दैनौँ । 

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।